भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द

भियतनाम । उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

उनी सोमबार भियतनामको सीमावर्ती शहर दोङदाङ पुग्दै छन् । उनको सुरक्षार्थ सर्वसाधारणका लागि यहाँका केही निश्चित क्षेत्रहरुमा रेल सेवा बन्द गरिएको छ ।

किम आउने रेलमार्ग तथा रेल स्टेसनमा विशेष सुरक्षा व्यवस्था गरिएको, ती क्षेत्रलाई सेनाले घेरा हालिरहेको छ । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि भियतनाम पुग्दै छन् ।

उत्तर कोरियाली नेता किम उत्तर कोरियादेखि नै रेलमार्गबाट भियतनाम पुग्दै छन् । दोङदाङबाट किमलाई सडक मार्गबाट करिब १७० किलोमिटर मोटरमा राखेर भियतनामको राजधानी हनोई ल्याइनेछ । हनोई यात्राका क्रममा उक्त सडकखण्ड पूरै बन्द गरिनेछ ।

किम शनिबार नै रेल चढेर भियतनामतर्फ लागेका हुन् । उनी चीनको राजधानी बेइजिङ हुँदै रेलमा भियतनाम पुग्नेछन् । भियतनामका अधिकारीहरुले जनाएअनुसार उनी मङ्गलबार बिहानसम्ममा भियतनामको दोङदाङ शहरमा पुग्नेछन् ।

उनले साढे दुई दिनको यात्रा र करिब ४ हजार किलोमिटर यात्रा गरेर भियतनाम पुग्न लागेका हुन् । उक्त दोङदाङ शहर चीनसँगको सीमा क्षेत्रमा पर्दछ । त्यसैले पछिल्ला केही दिनयता यस क्षेत्रमा कडा सुरक्षा व्यवस्था अपनाइएको अधिकारीहरुले बताएका छन् ।

उनी भियतनाम सरकारको विशेष सुरक्षासहितको सवारी साधनमा अपरान्ह २ बजे भियतनामको राजधानी हनोई पुग्ने कार्यक्रम रहेको छ ।

दोङदाङ शहरको रेलसेवा सर्वसाधारण नागरिकको लागि बन्द गरिएको दृश्य आफूले देखेको एएफपीका समाचारदाताले जनाएका छन् । उनले आफूले उक्त क्षेत्रमा रेल सेवा बन्द गरिएको र ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको देखेको बताएका छन् ।

साथै उनले तर त्यो रेलसेवा कहिलेसम्मका लागि बन्द हुने भन्ने बारेमा सरकारी अधिकारीहरुले केही नभनेका र सम्भवत मङ्गलबारसम्म बन्द हुन सक्ने पनि बताएका छन् ।

उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति ट्रम्पसँगको दोस्रो चरणको उच्चस्तरीय वार्ताका लागि हनोइ जान लागेका हुन् । उनीहरुबीच यो दोस्रो पटक भेटवार्ता हुन लागेको हो ।

हनोइमा यही फेब्रुअरी २७ र २८ मा भेटवार्ता हुनेछ । अमेरिकी राष्ट्रपति ट्रम्प पनि मङ्गलबार नै हनोई पुग्ने कार्यक्रम रहेको छ ।

उनीहरुबीचको पहिलो बैठक गत वर्षको जुन १२ मा सिंगापुरमा भएको थियो । सिंगापुरपछिको यो निकै चर्चित भेटवार्ता हो । –रासस/एएफपी