मेलम्ची आयोजना, वायुसेवा निगम, सडक विभाग, नेपाल टेलिकममा तुरुन्त एउटा कुलमान चाहियो ।

आज भन्दा २५ बर्ष अगाडि डाक्टर सन्दुक रुइतले एउटा आँखा अस्पतालको स्थापना गर्नुभयो, तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत सुरु भएको यस अस्पतालले हजारौँको जीवनमा उज्यालो छर्यो। आज तिलगंगा आँखा अस्पताल विश्व स्वास्थ्य संगठन डब्लुएचओको मान्यता पाउने नेपालकै पहिलो आँखा अस्पताल भएको छ ।

आँखा उपाचारमा उत्कृष्ठ सेवा प्रदान गरे बापत् तिलगंगालाई विश्व स्वास्थ्य संगठनले आफ्नो सहकार्य केन्द्रको रुपमा मान्यता दिएको हो । डाक्टर रुइतका कारण संसार देख्न पाउँदाको अनुभुति कसरी प्रस्फुटित भएको छ । ती बालक देखि बृद्ध बृद्धासम्मका धेरैलाई नयाँ जीवन प्रदान गर्नुहुने डा. रुइतप्रति सम्मान प्रकट गर्दै श्रद्धाले यो शिर निउराउन चाहन्छु ।

इमान्दारी पूर्वक आफ्नो काम गर्ने व्यक्तिहरुले सफलताका उत्कृष्ठ उदाहरणहरु प्रशस्त गरिरहेका छन् । एउटा असल मानिसले सिंगो समाजलाई कति सकारात्मक प्रभाव पार्न सक्छ भन्ने कुराको उत्कृष्ठ उदाहरण हुन् डा. सन्दुक रुइत । डा. रुइतसँग कुनै जादुको छडी थिएन र छैन ।छ त केवल इमान्दारी, क्षमता, लगाव र दृढता । त्यही गुण भएका एक कुसल प्रशासक कुलमान घिसिङ ले यो देशलाई अन्धकारको युगबाट उज्यालोको युगमा पु¥याइदिए ।

१८ घण्टासम्म लोडसेडिङ भोगेर बाँ*चेका हामी नेपालीका लागि कुलमान घिसिङ वरदान बनेर आए। आज यो देशले बढी भएको विजुली बेचेको समाचार पनि देख्न, सुन्न, पढ्न पाइयो । के कुलमान घिसिङ जादुगर हुन् ? होइनन् कुलमान घिसिङ केवल इमान्दार क्षमतावान, मेहनती प्र्रशासक हुन् । आज देशको ध्वजावाहक नेपाल वायुसेवा निगमलाई हेर्नुहोस् ।कमिशनको दलदल, नातागोता र कार्यकर्ता भर्तीको केन्द्र बनाएर टाट पल्टाइयो ।

कुलमान घिसिङ त एउटा छन् फोटोकपि गरेर चाहनेजति कपी निकाल्न सकिदैन तर, यत्तिका बर्षसम्म केही नगर्ने र उल्टो घाटामा पुयाउनेहरुलाई खोजीखोजी पाता फर्काउन सकिदैन ? राज्यलाई लुटेर आँफू धनी हुन चाहेको भए कुलमानले सक्दैनथे ? झोला मा खोला लिएर हिड्नेहरुले कुलमानलाई लाख करोडको अफर गरेरन् त ? उनले झोलेहरुको जुठो खाएको भए यो देश अझै अध्यारोसँग लडिरहेको हुन्थ्यो ।

राजनीतिक दलको चाकडी बजाएर पद हात पारेकाहरुले तपाई हाम्रो पेटमा लात हानेर महिनाको १ गते हुन नपाउँदै तलब बुझ्छन। आज वीर अस्पतालको हालत हेर्नुहोस। ठेक्का हत्याउने, कमिशन सुरक्षित पार्ने र त्यो सवै प्रपन्च रच्दा अख्तियार छल्ने, कथम कदाचित समातिए पनि न्यायलयमा सेटिङ मिलाउने !यो प्रकृया अधिकांश सरकारी अड्डाको हो । धेरै ठूलो कुरा के गर्नु, प्राय सबै सरकारी कार्यालयको सामान्य स्टेसनरी खरिदको बिषय हेरे हुन्छ ।

कार्यालयले किनेको स्टेसनरीको मूल्य र बजार मूल्य तुलना गरे थाहा भइहाल्छ।राज्यको दोहन गर्ने प्रतिस्पर्धा चलेको छ देशैभरीअख्तियारले भारेभुरे समाउँछ ।ठूलाको बयान लिए जस्तो गर्छ।भ्रष्टाचारले डुबेको मुलुकमा ठूला भ्रष्टाचारी एउटा पनि समातिदैन। बयान लिने, चोख्याउने, पठाउने । तिलगंगा सरकारी अस्पताल होइन, न त डा.रुइत सरकारी जागिरे ।

एकै छिन् कल्पना गरौं–यदि तिलगंगा सरकारी अस्पताल हुन्थ्यो भने र त्यहाको नेतृत्व डा.रुइतको साटो अरु कसैको हुन्थ्यो भने के हुन्थ्यो ?सायद तिलगंगा माथि ब्रम्हलुट हुन्थ्यो । आज कान्ती बाल अस्पताल कुन हालतमा छ ? वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका भाइस चान्सलर घुस लिदा लिदै समातिए । यो मुलुकमा इमान्दार मानिस नभएका होइनन् तर, पार्टीका कार्यकर्ता भर्तीबाट फुर्सद छ कुनै मन्त्री प्रधानमन्त्रीलाई ?

राजनीतिक आस्थाको आधारमा कसैलाई जागिर दिनुछ भने आफ्नो घरमा भाडा माझ्न, सफा गर्न, गार्डेनमा फूलमा पानी हाल्न, गाडी धुन वा चलाउन जागिर दिन सकिन्छ तर अस्पताल, युनिभर्सिटी, वायुसेवा, दुरसंचार, आदि सबै संघ संस्थामा त योग्य इमान्दार शिक्षित, प्रतिष्ठित ब्यक्ति पो चाहिन्छ त ।अथवा टिका लाएरै नियुक्ति लिएकाहरुले अर्को कुलमान बन्ने प्रयास गरे हुँदैन र !

यो देशले एउटा कुलमानलाई कहाँकहाँ मात्र पठाओस् । वायुसेवा निगममा तुरुन्त एउटा चाहियो, मेलम्ची आयोजनामा एजेन्ट एउटा कुलमान चाहियो । नेपाल टेलिकममा एउटा नभई भएको छैन । त्रिभुवन विश्व विद्यालयमा त प्रमाणपत्रनै किनबेच हुन्छ ।तु एउटा कुलमान चाहियो, यातायात व्यवस्था विभागमा एउटा, भन्सारमा एउटा, सडक विभागमा एउटा, पुनर्निर्माण प्राधिकरणमा एउटा, काठमाडौं महानगरपालिकामा एउटा,

स्वास्थ्य सेवा विभागमा, भुमी व्यवस्था विभागमा, कृषी विभागमा, कम्पनी रजिष्टारको कार्यालयमा, जग्गा खाएरै सक्नु अघि नेपाल ट्रष्टमा, खेलुकद परि षदमा, शिक्षा विभागमा, परराष्ट्रमा उद्योग, वाणिज्य, आपुर्तीमा, सहरी विकासमा, पिउने पानीलाई खाने पानी भनेर खानेबानी परेको विभागमा, वन विभागमा, श्रम विभागमा, बाँकी तपाई आँफै थप्दै जानुहोला ।हामी वेष्ट मान्छे वेष्ट पदमा पुयाउन सक्दैनौ होला तर, नियुक्ति पाएकाहरुलाई वेष्ट बनाउन त अझै सक्छौँ नि ।