ईन्छन एअरपोर्टमा नाङ्गिदाको आनन्द !

दक्षिण कोरियाको चमत्कारिक विकास देखेर अचम्मै लाग्छ ! जतिपटक त्यहाँ पुगिन्छ, सबै कुरा नौलो र आश्चर्य लाग्ने खालका देखिन्छन् । विज्ञान र विकासलाई सँगसँगै हिडाउन सकेका कोरियनहरुको लगन देखेर नतमस्तक नै हुन्छु ।

त्यहाँको विकास देखेर डाहा पनि लाग्छ । अलिकति विकास र प्रविधिलाई लुसुक्क बगलीमा कोचेर हाम्रा देशका राजनेतालाई दिउँ कि जस्तो पनि नलागेको होइन । तर, खै मैले त्यो आँट गर्न सकिन कि ? यद्यपि काठमाडौंको सडकमा मेट्रोमा बसेर सयर गर्ने सपनालाई भुल्न भने सकेको छैन ।

कोरियाका ठाउँका नाम सम्झनका लागि सँधै अलमल भइरहन्छ । चुञ्जु, छोञ्जो, गोञ्दु सबै त्यस्तैत्यस्तै, नाम भएकाले उच्चारण गर्न नसकेर कहिलेकाँही त यात्रा नै असहज हुन्छ । यसपालि चुञ्जुबाट मध्य कोरियाको छोञ्जु घुमेर अन्तराष्ट्रिय विमानस्थल इञ्चन आउने भनेर होटलबाट निस्किएँ ।

बाटोमा पर्ने राष्ट्रसंघका महासचिव बान्कीमुनको जन्मघर विचरण गर्नतिर भुलियो । हुन पनि बान की मुनको जन्मघरमा धेरै नै भुलिएछ, झण्डै ७० वर्ष अगाडिको सरचनाहरु यति धेरै जतन गरेर राखिएको रहेछ कि दुरुस्त । भर्खर मात्र बनाएका जस्ता देखिने गरी जतनसाथ सबै चिज बस्तुहरु सुरक्षित राखिएका छन् । वास्तवमा यो स्थानलाई कोरियनहरुले एउटा रमणिय तीर्थस्थल नै बनाएका रहेछन् । मैले बान की मुनको मानव निर्मित शालिकलाई अँगालो मारेर पेटभरि फोटो खिचेँ ।

छोञ्जुबाट इञ्चन जानका लागि द्रुत बसमा पनि झण्डै अढाइ घण्टा लाग्ने । मसँगै एकजना जान पहिचानकी इण्डोनोसियन साथी पनि थिइन् सहयात्री । उनलाई बोलिरहन पर्ने । तर, अंग्रेजी बोल्न मठिमल्लै थिइन् । भाषा नबुझेर उनले के भन्न खोजेकी हुन् बुझ्न गाह्रो पर्थ्यो । कहिलेकाँही केही कुरा बुझेजस्तो गर्दिन्थें भने कति कुरा मठिमल्लै हुन्थें ।छोञ्जु घुम्ने समयलाई अघि नै मुनको सालिकसँग बसेर फोटो खिच्दा नै विदा दिइसकिएकाले, अब मोटरबाटै हेर्नुको विकल्प रहेन । छोञ्जुको विकासलाई सरर मोटरबाटै हेर्यौं अनि विहानको खाना खाएर इञ्चन जाने तरखर गर्न थाल्यौं ।

भोलिपल्ट बिहान सबेरैको उडान भएकाले चुञ्जुबाट इञ्चन आइपुग्न दौडादौड गर्नुपर्ने भयो । रातिको विश्रामलाई चिन्ता गर्दै मेरी कोरियन साथी मिस बोङले मलाई खुसुक्क २० डलर बगलीमा राखिदिँदै इञ्चन एयरपोर्टभित्र बेसमेन्टमा भएको सौनामा बस्नका लागि अर्थ्याएकी थिइन् । उनले भनेकी थिइन्- धेरै कोरियनहरु त्यहाँ विश्राम गर्न खुशी हुन्छन्, मलाई विश्वास छ तिमी पनि खुशी हुनेछौ ।

इञ्चन ल्याएर जब बसले ओरालिदियो, ती मेरी इण्डोनेसियन साथी पनि सौना सौना पो भन्न थालिन् । मनमनै यिनी पनि म जस्तै त्यहीँ गएर विश्राम गर्ने सोचाइमा रहेछिन् भन्ने सोच्दै साथसाथै बेसमेन्टतर्फ जानका लागि लिफ्टतिर तेर्सियौं । बेसमेण्टको तेस्रो तल्लामा पुग्यौं, त्यहाँ जताततै चहलपहल । मान्छे नै मान्छे । धेरैजसो जोडाजोडी लठारिएका । गन्तब्य खोज्नका लागि अलमल भयो । एकछिनको ओहरी-दोहरी पश्चात पत्ता लगाएँ ।

भित्र पस्दापस्दै मैले सोधें आराम गर्न सकिन्छ ? दुईजना चिटिक्क परेका केटाकेटी काउण्टरमा बसेका थिए, उनीहरुले भने सकिन्छ ! तर २० हजार वन अर्थात २० डलर तिर्न पर्छ । मलाई के फिक्री थियो र । साथीले बगलीमा हालिदिएको २० डलर निकालेर फटाफट तिरें । उनीहरुले मेरो लगेजमा नम्वर टाँसिदिए र एउटा कुनातिर थन्क्याइदिए । लकरको साँचो हातमा दिएर, सानो हाते ब्याग मात्र लिएर भित्र जानका लागि निर्देशन दिए ।

पुनः उठें र लकर भएतिर नै गएँ । बाफ रे ! यसपटक त एकजना होइन, तीन-तीन जना निर्बस्त्र मानिसहरु अघिजस्तै ऐना हेरेर सिंगारिइरहेका पो देखिए, अब कहाँ भाग्नु ?
भित्र यसो जीउ तन्काउन के खोजेको थिएँ, मेरो अगाडि एकजना युवती सुतेकी रहिछन् ! झसङ्ग भएँ हत्तपत्त खुट्टा खुम्चाइहालें । बाहिर काउण्टरमा महिला उता, पुरुष यता, भनेर भिन्नभिन्न दिशा देखाइएको थियो, सोही मुताविक मेरो इण्डोनेसियन साथी उता र म यता भएका थियौं । म निश्चिन्त थिएँ, यो पुरुषको लागि मात्र आराम गर्ने ठाउँ हो भनेर । तर, मेरो निश्चिन्तता विपरीतको दृश्यले तर्सिएँ ।

यसो दायाँ-बायाँ नियाली हेरेको, मझेरीभरि असरल्लै पुरुष भन्दा महिलाको उपस्थिति थियो । म सतर्क भएँ, अञ्जानबस कतै कोहीसँग स्पर्श भइहालेमा पनि कहिलेकाहीँ नसोचेको उल्झनमा परिने रहेछ भन्ने कुरा गत वर्ष मेरा एकजना सुडानी साथी हसन यौनकाण्डमा पुलिस इन्क्वारीमा नै परेका छन् ।

एकले सामान्य सोचेको कुरा अर्कोले असामान्य सोच्न पनि सक्थ्यो । यस्ता कुराहरुमा आफु जन्मे हुर्केको संस्कृतिले सोचाइमा फरक पार्ने रहेछ ।

अघिको कपडाले शरीर ढाक्न पर्‍यो भनेर खोलिहेरेको, त्यो त टिसर्ट र हाफ पाइन्ट पो रहेछ, । यताउता नियालें सबै टिसर्ट र हाफपाइन्ट लगाएर पल्टिरहेका छन् । एक्लै मज्जाले हाँसे र आफैँसँग लजाएँ । मेरो पल्टाई म आफैँलाई असहज लाग्न थाल्यो, उठें ! हाते झोला भिरेर पुन: काउन्टरमा नै पुगें । मैले ती युवायुवतीलाई मेरो समस्या बताएँ, ती दुवै हल्का मुस्कुराए । सायद मेरो नादानीलाई त्यो मन्द मुस्कानले ब्यङ्ग गरेको थिए क्यारे ।

मेरो पाखुरामा समातेर ती युवकले अर्को लकर भएको ठाउँ देखाइदिए । अब भने अलि सन्तोषको सास फेर्दै स्पा अन एयर लेखेको सफा हाफ पाइन्ट र टिसर्ट लगाएँ । लकर बन्द गर्न के लागेको थिएँ, बायाँतर्फ रहेको ठूलो ऐनाको अगाडि एकजना निर्वस्त्र पुरुष उभिएर कपाल कोरिरहेको दृश्य देखेँ । हत्तपत्त आँखा त्यहाँबाट हटाएँ । मनमनै भनें कस्तो बेशर्म मानिस रहेछ यो ।

हतार-हतार त्यहाँबाट सुत्ने ठाउँतिर लागि हालें । अघि नै ओच्छ्याएको म्याट्रेसमा गएर पल्टिएँ । त्यत्रो कोकाहलमा के निदाउन सक्नु ? मोबाइल खेलाउन थालें । अरुको पनि मेरो जस्तै हालत थियो । सबैजसो पल्टिएर मोबाइल नै खेलाइरहेका थिए । खै किन हो, पुनः उठें र लकर भएतिर नै गएँ । बाफ रे ! यसपटक त एकजना होइन, तीन-तीन जना निर्बस्त्र मानिसहरु अघिजस्तै ऐना हेरेर सिंगारिइरहेका पो देखिए, अब कहाँ भाग्नु ?

मन दह्रो बनाएँ । यो निर्बस्त्रको राज के होला ? दाँया-बाँया नियालेर भित्र यसो चिहाएको, त्यहाँ त अन्य धेरै नग्न मानिसहरु र एउटा पोखरी पनि देखें । अब भने मेरो दिमागको घैंटोमा घाम लाग्यो । बिहान कोरियन साथीले सोना सोना भनेको यसैलाई रहेछ । उनको तोते अंग्रेजी उच्चारणलाई मैले नै ग्रहण गर्न नसकेको रहेछु । मेरो कानले सौना भन्ने शब्द सुन्न पाएको भए बुझ्थ्यो । तर, अलिकति मात्र गडबडिएको उच्चारणले मेरो मोटो कानलाई किन छेड्न सक्थ्यो र । भएछ त्यही ।

झट्ट कुरा बुझन नसकेकोमा आफैँलाई अलिअलि ग्लानी पनि लाग्यो । अब भने म पनि उनीहरु जस्तै निर्वस्त्रै भएर भित्र गएँ र ४७ डिग्री तापक्रम भएको पोखरीको पानीभित्र हत्तपत्त पसेर लाजलाई लुकाइहालें ।

ग्राहकलाई सन्तुष्टि दिनसकेमा जहाँ र जुनसुकै स्थानबाट पनि रोजगार सिर्जना र आयआर्जन गर्न सकिने एउटा राम्रो उदाहरण बन्न सकेको छ कोरियाको इञ्चन अन्तराष्ट्रिय विमानस्थलको अण्डर ग्राउण्डमा अवस्थित ‘स्पा अन एयर’ अर्थात सौना स्थल ।

इच्छाशक्ति र इमानदारिता भएमा हामी पनि गर्न सक्छौं यो भन्दा पनि नविनतम विकासका कार्यहरु .

स्रोत : अनलाईन खबर