कोरियाको कमाईले ५५ जनालाई रोजगारी दिएका यूवा भन्छन ; कोरियाको कष्टले धेरैकुरा सिकायो !

ईपीएस परीक्षा उत्तीर्ण गरेर रोजगारीमा दक्षिण कोरिया जाँदा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका दुर्गा फुयाललाई लागेको थियो, अब मस्ती हुने भो। कोरियामा आनन्द पनि हुन्छ, पैसा पनि कमाइन्छ।

ओखलढुङ्गामा हाँस पालन

जब उनी कोरिया पुगे, त्यसपछि थाहा पाए यो त दुःखको पहाड नै रहेछ। ‘कोरिया हामीले सोचेभन्दा धेरै फरक रहेछ,’ दुर्गा भन्छन, ‘बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म लगातार काम गर्नुपर्दा त थाकिन्थ्यो। बेकार आएछु जस्तो लाग्थ्यो।’

उनी २०७२ मा कोरिया जानु अघि नेपालमा फोटोकपी पसल चलाइरहेका थिए। भाडाको सटरमा चलिरहेको पसले दैनिकी चलिरहेको थियो।ईपीएसमार्फत कृषि क्षेत्रमा काम गर्न कोरिया पुगेका उनलाई सुरुआतमा किन आएहुँला जस्तो पनि सोच्ने गरेका थिए। ‘कोरियामा साह्रै दुःख गर्नुपर्दा त त्यही सानो सटरको फोटोकपी नै ठीक थियो भन्ने लाग्थ्यो,’ उनी कोरियाका दिन सम्झिन्छन्।तर, उनले हरेस खाएनन्। जस्तोसुकै गाह्रोसाह्रोको सामना गरे। बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खेतमा काम गरे। केही सिप सिक्नु थियो, केही पैसा कमाउनु थियो। ‘सिप सिकेर नेपालमै केही गर्छु भन्ने ध्ययले काम गर्न थालेँ,’ दुर्गा भन्छन्।

कोदो खेती

कोरियामा काम गर्दागर्दै उनलाई लाग्यो अब धेरै बस्नु ठीक छैन। सिकेको सिप नेपालमै प्रयोग गर्छु। जति दुःख कोरियामा गरिरहेको छु, त्यति दुःख नेपालमा गरेर राम्रो कमाइ गर्नसक्छु भन्ने उनको मनमा लाग्यो।
र, उनी चार वर्ष १० महिनाको भिसा छोट्याएर तीन वर्ष चार महिनामै नेपाल फर्किए । कोरियामा सिकेको सिप नेपालमै काममा लगाउने उनको अठोट छदैथियो। नेपाल फर्केर उद्यम गर्न लागे। ‘कोरिया बसेको भए अलि धेरै कमाउन सक्थे होला। तर, नेपालमा अहिले नै लगानी गर्नुपर्छ भन्ने लाग्यो र नेपाल फर्किएर व्यवसाय गर्न थाले,’ दुर्गा भन्छन्।उनी अहिले ओखलढुङ्गाका युवासँग मिलेर लिखु एग्रिकल्चर नेपाल संचालन गरिरहेका छन्। यसका संचालकमध्ये एक दुर्गा अहिले मार्केटिङ एडमिनेस्ट्रेसन प्रमुख छन्।

लिखु टिम

यो संस्थाले ओखलढुङ्गामा कृषि उत्पादन गर्छ। त्यहाँबाट अर्गानिक उत्पादन लिएर डिपार्टमेन्ट स्टोरमार्फत काठमाडौं उपत्यकामा बिक्री गर्छ। यसको डिपार्टमेन्ट स्टोर भक्तपुरको गोठाटारमा छ।

यसरी जोडिए लिखु एग्रोसँग

कोरियामा रहदै उनी सामाजिक सञ्जालमार्फत आफ्नो जिल्लाका साथीभाइसँग कुराकानी गर्थे। ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियामार्फत साथीहरूसँग अन्तरक्रिया पनि भइराख्थ्यो।त्यही क्रममा उनको काेरियामै सन्तोष दाहाल र जितेन्द्र बाँनियालगायतसँग छलफल भयो। त्यहि बेला अर्का उद्यमी लोचन बस्नेतसँग छलफल भयो।

लोचनकै सक्रियतामा भरखर लिखु एग्रिकल्चर प्रा.लि. दर्ता भएको थियो। दुर्गा पनि त्यसमै जोडिए। सुरुआतमा लिखुले पाँच सय रोपनी जग्गामा खेतिपाती भइरहेको थियो।त्यसमा १८ युवा जोडिए। उनीहरूले थप लगानी गर्ने सोच बनाए। अहिले ओखलढुङ्गाको लिखु गाउँपालिकामा दुई हजारभन्दा बढी रोपनी जग्गामा खेतिपाती चलिरहेको छ। तरकारी र फलफूल खेतीसँगै माछा र बाख्रा पनि पालिरहेका छन्। विशेष गरेर अनार मुख्य खेतीमा रुपमा रहेको दुर्गा बताउछन्।

खेतमा ४० जनाले काम पाइरहेका छन्। त्यस्तै, डिपार्टमेन्ट स्टोरमा १५ जना राजेगार पाइरहेका छन्। ‘सबै टिमकै साथी हौं। एकदम मिहिनेतका साथ काम गरिरहेका छौं,’ उनी भन्छन्।खेति गर्ने किसानले बजारको व्यवस्थापन पनि आफै गर्नुपर्छ भन्ने हिसाबले डिमार्टमेन्ट स्टोर खोलेको उनी बताउँछन्। किसानले नै उपभोक्तासम्म पुर्‍याउदा फाइदा पनि हुने उनको अनुभव छ।

यसमा अन्य युवालाई पनि जोड्ने प्रयास भइरहेको उनी बताउछन्। उनी भन्छन, ‘कोरियामात्रै होइन, अन्य देश पनि जाऔं । तर, नेपाल फर्केपनि पैसासँगै सिपको पनि प्रयोग गरौं।’