रवीन्द्र अधिकारी भन्थे : मृत्युबारे सोचेर बस्दिनँ !

काठमाडौं : त्यसबेला म रातोपाटी अनलाईनमा कार्यरत थिएँ । सम्पादक नेत्र पन्थीले मलाई ‘मेरो जीवन’ नामको रोचक साप्ताहिक कोलमका लागि काम गर्ने अतिरिक्त जिम्मेवारी दिए । लोकप्रिय र प्रभावशाली व्यक्तिको जीवनका अनेक आयामबारे यहाँ छलफल हुन्थ्यो । खासगरी साना साना कुरा तर जीवन दर्शन र जीवनशैलीमा प्रभाव पार्ने कुरामा रोचक कुराकानी हुन्थ्यो । यस क्रममा मैले थुप्रै नेता र सेलिब्रिटीसँग भेटेर गफ गरेँ । मैले जजसलाई भेटेँ, तिनले आफ्ना कमजोरी, सिमानाबारे खुलेर बोले । केहीले आत्मालोचना पनि गरे । मैले कुराकानी गरेका प्रभावशाली व्यक्तिमध्ये रवीन्द्र अधिकारी एक थिए ।

एक साता उक्त कोलम ‘मेरो जीवन’का लागि उनै रवीन्द्र अधिकारीसँग कुरा गर्ने निधो भयो । मैले फोन गरेँ उनलाई । भेट्नका लागि सहजै सहमत भए । नेत्र सरसँग सल्लाह गरी म सिधै सिंहदरबारमा छिरेँ ।

संसदको विकास समितिमा सभापति भएको बेलाको कुरा हो यो । तत्कालिन एमाले पार्टीको विद्यार्थी ईन्चार्ज पनि उनै थिए । उनको कार्यकक्षमै प्रवेश गर्दा त्यहाँ केही विद्यार्थी नेताहरु अखिलभित्रको विवाद मिलाउन भन्दै कार्यकक्षको बाहिर बसिरहेको मैले देखेँ । भित्र अधिकारी एक पुराना पत्रकार चिरन्जिवी ढुंगानासँग राजनीतिक गफमा व्यस्त थिए । (चिरन्जिवी दाई, जो अहिले अन्नपूर्णपोस्टमा मेरा सहकर्मी ।) म भित्र छिरेपछि चिरन्जिवी दाईले आफ्नो अनौपचारिक संवाद टुंग्याएर बाहिरिनुभयो ।

सुरु भयो, रवीन्द्र अधिकारीसँग उनकै जीवनबारे भलाकुसारी । एक घण्टासम्म के कुरा भएछ भनेर मैले अन्तरवार्ताको अडियो मोबाइलमा दोस्रो पटक आज सुनेँ । हेलिकप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि रातोपाटीमा गरेको अन्तर्वार्ताको खुब याद आयो । त्यही बसाइको सम्झना किन पनि आयो भने, त्यसबेला अधिकारीले जीवनका अन्तरंग कुरा सुनाएका थिए ।

बाल्यकाल, विद्यार्थी जीवन, राजनीतिक र संघर्ष, पारिवारिक सम्बन्ध, जीवनदर्शनबारे खुलेर कुरा भएको थियो । कतिपय कुरालाई उनले सहजै रुपमा नसोचिकनै जवाफ दिन्थे । ‘भाग्यमा कति विश्वास गर्नुहुन्छ दाई ?’ मैले सोधेको थिएँ । ‘छैन, हैट केही विश्वास छैन ।’

आजका समाचारमा त पाथीभरा मन्दिरमा दर्शन गरेर काठमाडौं फर्कँदा दुर्घटना भएको कुरा आए । मलाई लाग्यो, बीचका केही वर्षमा रवीन्द्र दाईले आफ्नो जीवनदर्शन फेर्नु पो भयो कि ! कि म झुक्किएँ !

रवीन्द्र अधिकारीलाई धेरै पत्रकार सजिलै ‘दाई’ भनेर सम्बोधन गर्थे । किनकि, उनी आफैँ पनि धेरैसँग सजिलै घुलमिल हुन्थे । आत्मीय ठान्थे । सजिलो लाग्ने भएकैले म पनि दाई भनेरै सम्बोधन गर्थेँ ।

‘ज्योतिषलाई हात देखाउनुभएको छ कि छैन ?’ भनेर सोध्दा पनि उनले सजिलै छैन भनेका थिए । बरु आमाले कतै ज्योतिषसँग आफ्नो भविष्यवाणीबारे सोधेको सुनाएका थिए । उनले भनेका थिए, ‘आमाहरुले हेराउनुहुँदो रहेछ, ज्योतिषलाई चिना देखाउनुहुँदो रहेछ, भविष्य एकदम राम्रो छ भनेर भन्छन् रे, तर म आफैँ कहिल्यै पनि ज्योतिषकहाँ गएको पनि छैन, विश्वास पनि लाग्दैन ।’

सोफामा बसेर अधिकारीले आफ्नै भविष्यबारे खुलेर बोलेको आजै मैले झल्झली सम्झिएँ । यसअघि मलाई उनीसँगको अन्तर्वार्ता खासै याद पनि थिएन । ४९ वर्षको उमेरमै जब रवीन्द्र दाईको निधन भयो, यसपछि चाहीँ ज्योतिषहरुले उनकी आमासँग गरेको भविष्यवाणीको कुरा याद आयो ।

अधिकारीले आफ्नो अध्ययनको बानीबारे धेरै कुरा सुनाएका थिए । उनले आफूलाई सबैभन्दा धेरै प्रभाव पार्ने पुस्तक म्याक्सिम गोर्कीको ‘अग्निदिक्षा’ भनेर सुनाएका थिए । यतिसम्म कि, अग्निदिक्षाका थुप्रै पंक्ती कण्ठस्थ सुनाए । विद्यार्थी राजनीति गर्दा नै पढेका कुराहरु कण्ठस्थ सुनाएको देख्दा दंग थिएँ म । कतिसम्म भने बिहान ३ बजेसम्म पनि लेखपढ गरेर बसेका सम्झना उनले सुनाएका थिए ।

मैले अर्को प्रश्न सोधेको थिएँ, जुन अहिले पनि याद आउँछ, ‘अगाडिको जीवनबारे केही योजना पनि बनाउनुहुन्छ ? प्रधानमन्त्री बनुँला म भनेर उद्देश्य राख्नुभएको छ कि छैन ?’

मेरो प्रश्न सकिन नपाउँदै उनले भनेका थिए, ‘मलाई ठूलो कामबाट झ्याप्पै केही गरिहालौँ भन्नेमा विश्वास छैन । साना साना कामबाटै आफ्नो प्रभाव देखाउँदै जाने हो । म अहिले जे भुमिकामा छु, यहीँबाट परिवर्तन गर्दै जाने प्रयास गर्छु । प्रधानमन्त्री बनेपछि मात्रै परिवर्तन गर्नसक्ने अरुले नसक्ने हैन । प्रधानमन्त्री बनौँला वा नबनौँला पनि । असमानता, विभेद् अन्त्य होस् । म प्रधानमन्त्री बन्न भन्दा पनि असमानता, विभेद् अन्त्य गर्न राजनीतिमा लागेको थिएँ । यसकै लागि म केही गर्न सकुँ । प्रधानमन्त्री नै किन बन्नु पर्यो र !’ उनको यो जवाफ साँच्चिकै प्रेरणादायी थियो । उनको एउटा जवाफ चाहीँ मैले सम्झिरहेँ आज । भनेका थिए, ‘मरिएन भने मन्त्रीसम्म भइएला !’

र स्मरणीय कुरा थियो प्रेमबारे । विद्यार्थीकालमा उनलाई यति धेरै प्रेमपत्र आएछन् कि, तिनको कुनै लेखाजोखा नै थिएन । आकर्षक भएर भन्दा पनि पढाइमा अब्बल र सक्रिय भएकाले प्रेमपत्र आउने उनको बुझाइ थियो । उनका अनुसार साढे २ सय भन्दा धेरै प्रेमपत्र आएको उनले सुनाएका थिए । यतिसम्म कि, एउटा चिठी त २७ पेज लामो पनि थियो ! खासगरी कलेज लाईफमा उनलाई धेरै प्रेमपत्र आउँथे रे । धेरैलाई उनी चिन्दैनथे । कति चिठी त पढ्न पनि नभ्याएको उनले भने । त्यति धेरै युवतीले मन पराइएका रवीन्द्र आफैँले चाहीँ मन पराएकी युवतीलाई कहिल्यै भन्न सकेनछन् । तर पढाइ र राजनीतिमा सक्रिय भएकैले अरु कुरामा फुर्सद नै नमिलेको उनको कुरा थियो ।

मेरो कोलमको अर्को टाइटल थियो, ‘मेरो मृत्यु’ । यस टाइटल अन्तरगत अन्तर्वार्ता दिने मान्छेले मृत्युबारे पनि बोल्नुपर्ने थियो । मृत्युलाई उसले कसरी हेर्छ ? मृत्युसँग डर लाग्छ कि लाग्दैन ? यसबारे मैले सोधेको थिएँ, ‘दिमागमा कहिल्यै मृत्युको कुरा आउँछ कि आउँदैन ?’ रवीन्द्र अधिकारीले ‘यसबारे सोचेर नबस्ने’ भन्दै ‘क्इाजुअल एन्सर’ दिए । आज मेरो दिमागभर उनका तिनै जवाफ घुमिरहे ।