एक जुझारु विकासप्रेमी राजनीतिज्ञको अवसान

काठमाडाैं : बुधबार मध्यान्तरको एउटा अकल्पनीय दुर्घटनाले सिङ्गो देश स्तब्ध छ । बहालवाला संस्कृति, पर्यटन तथानागरिक उड्ययनमन्त्री, एउटा जुझारु विकासप्रेमी राजनीतिज्ञलाई नेपालले सदाका लागि गुमाएको छ । एयर डाइनेस्टीको हेलिकप्टरमा पूर्वी नेपालको पाथिभरा दर्शन गरेर फर्कँदै गर्दा ताप्लेजुङ्गको फुङलिङ–१०, तारेभिरमा हेलिकप्टर दुर्घटनामा हेलिकप्टरमा सवार मन्त्री रवीन्द्र अधिकारीसहित सातजनाकै निधन भयो ।

मृत्यु अप्रिय तर अन्तिम सत्य हो । तर केही मृत्युहरु यस्ता हुन्छन्, जसलाई स्वीकार गर्न गाह्रो हुन्छ । विद्यार्थी राजनीतिबाट उदाएको एउटा आशालाग्दो युवा नेताको अवासानले देशलाई ठूलो पीडा बोकाएको छ ।

हसिँलो र जुझारु विकासप्रेमी राजनीतिज्ञ रवीन्द्र अधिकारीको मृत्यु हामी सबैलाई अपत्यारिलो लागेको हुनसक्छ । हेलिकप्टर हराइरहेको समाचार सार्वजनिक हुँदा सामाजिक सञ्जालमा सबैले अधिकारीसहित सवार सबै सकुशल भइदिए हुन्थ्यो भन्ने कामना गर्दै थिए । तर त्यो कामना धेरै बेर टिकेन, एक घण्टा बित्दा नबित्दै दुःखद् खबर पुष्टी भयो । उनीहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर दुर्घटनास्थल तिर उडे । बुधबार राति अबेरसम्म शव संकलन गरेर राजधानी ल्याउने प्रयास जारी रह्यो ।

रवीन्द्र अधिकारी सालिन, सुयोग्य व्यक्ति थिए । उनमा रहेको राजनीतिक सस्कार साँच्चिकै अद्वितिय र अतुलनीय थियो । नेपालको विकासबारे बहस छेड्ने र विकास समस्या समाधानका लागि उनले एक कुशल राजनीतिज्ञको भूमिका निभाए । संसदीय समितिमा रहेर उनले समस्या समाधान र सहजीकरणमा सधैं प्रयास गरिरहे । उनी आफ्नो राजनीतिक जीवनमा सधैं सक्रिय र क्रियाशील रहे । उदार, समायोजनकारी, सबैसँग घुलमिल हुने र पछिल्लो समय मन्त्रीको भूमिकामा रहँदा पनि उनीसम्मको पहुँच सबैका लागि सुलभ थियो ।

एउटा सक्रिय युवा नेताको बारेमा मृत्यु आलेख (अबिच्युरी) लेख्नुपर्दा पीडाले हात चल्न मान्दैनन् । यो अकल्पनीय घटनासँगै नेपालले एक विकासप्रेमी जुझारु राजनीतिज्ञ गुमाएको छ ।

विकास र अर्थतन्त्रका बारेमा रविन्द्र अधिकारीका विशेष चासो दिन्थे । पछिल्लो पटक सरकारमा सामेल भएर पर्यटन मन्त्रीको जिम्मेवारी पाएपछि उनले पर्यटनको विकासबाट संवृद्ध नेपाल बनाउने अभियानमा सक्रिय थिए । देशभर हवाई यातायात विस्तारका लागि विमानस्थलको सम्भाव्यता अध्ययन, पर्यटन पूर्वाधारको विकासका लागि उनले धेरै समय खर्चेका थिए ।

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिकको भीडभाड कम गर्न आन्तरिक उडानका लागि काभ्रेको नागीडाँडामा छुट्टै विमानस्थल बनाउनेदेखि निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार तथा सञ्चालन अवधि विस्तारमा उनले काम गरे । पर्यटन पूर्वाधारको विकासबिना पर्यटन क्षेत्रले विकासको गति लिन सक्दैन भनेरै उनले पर्यटन पूर्वाधार विकासलाई प्राथमिकता दिए । पर्यटकीय नगरी पोखरा उनको राजनीतिक कर्मथलो भएका कारण पनि उनले पर्यटन क्षेत्रको अन्तर्यलाई राम्ररी बुझेका थिए ।

विकास समितिको सभापति छँदा र पर्यटनमन्त्री हुँदा उनीसँग पटक–पटक संवाद भइरहन्थ्यो । पर्यटन मन्त्री भएपछि १०० दिने कार्ययोजना तयार गर्ने क्रममा उनले मन्त्रालयमा बोलाएर सुझाव लिएको सम्झन्छु । धेरैले अरूको कुरा कमै सुन्छन् । तर उनमा सुन्ने, ग्रहण गर्ने र अरूलाई सम्झाउने अद्भूत गुण थिए ।

दुई वर्षअघिको एउटा कार्यक्रम सम्झन्छु । जसमा रवीन्द्र अधिकारी, गगन थापा तथा हृदयेश त्रिपाठी वक्ताका रुपमा थिए । विकास बहसमा अधिकारी र थापाको जुझारु कुरा सुनेपछि हृदयेश त्रिपाठीले भने, ‘युवा वयमा सरकार बाहिर रहँदा म पनि भाइहरु जस्तै जुझारु थिएँ । कार्यकारी पदमा रहेर ‘डेलिभर’ गर्न गाह्रो छ । त्यही भुक्तभोगीका रुपमा आज मेरो स्वर मत्थर छ, भोलि तिमीहरु पनि त्यस्तै हुन्छौ ।’

तर मन्त्रीका रुपमा रवीन्द्र अधिकारीमा त्यही पुरानै जोश कायमै देखिन्थ्यो । हवाई दुर्घटनामा यात्रुको निधन, चोटपटक या लगेजको क्षतिमा बीमा रकम बढाउने मन्ट्रियाल महासन्धिलाई संसद्बाट अनुमोदन गराउनेदेखि पर्यटन पूर्वाधारको कार्यान्वयनलाई तीव्रता दिने, देशभर पर्यटकीय गन्तव्यहरु पहिचान र घोषणा गर्ने, भ्रमण वर्षलाई अभियानका रुपमा लैजाने, नेपालको पर्यटन क्षेत्रका विकृति निवारणमा उनी सक्रिय थिए । नियतिले अधिकारीमाथि बज्रपात गर्‍यो । मन्त्री रवीन्द्र अधिकारीप्रति हार्दिक श्रद्धान्जलि !