चिठ्ठा प्रणालीले जापानको रोजगारीबारे चिन्ता बढायो

हजारौं नेपालीहरु जापानी भाषा सिकिरहेका छन् । तर तीमध्ये केही थोरैले मात्रै जाँच दिनपाउने छन । जापानले नेपाल लगायत ९ ओटा राष्ट्रबाट जापानका १४ ओटा क्षेत्रमा पाँच वर्षभित्र अनुमानित ३ लाख ४५ हजार १ सय ५० जना विदेशी कामदार भित्र्याउने निर्णय गरेको थियो । पछि एक थप गरि हाल १० राष्ट्रबाट कामदार जापान ल्याउने भनिएको छ ।

गोर्खाका रमेश दवाडी शुरुमा दक्षिण कोरियामा जान चाहेको भएपनि जापानले नेपाली कामदार लैजाने खबरपछि उनले आफ्नो सोच बदले । आफूले इण्टरनेटमा यसबारे खोजी गरेको र जापान उत्कृष्ट गन्तव्य हुने आफूले सोचेको उनले बताए । जापानमा चरम कामदार अभाव कम गर्न जापान र नेपाल सरकारबीच एक सम्झौतामा हस्ताक्षर भएको छ जसले नेपालीलाई जापानमा काम गर्न र बस्न पाउने अनुमति दिने बताइएको छ । जापानमा काम गर्न भाषागत क्षमताको आवश्यकता भएका कारण काठमाडौंको बागबजारस्थित एक इन्स्टिच्यूटमा उनी जापानी भाषा सिकिरहेका छन् । तर उनको जापान जाने सपना केही धूमिल देखिएको छ । शुरुमा उनले भाषा पास गर्नेवित्तिकै जापान जान पाइन्छ होला भन्ने सोचेका थिए । तर जापानमा काम गर्न पाउने नेपालीको संख्या, उनीहरुले काम गर्न पाउने क्षेत्र र भाषा तथा शीष परिक्षणबारेको अन्योलका कारण उनले आशा र मनोबल गुम्दै गरेको महसुस गरेका छन् । यसले उनको जापान यात्रामा कठिनाइ उत्पन्न गर्ने देखिएको छ ।

‘टेष्ट फर बेशिक जापानीज’ सञ्चालन गर्ने जापान फाउण्डेशनले परिक्षाका लागि आवेदकको छनौंट लक्की ड्रबाट गरिने घोषणा उनका लागि टाउको दुखाइको विषय बनेको छ । पछिल्लो सम्झौताअनुसार जापानमा काम गर्न आवश्यक भाषा परिक्षण नेपाली आवेदकका लागि अक्टोबर २७ देखि २९ र नोभेम्बर ६ देखि ७ तारिखमा हुँदैछ । भाषा परिक्षाका लागि १हजार जना आवेदकमात्रै छनौटमा पर्ने भएकाले परिक्षामा भाग्यमानी मात्रै बस्न पाउनेछ । कारण लक्की ड्रमा पर्नेहरुमात्रले सो परिक्षा दिन पाउँछन् । यो सबै भाग्यको कुरा रहेको विगत ६ महिनादेखि जापानी भाषा सिकिरहेका दवाडीले भने । उनले सबै कुरा छोडेर परिक्षाको तयारी गरेको र यसमा झण्डै ७० हजार रुपयाँ खर्च भएको उनले बताए।

जापान फाउण्डेशनले शुक्रवार भाषा परिक्षाको दर्ता खुलेको बारे घोषणा गरेको थियो । दर्ता भएका उम्मेदवारबीच अनलाइन लट्री गरिने बताएको छ । लट्रीबाट छानिएका उम्मेदवारलाई मात्रै परिक्षाशुल्क, प्रवेश कार्ड प्राप्त गर्ने तरिका र अन्य प्रकृयाबारे जानकारी दिने बताइएको छ । यस व्यवस्थाले भाषा र अन्य कौशल प्रशिक्षण लिइरहेका थुप्रै नेपालीलाई प्रभावित पार्ने देखिएको छ ।

जापानी सुभांगी एजुकेशनल कन्सल्टयान्सीका प्रबन्ध निर्देशक किशोर तिवारीका अनुसार हाल नेपालभरीका विभिन्न संस्थामा ६० हजार नेपालीहरु जापानी भाषा सिकिरहेका छन् । नेपाली युवामा जापानी भाषाप्रति निकै रुचि रहेको र दुइदेशबीचको सम्झौताले थप नेपालीलाई भाषा सिक्न उत्प्रेरित गरिरहेको तिवारीले बताए । तिवारीको संस्थामा ६ महिने भाषा कोर्सको लागत १५ हजार लाग्छ । परिक्षामा सहभागी हुने आफ्नो मौका पातलिँदै गएका कारण उम्मेदवारहरु निकै निराश बनिरहेको उनले बताए । लक्की ड्र मा भाषा नजान्ने छनौट नहुन सक्ने हुने र भाषा जान्नेहरु पनि नपर्ने सम्भावना रहेकाले पनि उनीहरु निराश बन्दै गएका हुन् । उम्मेदवारहरुलाई जापानले अनलाइन परिक्षा लिने र धेरै नेपाली कामदार छनौटमा नपर्ने भएकाले यसका लागि तयार रहन उम्मेदवारहरुलाई आफूले बारम्बार बारम्बार भन्दै आएकोमा उनले जोड दिए । साथै अधिकांश नेपाली उम्मेदवार एन४ लेभल पास गर्न नसक्ने र यसमा आफूले व्यक्तिगत रुपमा केही पनि गर्न नसक्ने उनको भनाइ छ ।

यो वर्ष जापानले नर्सिङ केयरमा मात्रै नेपाली कामदार लिने भएको छ । तर जापान काम गर्न जाने नेपाली कामदारको अधिकतम संख्या (कोटा) भने अझै पनि तय भइसकेको छैन । सरकारलाई भाषा परिक्षाको दर्ताबारे आधिकारीक रुपमा जानकारी अझै पनि नआएको श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दिपक ढकालले बताए ।

उनीहरुले पहिला आउनेलाई पहिला दर्ता गर्न लाउने व्यवस्था ल्याउने भनिएको र यसले थप समस्या ल्याउन सक्ने ढकालको भनाइ छ । यसो गर्दा अधिकांशले परिक्षाका लागि दर्ता समेत गर्न नपाउने उनको भनाइ छ । चिठ्ठा व्यवस्थामा भने कम्तिमा पनि उनीहरुले छानिने मौका पाउने विश्लेषण गरिएको छ ।

दुइ देशबीचको सम्झौताको शुरुआतमा जापानले नेपालबाट कति कामदार लैजान्छ भन्ने विषयमा कुनै पनि जानकारी थिएन । यद्यपि उनीहरुले नेपाललाई बढी प्राथमिकतामा राख्ने भने बताएका थिए । ‘जापानले आफ्नो आवश्यकताअनुसार कामदार लिन्छ । जापानले आफ्नो तर्फबाट भाषा परिक्षा व्यवस्था लागू गरेको छ,’ ढकालले भने । बढी नेपालीले परिक्षा पास गर्न सक्यो त्यति नै बढी नेपालीले जापानमा काम पाउने स्पष्ट छ । उनले भने ।

जापानमा काम गर्ने विषयमा सरकारले प्रभावकारी संवाद नगरेको दवाडीजस्ता कामदार बताउँछन् । नेपाल सरकारका तर्फबाट संख्या, भाषा र कौशल परिक्षा र प्रशिक्षण दिने संस्थाका बारेमा कुनै पनि औपचारिक विज्ञप्ति जारी नगरिएको दवाडीले गुनासो गरे ।

-दि काठमाण्डौ पोष्टका लागि चन्दन कुमार मण्डलले लेखेको लेखको नेपाली अनुवाद ।