आँसुमा लत्पतिएको परदेशको दशैं

बिचार/ब्लग

परदेश आखिर रूमानी यादहरूको गाउँ न हो । समयका अनेक याम संगै जोडिन्छन् जीवन भोगाईका उकाली ओरालीहरू । कहिले खुसीको रौनक त कहिले आँसुको छाल । परदेशमा यौटा हुन्छ पानीको सागर र अर्को हुन्छ घरदेशको सम्झनाको महासागर । जुन अविरल अविराम बगिरहन्छन् । आखिर हरेक कुरा मनले गर्ने आभास रहेछ । आकासे झरी पनि दुखको बर्षा जस्तो लाग्छ । न्यानो घाम पनि चर्को लाग्छ । निदाउने बिस्तारा सधै बिजाईरहन्छ । कपासकै भए पनि सिरानी ढुंगा भन्दा फरक लाग्दैन । भूवाको सिरक ओढ्नु र फलामको भारी बोक्नु फरक लाग्दैन । देश संग दूर हुनुको पीडा । घर संग पराई हुनुको उपज हुन् सबै ।

सायदै होला श्रम गर्न परदेशीने रहर कसैको । त्यहि भंगालोमा होमिएको पनि ३ बर्ष बित्न लागेछ । अरू दिन यसै पनि व्यस्त हुन्छ जिन्दगी । चाहेर पनि तड्पिने समय हुदैन । तर मन भड्किन फुर्सद चाहिने रहेनछ । जब जब चाडपर्व आउँछन् म मात्र हैन हरेक नेपालीको मन घरमा पुगेको हुन्छ । एयरपोर्टमा गुड्ने लगेज संगै गुडिरहेको हुन्छ । आकाशमा उड्ने जहाज संगै उडिरहेको हुन्छ । समयले केहि सहज बनाएको छ । प्रविधीले संगै बनाएको छ । भिडियो कलमा संगै भएको महसुस गर्न पाउँछौ र त मन मान्दैन । अझ सम्झन्छु बा हजुरबाहरू कस्मिरका युध्दहरूमा काँधमा वन्दुक राखेर दशैंको रातो टिकाको साटो रहताम्या निधार बोकेर कसरी लड्दा हुन् । मुगलान छिरेपछी घरदेशको आवाज सम्म हुन्थेन । पठाएका चिठीहरू आईपुग्न महिनौ लाग्थे । सन्चै छु लेखेर चिठी पठाएको मान्छे बिरामी परेर मरीसक्दा पनि परदेशीले निकै छ भनेर चिठी छातीमा टांसेर निदाउनु पर्ने । कहां बोल्न पाउनु कहाँ फोटो देख्न पाउनु ? अझ भिडीयो मै देखिनु त्यो त कल्पना बाहिरको कुरा ।

धन्न समयले अली ढिला जन्माएछ । धन्यवाद समय । काममा उकाली ओराली गर्दा घर पोत्दा चढेका भऱ्याङ चढेका सिढीं सम्झन्छु । रङ रोगन दलेका हात हेर्छु । के दशै के तिहार के दिन के रात । परदेश सधैको हतार । सबैको हतार । कतिलाई कलेज पुग्ने चटाको । कतिलाई काम पुग्न ट्रेन छुट्ने डर । नियम उसै नि कडा हुने परदेशमा । समय नै ईश्वर मान्छन् विदेशीहरू । कहाँ हाम्रोमा जस्तो आज नभए भोलि हुन पाउनु ? जीवन मेसिन जस्तो । हरेक कुरा गणितीय लाग्छन् । बिरामी परेको अनुहार देखेर हुन्न । अस्पतालले प्रमाणित गरेको कागज खोज्छ कम्पनी । चाहेको वखत कहां पाउनु छुट्टी । दुई महिना पछि चाहिने विदालाई आजै बाट हात जोड्न पर्छ । पालो मिलाउन पर्छ । अझ त्यसमाथी पनि संगै काम गर्ने कारखानामा अधिक नेपाली हुनुपर्छ पाउ नै मोले पनि विदा पाउन मुस्किल ।

देउरालीको डाडो जस्ता सपना । घरको धुरी भन्दा अग्लो हुन्छ ऋणको पहाड ! त्यससंगै चुलिएको व्याज । बगिरहने बेमौसमी रहरहरू । उर्लदो महंगीको भेल । बढ्दो औषधिको मात्रा । अनेक कारण हुन्छ समयमा घर जान नपाउने कारण । मेरो एकजना साथी भन्छ आएकै खर्च तिरेर सकेको छैन कसरी जानु घर । कोहि फेरि भन्छन् गए देखि फर्कन मन छैन फाईनल जाउँ भन्दा भन्दै ५ बर्ष बितिसक्यो अझै आएन दिन । यस्तै उल्झन बिच बर्षहरू वितिरहन्छन् । दशैं तिहार चाड पर्व आईरहन्छन् गईरहन्छन् ।भाग्यमा भर गर्नेहरू र ईश्वर दाहिने हुनेहरू टन्न पैसा कमाउछन् पनि । बर्षापिच्छे सुटकेस गुडाउँदै दशैं मान्न घरमा पुग्छन् जिन्दगी रंगिन बनाउछन् पनि । तर सबै नेपालीको भाग्य कहाँ त्यस्तो । मरीमरी बाचिरहेछन् परदेशमा । पीडा सिरानीमा च्यापिरहेछन् । अनुकुल मिल्ने आफन्त साथी भाई भेटिन्छन् फोटो खिच्छन् र सामाजिक सञ्जालमा राख्छन् । घरकालाई ओहो हाम्ले भन्दा पनि राम्रो संग दशैं मनाएछन् भन्ने बनाउछन् । नत्र त कसले देख्छ र परदेशमा आँसुले मुछेका चामल निधारमा टासेको फोटो हालेर भारी बोक्न कम्पनी छिरेको ।

– शेखर विकल्प, जापान
नेपारु डटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *