छोराछोरीको उज्जल भविष्यको सपना बुन्दै कोरिया पुगेका ओमनाथ बोल्नै नसक्ने भएर फर्किए !’

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरको पाँचौं तलामा रहेको ५ सय २७ नम्बर शय्यामा रहेका ओमनाथ ढकाललाई उनकी पत्नी र बहिनी खाना खुवाउँदै थिए । ओमनाथ मुख आँ गर्छन्, केही चपाउन लागेजस्तो गर्छन् र आँखाको नानी यताउता घुमाउँछन् । तर उनकी पत्नी र बहिनीले खाना भने नाकमा पाइप राखेर खुवाउँदै थिए ।

नलीको सहायतमा नाकबाट छिराइएको खाना ‘खाएपछि’ लामो हाइ काड्छन् ओमनाथ, तर आवाज निस्किदैन । खाना खुवाए पछि बहिनी विमलाले दाँत सफा गर्न थालिन् । ओमनाथका आँखाले बहिनीलाई एकोहोरो हेरिरहन्छन् । ‘बाबा गाह्रो भयो ? गाह्रो भएको छ हो ? उतापट्टि फर्किर्ने हो ?’ ओमनाथकी पत्नी उमा भर्खैरै जन्मिएको सन्तानलाई जस्तै एकोहोरो बोलाउँछिन् । ओमनाथ पत्नीका कुरा सुन्छन्, तर बोल्न सक्दैनन् ।

नवजात शिशूले जस्तै आँखाले इसारा गर्छन्, उनको इसारा अनुसार पत्नी उमा सिरानी मिलाउन थाल्छिन। नवजात शिशूको बरु रुवाइको आवाज निश्किन्छ, हाँस्छ, हातखुट्टा चलाउछ, तर ओमनाथ आँखामात्रै घुमाउन सक्छन। मंगलबार दिउँसो एक बजे हामी त्यहाँ पुग्दा देखिएको दृश्य हो यो । उमाले आफ्नो पतिको बोलि नसुनेको ७ महिना पुग्यो । गते मंसिर २२ गतेपछि ओमनाथ को’मामा छन् ।

ओमनाथ कसरी पुगे कोमामा ? छोराछोरीको उज्जल भविष्यको सपना बुन्दै पाँचथरबाट ढकाल दम्पत्ती झापा बसाइँ सरे । झापामा जग्गा किनेर घर पनि बनाए । घरमात्रै भएर खान लाउन पुग्दैन, त्यसमाथि छोरी र छोरालाई राम्रो विद्यालयमा पढाउनुपर्ने जिम्मेवारी पनि थियो । घर बनाएको ऋण तिर्न र छोराछोरीको उज्जल भविष्यका लागि ओमनाथले कोरिया जाने योजना बनाए । कोरियन भाषा सिकेर नाम निकाले ।

स्वास्थ्य परीक्षण पनि भयो । सबैकुरा मिलेपछि २०७४ साल असारमा ओमनाथ वैदेशिक रोजगारीका लागि कोरिया पुगे । ‘जग्गा किनेर झापामा भखर्रै घर बनाएका थियौं, घर बनाएको ऋण तिर्ने, छोरा छोरीलाई राम्रोसँग बढाउने घरव्यवहार राम्रोसँग चलाउने सपना लिएर उहाँ कोरिया जानुभएको थियो,’ उमाले मलिन स्वारमा भनिन्, ‘धेरै सपनाहरु थिए, तर पुरा भएन ।’