तोइट ! सोकेस सौन्दर्य

मीमांसा/पुसको ठन्डी। आँतै काँप्ने। जति लुगा खप्ट्याए पनि शरीरले न्यानोको भेउ नपाउने। पाए पनि नपाएझैं लाग्ने। महिनाको अन्तिम दिन थियो, त्यो। घरबाट बिहानै निस्किएँ। आफ्नोभन्दा लुगाको बढी वजन बोकेर। त्यसमाथि संसार अटाउने मेरो धोक्रे झोला साथमै थियो।

सहरको एकाध कुना चियाउँदै म नियमितझैं कार्यालयतर्फ कुदेँ। बीच बाटोमै दिमागको स्विच अन भयो— एक अभिनेत्रीसँग अन्तर्वार्ता फिक्स गरेकी थिएँ, भुसुक्कै बिर्सिएछु। हिजोआज औधी भुलक्कड हुन थालेकी छु। सम्झिल्याउँदा दिमाग र मनको पांग्रामा एकै पल्ट ब्रेक लाग्यो।

घडीमा नौ बज्दै थियो, सायद। बानेश्वरबाट कुद्दै म डिल्लीबजारतिर हुइँकिएँ। त्यहाँ एउटा रेस्टुराँ छ— इचिबन। अभिनेत्रीले त्यहीँ आउँछु भनेकी थिइन्। जापानी भाषामा लेखिएको रेस्टुरेन्टको नेपाली अर्थ सोच्दै म रेस्टुराँ छिरेँ। एक तलामाथिको वेटिङ रुममा गई बसेँ। धमाधम अन्य पत्रकार पनि आए। सामूहिक अन्तर्वार्ता हुने भो।

अब पालो थियो, अभिनेत्रीलाई कुर्ने। यही कुराइमा रेस्टुराँको वाइफाई पासवर्ड मागेँ। त्यसपछि लागेँ ट्विटरतिर। कहिले फेसबुक, कहिले इन्स्टातिर।

एकदुई अनलाइन पोर्टल हेरेँ र समाचारका हेडलाइन पढ्न थालंँ। बस्दाबस्दा झ्याउ लाग्यो। र इचिबनको मिनिङ खोज्न गुगलतिर लागेँ। इचिबनको अर्थ त ‘नम्बर वान’ भन्ने पो रहेछ। कहिलेकाहीँ यसलाई फस्र्ट पनि भनिँदो रहेछ।

फस्र्ट रेस्टुराँमा अभिनेत्री भने लास्टमा आउने भइन्। सायद तयार हँदै छिन् उनी। मजस्ती झुम्री भएर कहाँ हिँड्न मिल्यो र उनले !

दुई घण्टाको पर्खाइपछि पत्रकार भेला पार्ने डब्बु दाइले सान्त्वना दिँदै भन्नुभो, ‘नायिकाहरू आइपुग्नै लागे रे है। विचराहरू सुटिङले गर्दा सुत्नै पाएका छैनन्।’ जवाफमा सबै पत्रकार मुखामुख गरे। र मोबाइलमा सर्लक्कै घोप्टिए।

प्रतीक्षा अन्त्य भयो। अभिनेत्री सिँढीमा दस्तक दिँदै माथि उक्लिइन्— टकटक टकटक। उनको स्यान्डिलको टुप्पोले भुइँमै रिदम तयार गर्‍यो। सबैका आँखा उनीतिरै सोझिए। मेरा पनि।

आहा ! कत्ति राम्रो ड्रेसअप गरेकी। जिन्स पाइन्ट र ह्वाइट कोट। कपाल पनि हल्का कर्ली। आँखामा कालो गाजल। गोरो अनुहारमा गुलाफी लिपस्टिक। बस् गज्जब राम्री देखिएकी थिइन् उनी।

हिरोइनको शरीरको वजन कति छ ? जति छ, त्यसमा एकदुई किलो लुगाको वजन जोडिएको छ। अभिनेत्री वेटिङ रुम पस्दै गर्दा मैले सबै पत्रकारलाई एकएक गरी नियालेँ। उनीहरूले जाडोका लुगा सिरक ओढेझैं लगाएका थिए। धुलो र पसिनाले निधार र गालामा परेका टाटा प्रस्टै देखिन्थे।

अनि म नि ? म कस्तो देखिएको थिएँ ? ननुहाएसम्म कपाल कोर्ने चलन छैन आफ्नो। ज्यान हलुको भए नि हेभी मेकअपको भारी बोक्न सक्दिनँ। कस्तो लुगा लगाउने, कसरी हिँड्ने, कसरी बोल्ने, त्यो ढंग पनि छैन। तर नायिकाले सबै जानेकी छन्। खै के के लगाउँछिन्। खुब राम्री देखिन्छिन्।

नेपालमा महिलाको मनोविज्ञान बुझ्ने र नारी सशक्तीकरणको विषयमा खै कथा लेखिएको ? फिल्म ‘बुलबुल’ले केही हदसम्म महिलाको मनोविज्ञान अध्ययन गरेको छ। के यसले निरन्तरता पाउला ?

उनी नितान्त नयाँ थिइन्। अन्तर्वार्तामा मैले पहिलो प्रश्न उनीसामु सोझ्याएँ, ‘फिल्मको क्यामेरा र नर्मल क्यामेरामा के भिन्नता पाउनुभो ? ’ जवाफमा अभिनेत्रीले भनिन्, ‘फिल्मको क्यामेरामा सकेसम्म राम्रो देखिनुपर्दो रहेछ।’

उनको उत्तरप्रति प्रतिप्रश्न गरेँ, ‘के हो राम्रो देखिनु भनेको ? ’

उनले जवाफ फर्काइन्, ‘प्रत्येक सर्टमा अनुहारमा टचअप गराउनुपर्छ। मेरो अनुहार अब दर्शकले पनि हेर्छन्। यसका लागि राम्रो त देखिनै पर्‍यो।’

आफ्नो पेसामा राम्रो लेखे पुग्छ; राम्रो देखिनु जरुरी छैन। त्यसैले होला नायिकाको दुःख बुझ्न झट्टै सकिएन। उठेर हिँड्न मन लाग्यो। फेरि सोचेँ। होइन, सुन्दरताको सेरोफेरोमा बसेर नायिकालाई प्रश्न गर्नैपर्छ। समाचारमा फरक एंगल पनि त खोज्नु थियो।

त्यसपछि करिब १५ मिनेट मुस्किलले प्रश्नोत्तर चल्यो, हामीबीच। निष्कर्ष आयो, ‘सोकेस सौन्दर्य।’

तोइट ! यस्तो पनि हुन्छ। नायिकाहरू फिल्मी पर्दामा चमचम चम्कने सुन्दर सोकेस हुन् ? अर्थात् जे पनि गिफ्ट बनाएर प्याक गर्न मिल्ने र्‍यापिङ पेपर हुन् र ? हुन्छन् नि, मदिरा पसलमा सजाइएका थरीथरीका ह्विस्की, बियर, वाइन, कोक, फ्यान्टा, स्प्राइट आदि। हेर्दै खाऊँखाऊँ लाग्ने। पिऊँपिऊँ लाग्ने।

के यस्तै हुन् त नायिकाहरू ? केवल सोकेस मात्र।

‘थिएटर आर्टिस्ट’ दयाहाङ राईको प्रवेशपछि नेपाली चलचित्र उद्योगमा नायकको परिभाषा नै बदलियो— हिरो बन्न अब वजनदार आवाज, अग्लो उचाइ, सुगठित शरीर र सुन्दर अनुहार कहाँ चाहिन्छ र ?

नायिकामा पनि यस्तै नियम लागू भइसक्यो कि हुन बाँकी छ ? म पनि कस्तो बकम्फुसे कुरो गर्छु। उनीहरू बुद्धि तामाङ (हैट) र माग्ने बूढा (केदार घिमिरे) जस्तो भएर फिल्म खेल्न मिल्दैन सायद। नायिकाहरू जतिसुकै क्षमतावान् होऊन्, सुन्दरता उनीहरूको पहिलो सर्त हो। हामीले जानेबुझेको पनि यत्ति न हो।

कतै पढेकी थिएँ, ‘केटाहरू मेकअपबिना कसरी राम्रा देखिन्छन् ? किनकि समाजले उनीहरूलाई मेकअप नगरी राम्रो देखिँदैन भन्ने कुरा सिकाएकै छैन।’

यस विषयमा कुरा गरिरहँदा मलाई तनु श्रीको ‘मिटू’ अभियानको याद आउँछ। उनी महिलामाथि हुने दुव्र्यवहारको गम्भीर कुरा गर्दै छिन्। तर मिडियाले उनलाई बिकिनीमा देखाउँछन्। र भन्छन्, ‘तनु श्री मिटूबारे फेरि बोलिन्।’

गम्भीर मुद्दा एकाएक सौन्दर्यको सोकेसमा परिवर्तन भयो। महिलाको मुद्दालाई मनन गर्ने पत्रकारिता अझै विकसित भएन। हामी कस्तो वाहियात ! नायिकाहरूको बोल्ड स्टेटमेन्ट त्यही सोकेसमै सीमित गरिदिन्छौं।

सन् २०१९ को सुरुआतमै भारतीय नायिका कंगना रनावतले बलिउडमा तरंग ल्याएको घटना ताजै छ। फिल्म ‘मणिकर्णिका ः दी क्विन अफ झाँसी’मा कंगनाको दमदार प्रस्तुति रह्यो। नेपालमा पनि खुबै समीक्षा भयो। नेपाली चलचित्र नगरीमा यस्ता विषयमा किन फिल्म बन्दैनन् भन्ने बहस पनि चुलियो।

हुन त ‘वसन्ती’ जस्ता ऐतिहासिक चलचित्र नबनेका होइनन्। सतीप्रथामा आधारित ‘झोला’, ‘तीन घुम्ती’ जस्ता नारीप्रधान चलचित्र पनि बने। तर के गर्नु ? यस्ता चलचित्रले नेपालको बक्स अफिसमा राम्रो उपस्थिति जनाउन सकेनन्।

नेपालमा नारीप्रधान चलचित्र कमै बन्छन्। कारण त्यहाँ सौन्दर्यको सोकेस सजाएर मात्र पुग्दैन। विषयवस्तु पनि राम्रो हुनुपर्छ। बिक्री नि गर्नैपर्‍यो। बनिहाले पनि महिलाको नामबाट निर्मित अधिकांश चलचित्रमा पुरुष कलाकार नै प्रमुख हुन्छन्। नारीमाथि घुम्ने कथावस्तु पुरुषको आँखाबाट व्याख्या गर्न खोजिन्छ। कति हास्यास्पद !

फिल्म ‘प्रसाद’ यस्तै एउटा उदाहरण हो। कथा बुन्दै जाँदा लेखक सुशील पौडेलले नायिका नम्रताको बलात्कारीको गर्भ स्वीकार्ने साहसलाई एक डायलगमा सीमित राखिदिए। उल्टै कथालाई सामाजिक पुरुषत्वको मनोविज्ञानबाट हेरे। यसबाट त नारी पात्रमाथि अनुसन्धान गर्ने जुझारुकता लेखकमा खासै भएको पाइएन।

नेपालमा महिलाको मनोविज्ञान बुझ्ने र नारी सशक्तीकरणको विषयमा खै कथा लेखिएको ? फिल्म ‘बुलबुल’ले केही हदसम्म महिलाको मनोविज्ञान अध्ययन गरेको छ। के यसले निरन्तरता पाउला ?

सन् २०१७ मा आएको हलिउड फिल्म ‘वन्डर–वुमन’, २०१४ को बलिउड फिल्म ‘मेरी कोम’ व्यावसायिक रूपमा सफल चलचित्र हुन्। रिलिजपछि यी दुवै नारीप्रधान फिल्म व्यावसायिक रूपमा सर्वाधिक सफल पनि भए।

महिला कलाकारलाई अगाडि ल्याएर फिल्म निर्माण गर्नु चानचुने कुरा होइन। प्रियंका चोपडाले आफू अभिनीत ‘मेरी कोम’ हेर्न प्रचारप्रसारमा खुब बिन्तीभाउ गरिन्। उनले पिन्चे अनुहार लगाउँदै रिक्वेस्ट गरेकी थिइन्, ‘यो फिल्ममा हिरो छैन। म नै हिरो बनेकी छु। आशा छ, स्वीकारिदिनुहुन्छ।’ यसबाट बुझ्न गाह्रो छैन— नायिकाको सवालमा बलिउड र कलिउडमा खासै भिन्नता छैन।

महिला लेखकको कमी हुँदा नारीको कथा चलचित्रको पर्दामा कमै आउने गरेको प्रसंग एक दिन नायिका स्वस्तिमा खड्काले निकालेकी थिइन्। ‘मेरो अभिनय रहेको फिल्म ‘बुलबुल’को कथा लेख्ने व्यक्ति पुरुष हुनुहुन्छ। उहाँले महिलाको मनोविज्ञानलाई बुझ्दै नबुझ्ने त होइन। तर महिला लेखक भएको भए विषयवस्तुलाई अझै महसुस गर्न सक्थे’, उनले भनेकी थिइन्।

फिल्मको एउटा सिनमा लेखक तथा निर्देशक विनोद पौडेललाई स्वस्तिमाले महिलाको मनोविज्ञान बुझाउनु परेको सुनाउँदा लाग्यो, नेपालमा महिला निर्देशकको संख्या बढ्नु पर्छ।

नेपालमा नायकसरह वा त्योभन्दा बढी पारिश्रमिक लिएर काम गर्ने नायिका जन्मिइसके। पूजा शर्मा, साम्राज्ञी राज्यलक्ष्मी, प्रियंका कार्की, नम्रता श्रेष्ठ यो सूचीमा आउँछन्। आफ्नो सुन्दरता र कलाकारितामा यी नायिका निपुण छन्। तर के गर्नु उनीहरू पनि चलचित्रमा सोकेस सौन्दर्यमै सीमित हुन बाध्य छन्।

नायिका आँचल शर्माले हिजैअस्ति भने जस्तै लाग्छ, ‘मलाई सधैं हिरोको वरिपरि नाच्न स्वीकार्य छैन। तर त्योभन्दा बढी महिला कलाकारलाई यहाँ स्थान दिइएको छैन।’

उनको यो भनाइबाट पोल्टामा जे आयो, नायिकाहरू त्यही स्वीकार्न बाध्य छन् भन्ने बुझ्न गाह्रो छैन। कि त भारतीय नायिका तथा निर्देशक नन्दिता दास जस्तै ‘अब्बल भूमिका नपाएसम्म म चलचित्र खेल्दिनँ’ भन्ने आँट उनीहरूले गर्नुपर्‍यो। अन्यथा क्षमतावान् नायिकाहरूले उचित स्थान पाउने अवस्था नेपालमा छैन।

नायिकाहरू फिल्म उद्योगबाट कतिसम्म असन्तुष्ट छन् भन्ने कुरा स्वस्तिमाबाट थाहा पाएँ। उनले भनेकी थिइन्, ‘राम्रा निर्देशकहरूले समेत नायिकालाई केमियो रोल र गेस्ट अपियरेन्समा मात्र सीमित राख्न खोज्छन्।’ यसको पछिल्लो उदाहरणमा नायिका प्रियंका कार्कीलाई लिन सकिन्छ। उनको डिमान्ड चौतर्फी छ। एकपछि अर्को फिल्ममा उनलाई गेस्ट अपियरेन्स वा एउटा गीत मात्रमा भए पनि देख्न पाइन्छ। तर उनले खेलेका राम्रा चलचित्रमध्ये पाँच वटाको सूची निकाल्न दर्शकलाई हम्मेहम्मे पर्छ।

नेपालमा महिलाको ‘हिरोइज्म’ ठूलो पर्दामा देखाउन सधैं आतुर रहने नायिकामा पर्छिन्, रेखा थापा। उनको स्वभाव नै बोल्ड छ। रेखाको पछिल्लो फिल्म ‘मालिका’ले महिला हिंसा, उत्पीडन र अज्ञानतालाई हटाउँदै लैजानुपर्ने सन्देश बोकेको छ। फिल्मको निर्देशन रेखा आफैंले गर्नुपर्‍यो। फिल्म ‘मणिकर्णिका’को निर्देशन पनि कंगनाले अन्त्यमा आफैंले गरेकी थिइन्। महिलालाई बलियो पात्रका रूपमा देखाउन एक नायिका आफैं दौडिनुपर्ने बाध्यता देख्दा अचम्म लाग्छ।

एक दिन मैले निर्देशक विनोद पौडेललाई भेटेँ। उनले नयाँ पुस्तालाई अभिनय पनि सिकाउँछन्। तर उनको कक्षाकोठामा महिलाको उपस्थिति निकै कम छ रे। यसप्रति उनी साह्रै चिन्तित देखिए। ‘महिला कलाकार आफैंमा सक्षम भए मात्र चलचित्रको पर्दामा दमदार देखिने त हो नि’, उनले भने, ‘एक कलाकारको योग्यताले फिल्म मेकिङमा ठूलो फरक पार्छ। फिल्मी क्षेत्रमा अब नायिकाहरू सक्षम भएर प्रवेश गर्नु आवश्यक छु। यसका लागि फिल्म उद्योग नायिकाहरूका लागि स्वागतयोग्य बन्नैपर्छ।

केही वर्षअघि नायकसरह पारिश्रमिक लिने नायिका निरुता सिंह यही अवसरको खडेरी हुँदा भारत पलायन भइन्। उनी अभिनय र नृत्यमा पारंगत थिइन्। तर उनको यो क्षमतालाई खासै महत्व दिइएन। ‘आठ वर्षअघि परिस्थिति यस्तो भइदियो कि सिनेमा फोहोरी बन्न थाल्यो। महिला कलाकार त अझ ‘सो पिस’का रूपमा प्रयोग भए’, केही समयअघि भेट्दा निरुताले गुनासो गरेकी थिइन्।

नेपाली चलचित्र क्षेत्रमा उनी फर्किएकी छन्। उनको प्रयोग फिल्मका गीतहरूमा हुन थालेका छन्। तर निरुता आइटम डान्समा मात्र सीमित हुने खतरा भने छ। हाम्रो फिल्म क्षेत्रमा केकी अधिकारी, सुरक्षा पन्त, ऋचा शर्मा जस्ता शिक्षित नायिका छन्। नायिकाको भूमिकामा कैंची चलाउने प्रवृत्तिविरुद्ध आवाज उठाउन यी नायिका सक्षम पनि छन्। पछिल्लो समय सुरक्षा पन्तका ‘धनपति’, ‘गोपी’ जस्ता फिल्म आए। उनी क्यारेक्टर आर्टिस्टको जोडीका रूपमा मात्र देखिइन्। मलाई साह्रै नराम्रो लाग्यो। अन्य नायिका पनि तैं चुप मै चुप भएर बसेका छन्। पढेलेखेका नायिका पनि समयसँगै किन चुपचाप हुन पुग्छन् होला, मैले जान्न सकेकी छैन।

२०६२÷६३ को जनआन्दोलनपछि नेपाली राजनीति र समाज बदलियो। चलचित्र क्षेत्र पनि यसबाट अछूतो छैन। माओवादी द्वन्द्व र त्यसमा सहभागी आम नेपाली महिलाको भूमिकाले नारीलाई हेर्ने दृष्टिकोण नै बदलिदियो। फिल्ममा पनि दुःखी र विचरी महिलाको मात्र कथा समेटिएन। यसमा वरिष्ठ कलाकार मिथिला शर्मालाई थुप्रै आरोप पनि लागे। उनले सधैं पीडित र असहाय महिलाको भूमिका निर्वाह गरेको विश्लेषण हुन थाल्यो।

भनिन्छ— नेपाली सिनेमाले अहिले निकै फड्को मार्‍यो। तर लाग्छ, हामी सिंगल थिएटरबाट मल्टिप्लेक्समा गएका त हौं। महिलालाई दुःखी एवं विचरी नदेखाइए पनि सौन्दर्यताको सोकेसबाट उनीहरूलाई बाहिर निकाल्न सकिएको छैन। कुनै समय हिरोको वरिपरि मात्र नाच्ने नायिका अहिले आफ्नो ‘प्रेजेन्स’लाई नायकसरह बराबरीमा ल्याउन सक्षम छन्।

कमेडी पर्फमेन्सले प्रभाव जमाएको नेपाली फिल्म उद्योगमा राजेश हमाल, भुवन केसीजस्ता दमदार हिरो अहिले भेटिँदैनन्। अनमोल केसीसमेत आफूलाई नायक प्रुफ गर्न कसरत गर्दै छन्। उनीसँगको छोटो भेटमा हिरोइज्मबारे मैले केही प्रश्न गरेकी थिएँ। उनले भनेका थिए, ‘क्यारेक्टर आर्टिस्टको जमाना छ। सुपरस्टारहरूले पनि राम्रो अभिनय नगरी कहाँ टिक्न सकिन्छ र।’

यो समय नेपाली फिल्म उद्योगमा हिरोको ‘भ्याकुम’ छ भन्दा फरक नपर्ला। फिल्म ‘गोपी’बाट लेखक तथा कलाकार खगेन्द्र लामिछानेले हात झिकेपछि एउटा क्यारेक्टर आर्टिस्टमा हिरोइज्म खोज्न निर्माण पक्ष भौंतारिनु परेको थियो। फलस्वरूप फिल्म डुब्यो।

हिरो पात्र कमजोर भइरहेको यो समयलाई नायिकाहरूले भरपूर फाइदा उठाउनैपर्छ। उनीहरूका लागि देशमा दुई तिहाइ बहुमतको सरकारले पाएको सुनौलो अवसर जस्तै हो, यो। ‘छक्का पञ्जा ३’ जस्ता फिल्ममा दीपिका प्रसाई जस्ता अभिनेत्री हूलमै कता हराउँछन्; पत्तो हुन्न। नायकभन्दा प्रभावशाली देखिने नायिकाहरूले ब्युटीबाट होइन, आफ्नो भूमिकाबाट चमत्कार देखाउनु पर्‍यो। नयाँ प्रयोग गर्न डराउनु भएन। अहिलेकी हट केक साम्राज्ञी जस्ता नायिकाले ‘फेरिटेल्स’ लभस्टोरी कथाबाट बाहिर निस्कनुपर्छ। ता कि मैले धोक्रे झोला बोकेर यी नायिकाहरूको अन्तर्वार्ता लिन जाँदा हलुंगो सुन्दरताको गसिप भिरेर फर्कनु नपरोस्।

वजनदार क्यारेक्टरको खुराक मज्जैले लिन सकियोस्।