यसरी डुब्यो दिलिपको जम्जमाउँदो करिअर

फाट्टफुट्ट चलचित्रमा कोरस नाचिरहेका थिए, दिलिप रायमाझी । आफू अगाडि नाचेर अरुलाई कोरसमा नचाउने सोच उनको दिमाग आएको पनि थिएन । किनभने, त्यो बेला चलचित्रको हिरो भन्नेबित्तिकै सुगठित शरीर, अग्लो कद, मोटो पाखुरा हुनुपर्ने मान्यता थियो ।

२०५२ सालमा आयोजित ‘मोसन पिक्चर अवार्ड’ मा दिलिपले आफ्ना नृत्य देखाउने मौका पाए, जहाँ चलचित्र क्षेत्रका धेरै हस्तीहरुको उपस्थिति थियो । उनको नृत्यले धेरैलाई लोभ्यायो ।

दिलिप त्यहाँ नाचेर आफ्नो बाटो लागे तर, उनलाई केही निर्देशकले आˆनो चलचित्रको ‘हिरो’ देखिसकेका थिए । दिलिपलाई पछ्याउनेहरु मध्ये उक थिए त्यतिबेलाका सर्वोत्कृष्ट मानिने निर्देशक तुलसी घिमिरे । दिलिपलाई भेट्न सजिलो थिएन । त्यसबेला दिलिपसँग फोन थिएन । चिनेजानेका मानिसहरु पनि कम थिए ।

तुलसीले लगातार २ महिना खोजे तर, दिलिप भेटिएनन् । यस्तैमा एक दिन दिलिपको भेट मेकअप आर्टिस्ट अन्जली लामासँग भयो । अन्जलीले भनिन्, ‘ओइ, तिमी कता हराएको ? तिमीलाई चलचित्र खेलाउने भनेर तुलसी घिमिरेले खोजिरहनु भएको छ ।’

दिलिप एकछिन अक्क न बक्क भए । तुलसी घिमिरेले ‘हिरो’ बनाउने कुरा उनले आधा मात्रै पत्याए । जे होस भेट्नु त पर्‍यो । दिलिप टिपटप भएर तुलसीलाई भेट्न गए । उनी सम्भिmन्छन्, ‘छिमेकी दाइको बाइक चढेर उहाँलाई भेट्न पुगेको थिएँ ।’

तर, उनले भेट्दा ढिला भइसकेको थियो । त्यतिबेला तुलसीले एक नृत्यमा आधारित चलचित्र निर्देशन गर्ने तयारी गरेका थिए । त्यसैले दिलिप उनको खोजीमा परेका रहेछन् ।

उनीसँग भेट नभएपछि प्रसान्त सिंहलाई लिएर ‘रहर’ फिल्म बनाउन थालिसकेका रहेछन् ।
त्यसैले पहिलो चलचित्रका रुपमा दिलिपले यादव खरेलको निर्देशनमा बनेको चलचित्र ‘भानुभक्त’मा काम गरे । तर, यो चलचित्र फिल्म हलमा रिलिज नै भएन ।

भानुभक्तपछि उनलाई लगातार अफरहरु आउन थाले । कामको खाँचो भएन ।

टर्निङ प्वाइन्ट दर्पण छायाँ

रहर छुट्यो त के भयो, दिलिपले तुलसी घिमिरेको फिल्ममा काम गर्ने अवसर पाए । त्यो फिल्म थियो दर्पण छायाँ । यो चलचित्र उनको करिअरमा सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट बन्यो ।

उनलाई नम्बर १ हिरोको रुपमा हेर्न थालियो ।

लगभग एउटै समय उनले अभिनय गरेको फिल्म ‘जिन्दगानी’ राजधानीमा रिलिज भयो भने ‘दर्पण छाया’ मोफसलमा । दिलिप दर्पण छायाँ रिलिजका लागि मोफसल पुगेका थिए । पहिलो शुक्रबार र शनिबार हल सुनसान नै थियो । दिलिप सम्झिन्छन्, ‘शनिबार हामी मोफसलका हलहरुमा पुग्दा प्रत्येक हलमा ४०-५० जना दर्शक हुनुहुन्थ्यो । त्यो देखेर विरक्त लागेको थियो ।’

तुलसी घिमिरे, उत्तम प्रधान, निरुता सिंहसहित मोफसल पुगेको टिम निराश अनुहार लिएर राजधानी फर्कियो । तर, जतिले चलचित्र हेरेर निस्किए उनीहरुले निकै राम्रो भएको प्रतिकृया दिएका थिए ।

राजधानीमा उनको ‘जिन्दगानी’ चलचित्र रिलिज भएको थियो । यस चलचित्रबाट उनले राम्रो प्रशंसा पाइरहेका थिए । चलचित्रको व्यापार पनि राम्रो थियो ।

त्यस्तैमा एक दिन तुलसी घिमिरेले दिलिपलाई फोन गरे, ‘भाइ, दर्पण छायाले ५१ दिन मनाउला जस्तो छ । जानुपर्छ है ।’

दिलिपलाई यो कुरा पत्याउन गाह्रो भयो । तैपनि निर्देशकले नै भनेपछि उनी मोफसल जान तयार भएका थिए । बस चढेर उनीहरु इटहरी पुगे । बजार पुरै जाम थियो । त्यो भिड देखेर दिलिपले होटलमा काम गर्ने एक जनालाई सोधे, ‘बाबु यो केको जाम हो ?’

त्यो होटलमा काम गर्ने भाइले जवाफ फर्काए, ‘दाई आज दर्पण छायाँको ५१ दिनको कार्यक्रम छ रे नि त ।’ दिलिपले जिल खाए । माउथ पब्लिसिटीको भरमा यो चलचित्रले पिकअप लिएको थियो र दिनानुदिन दर्शक बढाइरहेको थियो ।

हलमा पुग्दा दिलिपको क्रेज धुमधाम देखियो । उपस्थित दर्शक ‘राज…राज’ चिच्याइरहेका थिए । दिलिप त्यो देखेर निकै भावुक बने । मोफलसका जति ठाउँमा पुगे, त्यहाँ उनको क्रेज बबालै देखियो । रिलिजको समय निराश अनुहार लिएर फर्किएका निर्माण युनिट ५१ दिन मनाएर फर्किदा खुसीले झुमिरहेको थियो ।

राजधानी आएपछि दिलिपलाई अर्को खुसी पनि थपियो । राजधानीका हलहरुमा ‘जिन्दगानी’ले पनि ५१ दिन मनायो । दिलिप गाउँदेखि शहरसम्म चिनिए । उनी भन्छन्, ‘यत्तिको मिडिया त्यो समय थिएनन् । मोफसलमा हिट भएको कुरा राजधानीमा थाहा हुन्नथ्यो । राजधानीको कुरा मोफसलमा पुग्दैनथ्यो । तर, म त दुबैतिर एकै चोटी दर्शकको नजरमा परे ।’

दर्पण छायाँले काठमाडौंमा पनि दर्शकको ठूलो साथ पायो । त्यतिबेला नेपाली चलचित्रको इतिहासमै व्यापारिक कीर्तिमान राख्न सफल भएको थियो यस चलचित्र ।

सफलताको ह्याट्रिक

दुई चलचित्रले ५१ दिन मनाइसकेको अवस्थामा उनको ‘आˆनो मान्छे’ नामक चलचित्र रिलिज भयो ।

यो चलचित्रले पनि निकै राम्रो व्यापार गर्‍यो । तीन चलचित्रले बम्पर हानेपछि दिलिपको क्रेज हृवात्तै बढ्यो । निर्देशकहरु दिलिपको पछि परे । उनी भन्छन्, ‘जसको चलचित्रमा म कोरस नाचेँ, उहाँहरुले नै मलाई लिड क्यारेक्टरका लागि अफर गर्न थाल्नुभयो ।’

दिलपको व्यस्तता निकै बढ्यो । अफर आएका चलचित्रहरु उनले लगातार साइन गर्दै गए । उनी यति व्यस्त बने कि दिनमा ७ वटासम्म चलचित्रको सुटिङ भ्याउथे । कुनै समय ७२ घण्टासम्म लगातार काम गर्थे । ‘२४ घण्टा काम गर्नु त मेरो लागि सामान्य थियो,’ उनी भन्छन् ।

दिलिपले कतिपय चलचित्र सम्बन्धका लागि गरे, कति पैसाका लागि, अनि कति आफ्नो करिअरका लागि । एकैचोटि धेरै चलचित्रमा काम गर्दा उनको उर्जा घटिसकेको हुन्थ्यो । कुनैमा पनि सोचेजस्तो हुँदैनथ्यो । उनी भन्छन्, ‘एउटा चलचित्रको सुटिङमा हुँदा अर्कोमा ध्यान, अर्कोमा पुग्दा अर्कोमा । सँधै सुटिङ सिध्याउने हतारो मात्र हुन्थ्यो ।’

‘बाहिर हेर्दा दिलिप स्टार भन्ने थियो । तर, मलाई कत्ति दुःख र प्रेसर थियो म शब्दमा बयान गर्न सक्दिन ।’

कतिपय चलचित्र राम्रो बन्दैन भन्ने थाहा हुदाँहँुदै पनि त्यसमा काम गर्थे दिलिप । ‘मलाई थाहा हुन्थ्यो कि यो चलचित्र राम्रो हुन्न । तर, पनि म बढि पारिश्रमिक लिएर त्यसमा काम गर्थेँ ।’ ती र त्यस्तै चलचित्रको कारण पनि दिलिप पछि पर्न थाले ।

दिनमा ७ चलचित्रमा काम गर्दा पनि उनमा आफू स्टार भएको फिल आएको थिएन । ‘खै ! मैले त आफूलाई स्टार भन्ने फिल नै गर्न पाइन’, दिलिप भन्छन्, ‘त्यो बेला खाली काम काम काम थियो । काम गर्दा गर्दै नै यो अवस्था भएछ ।’

बिस्तारै दिलिपलाई चलचित्रको अफर कम हुँदै गए । कुनै समय त खाली हात नै भए ।

रमेश उप्रेतीसँग टक्कर

रमेश उप्रेती र दिलिप रायमाझीलाई एक-अर्काको प्रतिष्पर्धीका रुपमा हेरिन्थ्यो । उनीहरुबीच ठुलो द्वन्द्व छ भन्ने गरिन्थ्यो । रमेश पनि नृत्यमा पोख्त थिए । उनीहरु दुवैलाई उस्तै भूमिका सुहाउँथ्यो । तर, दिलिप आफूहरु बिच कुनै द्वन्द्व नभएको बताउँछन् । उनी भन्छन्, ‘रमेशजी र म एकै ठाउँमा डान्स सिक्थ्यौं तर, उहाँ मभन्दा पहिला चलचित्रमा आउनु भयो । उहाँ र मेरो राम्रो सम्बन्ध छ ।’

रमेशले आफूलाई हरेक पटक प्रोत्साहन दिने गरेको दिलिप बताउँछन् । भन्छन्, ‘उहाँले मलाई नराम्रो कहिल्यै भन्नु भएन । मेरो प्रशंसा नै गर्नुहुन्थ्यो । मलाई प्रोत्साहन दिनुहुन्थ्यो ।’

दिलिप रमेशले छोडेको चलचित्र खेलेर हिट भएका छन् । दर्पण छायाँ, आˆनो मान्छे लगायतका चलचित्र रमेशले छोडेका हुन् । ‘म त लक्की मान्छे हुँ । रमेशजीले नगर्नुभएको चलचित्रमा काम गर्न पाएर हिट भएँ,’ उनी भन्छन् ।

अमेरिका किन ?

चलचित्रमा काम गरिरहेका दिलिप एक्कासी अमेरिका पुगे । धेरैले उनलाई यहाँ चलचित्र चल्न छोडेपछि वा चलचित्रको अफर कम भएपछि अमेरिका पुगेको आरोप लगाए । तर, दिलिप आफ्नो पारिवारिक कारण अमेरिका पुगेको बताउँछन् । उनी भन्छन्, ‘मेरो छोरीलाई पढाउनका लागि म अमेरिका गएको हुँ । त्यहाँ सेटल गर्दा केही समय लाग्यो । अहिले आउने-जाने गरिरहेको छु ।’

दिलिप अमेरिका पुगेपछि डान्स स्टुडियो खोले र नृत्य सिकाउन सुरु गरेका थिए । उनी त्यहाँ एक डान्सिङ रियालिटी शोको मुख्य जज भएर पनि काम गरेका थिए ।

चलचित्र क्षेत्रः पहिले र अहिले

दुई दशक चलचित्र जगतमा दिलिप सक्रिय रहे । ‘एनालग सिस्टम’का हिरो थिए उनी ।
तर, अहिले नेपाली चलचित्र क्षेत्र डिजिटल सिस्टममा आइसकेको छ । प्रविधिले निकै ठुलो फड्को मारेको छ । नयाँनयाँ अनुहारले चलचित्रमा आˆनो प्रभुत्व जमाइरहेका छन् । पुराना अनुहार लगभग विस्थापित जस्तै छन् ।

दिलिप पनि अहिलेका चलचित्रहरु हेरिरहेका हुन्छन् । उनी भन्छन्, ‘प्रविधिको हिसाबमा हामी धेरै माथि आएका छौं । कलाकारहरु पनि राम्रो राम्रो आउनु भएको छ । अहिलेको चलचित्र हेर्दा गर्व गर्न सक्ने अवस्था छ ।’

विकासँगै विनाश पनि आएको हुन्छ । दिलिपले पनि यो कुरालाई महशुस गरेका छन् । पछिल्लो समय दर्शकले नेपाली चलचित्र नहेर्नु मुख्य कारण कमजोर स्क्रिप्ट भएको उनको मूल्यांकन छ । भन्छन्, ‘हाम्रो पालामा राम्रो कथा अनि स्कृप्ट थियो तर, प्रविधि थिएन । अहिले प्रविधि छ तर, कथा र स्कृप्ट निकै कमजोर छ ।’

यो प्रविधिमा बलियो कथा, राम्रो स्क्रिप्ट र पुराना र नयाँ कलाकारको फ्युजन भए चलचित्र क्षेत्रले उचाई लिने दिलिपको बुझाइ छ । उनी भन्छन्, ‘यदि कसैले राम्रो कथा र स्क्रिप्टमा पुरानो कलाकार र नयाँ कलाकारलाई लिएर चलचित्र निर्माण गर्नुभयो भने चलचित्रले फड्को मार्छ ।’

चलचित्र निर्माणमा जमर्को

अहिले दिलिप नेपालमा छन् । उनी अहिले नयाँ चलचित्रको निर्माणमा जुटेका छन् । उनको टिम मिलेर एक कमेडी चलचित्रको निर्माण गर्ने तयारी गरिरहेको छ । उनी भन्छन्, ‘अहिले हामी चलचित्रको स्क्रिप्टमा काम गरिरहेका छौं । केही दिनमा नै प्रेस मिट गरेर चलचित्रको घोषणा गर्नेछौँ ।’

उक्त चलचित्रको स्क्रिप्टले मागे आफू पनि पर्दामा देखिने उनी बताउँछन् । भन्छन्, ‘यदि स्त्रिmप्टमा सुहाएको खण्डमा म पनि अभिनय गर्छु तर, जवरजस्ती काम गर्दिन