मध्यमेवा जलविद्युत् आयोजना : ९ अर्ब २६ करोड लगानी सम्झौता

काठमाडौं : निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको ४९ मेगावाटको अर्धजलाशय (पिकिङ रन अफ रिभर—पीआरओआर) मध्यमेवा जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि बिहीबार सम्झौता भएको छ। कुल अनुमानित लागत ९ अर्ब २६ करोड रुपैयाँ रहेको यस

आयोजनामा नेपालका बैंक तथा वित्तीय संस्थाबाट ७५ प्रतिशत (६ अर्ब ९४ करोड रुपैयाँ) र स्वपुँजी २५ प्रतिशत (२ अर्ब ३२ करोड रुपैयाँ) लगानी हुनेछ।
आयोजना क्षेत्रका वासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्याइएको छ। यसैगरी आयोजनामा बिजनेस अक्सिजनको समेत स्वपुँजी लगानी हुनेछ। सर्वेक्षण अनुमतिपत्र प्राप्त भएको ३ वर्षभित्रै प्रवद्र्धक कम्पनीले आयोजनाको सम्पूर्ण अध्ययन, विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) र वित्तीय व्यवस्थापन सम्पन्न गरी निर्माणको चरणमा पुर्‍याएको हो।सम्झौताअनुसार हिमालयन बैंकले लिड बैंकका रूपमा १ अर्ब ५० करोड, नेपाल इनफ्रास्ट्रक्चर बैंकले सहलिड बैंकका रूपमा १ अर्ब ५० करोड र सहभागी बैंकको रूपमा कुमारी बैंकले १ अर्ब २५ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब करोड, एनसीसी बैंकले १ अर्ब र सानिमा बैंकले ६९ करोड ५ लाख लगानी गर्नेछन।सम्झौतामा कम्पनीका तर्फबाट भानु पोखरेल, हिमालयन बैंकका तर्फबाट शंकर जोशी, नेपाल इन्फ्रास्ट्रक्चर बैंकका तर्फबाट रबिन श्रेष्ठ, कुमारी बैंकका तर्फबाट भुषण तण्डुकार, नेपाल एसबीआई बैंकका विनोद ढुंगेल, एनसीसी बैंकका सुजन श्रेष्ठ र सानिमा बैंकका सरोज गुरागाईंले हस्ताक्षर गरेका छन्।

आयोजनाको प्रवद्र्धक कम्पनी मेवा डेभलपर्स ऊर्जा डेभलपर्स प्रालिको ग्रुप कम्पनी हो। ऊर्जा डेभलपर्स नेपालमा दिगो जलविद्युत् विकास गर्ने उद्देश्यले प्रतिष्ठित व्यावसायिक घरना सीई ग्रुप, ऊर्जाविद् भानु पोखरेल र ऊर्जा तथा जलनीतिविज्ञ मोहनदास मानन्धरको रणनीतिक साझेदारीमा स्थापित कम्पनी हो।
कम्पनी स्थापनाको ३ वर्षभित्रै ऊर्जा डेभलपर्सले ग्रुप कम्पनीमार्पmत आरम्भ गरेको दुईवटा जलविद्युत् आयोजना माइबेनी (९.५१ मेगावाट) र तल्लो जोगमाई (६.२ मेगावाट) अगामी एक वर्षभित्र निर्माण सम्पन्न हुनेछ। कम्पनीले एक वर्षको अवधिमा वित्तीय व्यवस्थापन सम्पन्न गरी निर्माण आरम्भ गर्न लागेको यो तेस्रो आयोजना हो।

आयोजनाबाट स्थानीय वासिन्दासितको सहकार्यमा पहुँच मार्ग र अन्य पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिसकेको र आगामी माघ महिनादेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गरिने कम्पनीका प्रबन्ध निर्देशक भानु पोखरेलले बताए। उनले निर्माण थालनी भएको ४२ महिनाभित्र आयोजना पूर्णरूपमा सञ्चालनमा आउने जानकारी दिए।

प्रवद्र्धक कम्पनी मेवा डेभलपर्सका अध्यक्ष तथा सीई कन्स्ट्रक्सनका अध्यक्ष एवं प्रबन्ध निर्देशक विजयबहादुर राजभण्डारीले जलविद्युत् क्षेत्रमा पछिल्लो समयमा विद्यमान प्रतिकूल वातावरणबीच पनि मध्य मेवा आयोजनाका लागि स्वपुँजी लगानी गर्न सकिएको र नेपालका प्रतिष्ठित बैंक ऋण लगानी गर्न तत्पर भएका कारण छोटो समयमा वित्तीय व्यवस्थापन गर्न सम्भव भएको बताए।