कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ७५% सम्म भत्ता

काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा खटिने डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपचारमा खटिने अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिइनेछ ।

त्यस्तै, संक्रमण रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित कार्यमा खटिने निजामती, सुरक्षाकर्मी र नागरिक उड्डयन कार्यालयका कर्मचारीलाई पनि सुरु तलबमानको ५० प्रतिशत भत्ता दिने निर्णय समितिले गरेको छ ।संक्रमितको उपचारका लागि स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाभित्र एक सय २० वटा आइसियू बेड अविलम्ब थप्ने निर्णय समितिले गरेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, वीर, पाटन, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र आयुर्वेद अस्पताल कीर्तिपुरमा २०–२० आइसियू बेड थपिने समितिले जनाएको छ ।त्यस्तै, प्रदेशहरूमा आवश्यकताअनुसार कम्तीमा एक सय १५ वटा आइसियू बेडको व्यवस्था गर्न समितिले निर्देशन दिएको छ ।

कोरोना संक्रमितको उपचारका लागि खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रलगायत उपत्यकामा रहेका स्वास्थ्य मन्त्रालयले तोकेका विभिन्न अस्पताल तथा भवनमा एक हजार बेडको व्यवस्था मिलाउने निर्णय पनि समितिले गरेको छ ।नयाँपत्रिका दैनिकबाट