कोरियाका नेपालीले पठाएको मेडिकल सामग्री मन्त्रीलाई बुझाउने धोको अधुरै

लिलु डुम्रे , स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले दक्षिण कोरियाबाट आएको मेडिकल सामग्री बुझ्ने प्रतिबद्धतता जनाएपनि हस्तान्तरण गर्न आयोजित कार्यक्रममा भने नै उपस्थित भएनन्। पूर्व निर्धारित समय अनुसार शनिबार १२ बजे एनआरएनका प्रतिनिधिसहित मन्त्री ढकाललाई सामाग्री हस्तान्तरण गर्ने तय भएको थियो।

मन्त्री ढकालले व्यस्तता जनाउँदै दिउँसो २ बजेका लागि कार्यक्रम सारे। सोही अनुरुप गैरआवासीय नेपाल संघका प्रतिनिधि र थप केही व्यक्ति माइतीघरस्थित मन्त्रालयमा पुगेका थिए।निर्धारित समयमा मन्त्री नआएपछि कार्यक्रम सुरु हुने अवस्था रहेन। मन्त्रालयबाट जिम्मेवार प्राप्त कुनै व्यक्ति आएर प्रतीक्षा गर्नुपर्ने समयको समेत एकिन गरेनन्।

उपस्थित व्यक्तिहरु मन्त्रालयकै प्राङगणमा टहलिए। केही समयपछि मन्त्रालयबाट मन्त्री आउन केही समय ढिलो हुने जानकारी गराइयो।मन्त्रीलाई नै सामाग्री हस्तान्तरण गर्न भनी प्रतिक्षा हुँदाहुँदै एक व्यक्ति आएर मन्त्री उपस्थित हुन नसक्ने जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातै प्रदेशका मुख्यमन्त्रीको भिडिओ कन्फ्रेन्सले गर्दा मन्त्री उपस्थित हुन नसकेको कारण देखाइयो। पूर्व निर्धारित समयलाई मन्त्रीकै चाहनाअनुसार सारिएको थियो। तापनि उनी उपस्थित भएनन्। मन्त्रीलाई हस्तान्तरण गर्ने इच्छा तुहियो। डेढ घन्टा बढी कुराएर सचिव यादव कोइरालालाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरियो। उनी पनि मन्त्रालयमा बैठकमै भएकाले प्रतीक्षा गर्न लगाए। आधा घन्टा कुरेपछि सचिव कोइराला प्राङ्गणमा ओर्लिए। करिब १५ मिनेटमै कार्यक्रम सम्पन्न भयो। एनआरएनका प्रतिनिधिले एक थान मेडिकल सामग्री कोइरालालाई हस्तान्तरण गरे।

पसिनाले आर्जन गरेको रकममार्फत् पठाइएको सामग्री मन्त्रीलाई नै हस्तान्तरण गर्ने उत्कट इच्छा इच्छामै सीमित भयो। प्रवासी भूमिमा रहेका कामदार मन्त्रीको बोली समेत सुन्न चाहन्थे। प्राप्त सामग्रीको सही सदुपयोग हुनुको साथै ठूलो संख्यामा परीक्षणको दायरा बढाइयोस् भन्ने उनीहरुको चाहना थियो।उनीहरुको थप इच्छा थियो, आउन बाँकी रहेको सामानलाई समेत मन्त्रीले सहजीकरण गरिदिउन्। मन्त्रीको अभिव्यक्तिले विश्वस्त हुन खोजेका कामदारको आकांक्षालाई पुरा हुन सकेन। ढकालकै कारण मजदुरले उनको प्रतिबद्धता सुन्ने वातावरण बनेन।बढीमा आधा घन्टामा सकिने कार्यक्रमका लागि मन्त्री किन उपस्थित भएनन्, उपस्थितमा जिज्ञासा पैदा स्वभाविक उठ्यो। चार घन्टा लामो भिडिओ कन्फ्रेन्स सकिएर पनि मन्त्री ढकाल आउन सक्ने अवस्था थियो। अन्तिममा सचिवलाई अघि सारियो।

महासंकटसँग जुध्न कोरियाबाट आएको सामग्री सानो कष्टले नेपाल आइपुगेको थिएन। चैत ४ मा फ्रान्सबाट नेपाल आएकी युवतीमा कोरोना भाइरस पोजिटिभ देखिएसँगै चिकित्सकलाई सुरक्षा कवच सामाग्री (पिपिई)को चरम अभाव भएको विषय बाहिरियो।साथै,कोरोना परिक्षणको लागि किट पनि अभाव थियो। चैत १० मा उनलाई भाइरस देखिएको दुई दिन पछि कोरियाको एनआरएन र केही युवाहरुले पहल गरे। चार दिने अभियान चल्यो– एक व्यक्ति एक किट।संकटमा रहेका नेपाललाई त्राण दिन सहृय युवाहरुले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरे। चार दिनमै १४ करोड २६ लाख ३७ हजार कोरियन वन उठ्यो। किट प्रयोजनका लागि उठेको करिब एक करोड चालिस लाख रुपयाँले तत्काल सामग्री पठाउने अवस्था बनेन।

हवाई उडान मार्फत नेपाल पठाउने प्रयास सफल हुन सकेन। नेपालले अन्तराष्ट्रिय उडानलाई गरेको रोकावटले गर्दा मेडिकल सामान नेपाल पठाउन सम्भव भएन। अर्को विकल्पका रुपमा चिनको बाटो हुँदै सामान पठाउन थियो। चिनले संक्रमित भएका देशको हवाइ आवागमन रोकिदियो।१५ दिन अघि नै पठाउने तयारी शुक्रबार मात्रै सफल भयो। कोरियन एयरको चाटर्ड विमान मार्फत समान नेपाल आइपुगेको छ। शुक्रबार आएको सामान स्वास्थ्य विभागलाई जिम्मा लगाइएको छ। कोभिड-१९ परीक्षण किट ४ हजार थान, पिपिई ५ सय सेट र आरएनए किट १६ सेट नेपाल आइपुगेको थियो शुक्रबार मात्र। कोरियन एयर अवतरण गरी सामान बुझ्ने क्रममा समेत सरकारी निकायको समन्वय नहुदाँ सास्ती भोग्नुपरेको थियो।

चीनको गोन्जाउ हुँदै दोश्रो लटको सामान पठाउने तयारी छ। चाटर्ड विमानको अपेक्षा एनआरएन कोरियाको छ। त्यसका लागि मन्त्रीको सक्रियता बुझ्न चाहेपनि हस्तान्तरणमा मन्त्री उपस्थित भएनन्। दोश्रो लटको सामग्री छिटो नेपाल ल्याउन सरकारकै तत्परतामा आवश्यक रहने कोरियाका व्यवसायी रुद्र शर्मा बताउँछन्।चाटर्ड विमानको प्रतीक्षामा रहेका थप सामग्रीमा गाउन पिपिइ सेट २ हजार थान,एन ९५ मास्क १० हजार प्रति,सर्जिकल मास्क २० हजार प्रति,गोगल्स २ हजार प्रति,प्रोटृेक्टिङ भाइजर २ हजार थान, पञ्जा १० हजार थान र आइआर थर्मोमिटर ५ सय प्रति छन्।दक्षिण कोरियास्थित एनआरएन,विभिन्न संघ संस्था र अभियन्ताको सक्रियतामा करिब चार हजार ५ सय जनाले आर्थिक सहयोग गरेका थिए।नेपाल लाईभबाट