सरकार बुख्याचा मात्र नबनोस: सन्जय घिमिरे

कोरोनाको महामारीले सिंगो विश्व जगत नै आक्रान्त बनिरहेको बेला हामीहरु पनि यसबाट अछुतो रहेनौं।भनिन्छ विपत बाजा बजाएर आउँदैन तर यो उखान हाम्रो सन्दर्भमा अहिले त्यति लागु भएन किनकि हाम्रोमा कोरोना ३ महिना देखि पन्चे बाजा नै घन्काएर आयो तर के गर्नु व्यवस्थापकिय जिम्मेवारीमा रहेकाहरुको दुर दृष्टिको कमि र सम्भावित जोखिमको मूल्यांकन बेलैमा गर्न नसक्नुको

परिणाम अहिले हामीले भोग्न बाध्य छौं।सिंगो विश्वले नै संकटको सामना गरिरहेको छ तर फरक यत्ति हो कस्ले कसरी व्यवस्थापन गरेका छन के के उपाय अपनाएर संकटबाट उन्मुक्ति पाउने कोशिश गरेका छन भन्ने हो।सहज परिस्थितिमा नेतृत्व त जस्ले पनि सम्हाल्न सक्छ।कुशल शासक त त्यो हो जस्ले विपत्तिमा पनि कम भन्दा कम

क्षतिमा कुशलतापुर्वक समस्यालाई पार लगाउन सक्छ।यो समयमा सबैले आ-आफ्नो ठाँउबाट सकारात्मक भुमिका निर्वाह गर्न सकिन्छ तर सबै कुराको व्यवस्थापन गर्ने काम सरकारको हो र सरकार नै जनताको अभिभावक भएकोले उस्को दायित्व हो।सरकारले दूरदर्शी भएर निर्णयहरु गर्ने र आफु मातहत सहि कार्यान्वयनको निर्देशन गर्नु पर्ने बेलामा बिभिन्न कुरामा अझै पनि संघ प्रदेश र स्थानीय निकाय बिच अन्यौल हुनु दुखद कुरा हो।व्यापार व्यवसाय,उधोग धन्दा,कलकारखाना,सबै ठप्प छन देशको अर्थव्यवस्था टाट पल्टन सक्ने सहजै अनुमान गर्न सकिन्छ।आर्थिक वृद्धिदर २.५%मा झर्ने भनेर प्रक्षेपण गरिए पनि लकडाउन कायमै रहने र कोरोनाले महामारीको रुप लियो भने त्यो पनि सम्भव देखिदैन।

सरकारले उधोग धन्दा कलकारखाना,कृषि उत्पादनको लागि प्याकेज घोषणा गर्ने, बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर घटाएर कम नाफा खाने,कृषिको उत्पादनमा जोड दिइ आउने वर्ष हुन सक्ने भोकमरी र ठुलो आर्थिक क्षतिबाट बच्ने उपाय अविलंब निकाल्नु पर्दछ।कोरोना महामारी लम्बियो भने आगामी वर्ष खाधान्न अभाव हुनेछ त्यो अवस्थामा हामीले विदेशबाट ल्याएर खाँउला भन्ने अवस्था रहन्न त्यसका लागि बेलैमा उत्पादनमा जोड दिनु पर्ने देखिन्छ।सरकारले अकस्मात ११ गते देखि लकडाउन गर्ने भनेर निर्णय गर्यो र देश लकडाउनमा छ।लकडाउन आवश्यक हो भन्ने कुरामा कुनै दुविधा रहेन तर लकडाउन मात्रै एउटै र अचुक उपाय हो त कोरोना जित्नको लागि ? हामीले अरु देशबाट पनि सिक्नु पर्छ।कोरियाले कोरोना लगभग जितेको छ कुनै दिन उधोग कारखाना बन्द भएनन।यसै बिचमा संसदीय चुनाव समेत कुशलतापुर्वक सम्पन्न गरेर कुशल नेतृत्व क्षमता देखाएर विश्वलाई उदाहरण पेश गरेको छ।

हाम्रोमा लकडाउन भएको क़रीब तिन साता पछि बल्ल सरकारले कोरोना परीक्षणलाई केहि तीव्रता दिए पनि यो पर्याप्त देखिदैन।अझै सबै अस्पतालमा आइसियु सहितका बेड छैनन ।भोलि कोरोनाले महामारीको रुप लियो भने उपचार कसरी गर्ने? एउटा प्रदेशमा ५/७वटा आइसियुले थेग्न सक्छ? यस्को लागि अझै पनि महामारी फैलिन्छ र आइसियु थपौला भनेर बाटो हेरिरहेको जस्तो देखिन्छ।लकडाउन पछि के गर्ने कसरी गर्ने जनताका पिर मर्का कसरी सम्बोधन गर्ने कस्ता कस्ता जटिलता आउन सक्छन भन्नेबारे कुनै सोंच विचार र तयारी बिनै लकडाउन घोषणा गरेर जनता कहाँ कहाँ छन कुन अवस्थामा छन भन्ने कुनै ख्याल नगरी घरमै बस्ने उर्दी जारी गरेर सरकार कानमा तेल हालेर सुत्न मिल्छ?अहिले लाखौं मजदुर श्रमिक खान नपाएर भोकै मर्ने अवस्था आउन थालेको छ।तिनीहरुको संविधानले व्यवस्था गरेको खान पाउने हकको ग्यारेन्टी सरकारले गर्नु पर्दैन?राहतका नाममा ५-७ किलो चामलले महिनौं छाक टर्छ? कि त्यो बिहान सांझ सरकारको भोकभोकै भक्तिगान गाएर निधारमा टाँस्नलाई हो सरकार? श्रमिक मजदुर विपन्नको मुक्तिका नारा लगाएर सत्तामा पुगेर तिनैका पेटमा बुट बजार्न कत्ति पनि हिनताबोध हुंदैन?

मजदुरका नाममा खोलिएका दर्जनौं संस्था र पार्टीहरु कुन दुलोमा बसेर चिकेन रोष्ट चपाउदै रमाइरहेका छन? बिभिन्न काममा देशका कुनाकुनामा रहेर देशकै मुहार चम्काउन आफ्नो मुहार घाममा डढाएर अंगार जस्तो बनाई बनाई मजदुरी गरीरहेका जनतालाई लकडाउनले कस्तो असर गर्ला ति विचरा के गर्लान भन्ने सरकारलाई कुनै हेक्का रहेन।आपत विपतमा परिवार सबै एकैठाउमा हुन पाए हुन्थ्यो भन्नु,जहाँ भएपनि घरमा गएपछि रोगैलागे पनि माया ममता हेरचाहले बाँचिन्छ भन्ने लाग्नु,आम मानिसको स्वभाव हो र स्वभाविक पनि हो।जब खाने अन्न सकिन्छ, सरकारले खाने बस्ने व्यवस्था गर्न सक्दैन,बसिरहेको ठाँउ सुरक्षित लाग्दैन तब जुनसुकै कष्टको सामना गर्न तयार भएर मानिस आफ्नो घर फर्कन बाध्य हुन्छ। जो अहिले भैरहेको छ।८-१० दिन लगाएर हजारौं हजार मानिस पैदल हिनेर भोक भोकै सडक पेटीमा सुत्दै घर फर्किरहेकाछन।यस्तो दर्दनाक अवस्थामा सरकार मौन छ ताकि उस्लाई केही थाहा छैन।यसरी जनतालाई अलपत्र पार्ने अधिकार सरकारलाई छ?

जस्का भोटले जितेर साइरन बजाउदै निर्बाध डुल्न पाइएको छ तिनैको यो हरीविजोग देख्दा अलिकति पनि त्यो पत्थर नभैसकेको मुटुमा च्वास्स छुदैन?लकडाउन कहिले सम्म जाने हो र अबको रणनीति के भन्ने बारे सरकार आफै अलमलमा छ।यस्तो अवस्थामा सिमानामा क्वारेन्टाइनको २१ दिन पुगेका दाजुभाईहरुलाई उपयुक्त बिधि अपनाएर देशमा ल्याउन ढिलाई किन सरकार?बिभिन्नदेशमा नेपाल फर्कने बाटो हेरेर बसेका नागिकको उद्वार गर्नु पर्दैन?के तिनीहरु रेमिट्यान्स पठाउने एटिएम मात्रै हुन? लाखौं नेपाली देश फर्किए कहाँ राख्ने कसरी व्यवस्थापन गर्ने तयारी गर्नु पर्दैन?देश भित्रै घरबाहिर रहेका श्रमिक बिधार्थी,अप्ठेरोमा परेका र घर जान चाहने नागरिकलाई व्यवस्थित तरिकाले घरमा पुर्याउन केले रोकेको छ सरकार? कोरोनाले? भोकै सयौं नागरिक चर्को घाममा असुरक्षित तरिकाले घर जाँदा कोरोना जाँदैन गाँऊ घरमा?गाडी चढे मात्रै जाने हो?

बिचरा जो लामो पैदल यात्रा तय गरेर घर आउदैछन तिनैलाई फेरि प्रहरीको केरकार र ४/५ घण्टा सम्म राखेर दिइने यातना यो के हो सरकार?अस्पतालबाट सेवा गरेर फर्केका डाक्टर नर्समाथीको लाठिचार्ज के हो?जोखिम मोलेर जनताको उपचारमा खट्ने स्वास्थ्यकर्मि माथीको आक्रमणले “प्रहरी हाम्रो साथी”भन्ने नाराले पनि सरम माने होला!मानवीयता भन्ने छैन तिम्रो प्रशासन संग?कस्तो निर्दयी मन!उता पालिका र जिल्लाहरुले पैदल पनि कोहि नआओस भनेर बाटोहरु बन्द गरेर गस्ति गरिरहेका छन।आफु घरमा सुरक्षित छु तिन थाल खाएर फ़ेसबुकमा डकारेको छु भन्दैमा अरु अलपत्रहरु आफ्नो घर जान पनि नपाउनु?सरकार आफ्ना कार्यालय बन्द गर नागरिकलाई आउन नदे,अरु भुरे राजा महाराजाहरु,गाँउ,शहरका बोक्रे भलाद्मी पनि आनन्द घरको गेट,ताग्लोमा बार लगाएर घर भित्रै बस्नु यति गरे तिमीहरुलाई कोरोना लाग्दैन तर कोही हिंडेरै भएपनि घर गैरहेको छ भने बाटो बन्द गर्ने र रोक्ने अधिकार कसै संग छैन।

सामर्थ्य छ भने लगेर व्यवस्थित क्वारेन्टाइनमा राख्न सकिन्छ होइन भने कोही म घर गएर सुरक्षित बस्छु भन्दा के को आपत्ति?जो पैदल हिनिरहेको छ के उस्लाई रोगको डर छैन परिवारको माया छैन,मर्न डर छैन?चुनावको बेला घरबाहिर कहाँ कहाँ हाम्रा भोटर छन भनेर नामावली तयार गरी तारन्तार फोन गरेर निःशुल्क गाडी र खानाको व्यवस्था गरी भोट हाल्न लैजाने पार्टी कहाँ छन अहिले?हाम्रा भोटर कुन ठाउँमा के अवस्थामा छन,खाएका छन कि भोकै छन भन्ने चासो छ कुनै नेतालाई पार्टीलाई ? जनता के तिम्रा भोट बैंक मात्र हुन?सत्तामा चढ्ने भर्यांग मात्र हुन?फेरि ओर्लन भर्यांग चाहिन्न?अप्ठ्यारोमा परेका आफ्ना जनतालाई सुरक्षित घरमा लैजान स्थानीय भुरे राजाहरुले पहल गर्नु पर्दैन?

भारतमा जस्तै लकडाउनको विरोधमा लाखौं मजदुर आन्दोलनमा उत्रने दिन नआओस।जनता अहिले सम्म लकडाउनको पुरा पालन गरिरहेका छन तर जनताले यो अवज्ञा गर्न थाले र तिनै मजदुर खुलेआम निस्किए भने लकडाउनले मात्रै कोरोना रोकिएला त सरकार लकडाउनले मात्र?भोक भन्दा ठुलो रोग हुँदैन यो कुराको हेक्का राख्नु पर्छ।त्यति बेला तिम्रो सरकार रहला?जनता भोकले मर्ने दिन आयो, लाखौंले रोजगारी गुमाउनु पर्यो,विदेशमा भएका लाखौ दाजुभाई घर फर्किनु पर्ने अवस्था आयो र यहाँ व्यवस्थापन गर्ने हैसियत तिमी संग रहेन भने रहला त तिम्रो आलिसान सिंह दरबार अनि तिमी बसिरहेको कुर्सी?जनताका हरेक समस्यामा सरकार मुक दर्शक बनिरहने हो भने के सरकार र बुख्याँचामा फरक छुट्टयाउन सकिएला त!

सरकार के चरा चुरुंगी जनावर धपाउन राखिने बुख्याँचा जस्तै मात्र हो र जो सधै शक्तिको दुरुपयोग गरेर जनता तर्साइ तर्साइ आफ्नो भुँडी भर्ने,सरकार भएको भ्रम छर्ने जनता भकभोकै मर्ने! जनता चाहन्छन सरकार बुख्याँचा नबनोस!हामी सबैले मिलेर विपतको सामना गर्नु पर्छ।हामी सबै सचेत भयौं भने महामारी फैलिन बाट रोक्न सक्छौं सबै जिम्मेवार बनौं नागरिकले आफ्नो कर्तव्य नभुलौं सरकारलाई सल्लाह सुझाव र खवरदारी गर्न नछाडौं।घरमै बसौं आफु पनि बचौं र अरुलाई पनि बचाऊँ।अझै हामीले जनस्वास्थ्यको क्षेत्रमा गर्नु पर्ने धेरै काम छन।अहिले सम्म त केही भएकै रहेनछ भन्ने कोरोनाले अवगत गराएको छ।यो ठुलो चुनौति संगै अवसर पनि हो स्वास्थ्य क्षेत्रमा सुधार र विकासको।सरकारले हिम्मत गर्ने हो भने यो गतिलो मौका पनि हो स्वास्थ्य क्षेत्रलाई सरकारीकरण गर्ने।सधै आगो लागे पछि पोखरी खन्ने बानी परेका हामीले अब ढिलै भए पनि पोखरी खन्न अझै ढिला गर्नुहुदैन।नत्र न त जनता रहनेछन न त शासक नै।