सिंगो गाउँ ४ जनाका नाममा, स्थानीय भन्छन ‘लालपुर्जा नदेखेरै मर्ने भइयो

डोल्पा — त्रिपुरासुन्दरी नगरपालिका ५, फुल्चिङका चन्द्रलाल चलाउने ६९ वर्ष पुगे । अहिलेसम्म उनका नाममा एक टुक्रा पनि जमिन छैन । जग्गाधनी हुने उनको सानैदेखिको सपना पूरा हुने छाँट पनि देखिँदैन । ‘यो जिन्दगी त अँधियार भएरै बित्ने भयो,’ उनी भन्छन्, ‘लालपुर्जा नदेखेरै मर्ने भइयो ।’

फुल्चिङमा जग्गाविहीन उनी एक्लो होइनन् । गाउँका एक तिहाइ बासिन्दाको पीडा उनको जस्तै छ । उनीहरू अर्काका जग्गामा अधियाँ गर्न बाध्य छन् । ६५ घरधुरी रहेको फुल्चिङमा उनीजस्तै २३ घरपरिवार अधियाँमा काम गर्छन् । उनीहरूका नाममा एक टुक्रा जमिन छैन । ‘हामी दुःख गरी खेती लगाउँछौं, अन्न उब्जाउँछौं, जग्गाधनी आएर आधा लैजान्छन्,’ स्थानीय हिउँकली चलाउने भन्छिन्, ‘आफ्ना नाममा जग्गा भए त यस्तो हुने

जग्गाविहीन स्थानीयले अरूको खेतबारी जोत्छन् । अनाज फलेपछि जग्गाधनी आउँछन्, ६० प्रतिशत लैजान्छन् । बचेको अनाजले उनीहरूलाई ३ महिना पनि खान पुग्दैन । अनौठो त के छ भने फुल्चिङवासी अधियाँ गर्छन्, जमिन भने अर्कैका नाममा छ ।

सिंगो गाउँको जमिन त्रिपरासुन्दरी नगरपालिका १० (साबिक लिकु गाविस ४) का मोतीप्रसाद पहाडी, रत्नप्रसाद पहाडी, नारायण गिरी र रविलाल खत्रीका नाममा छ । २०५२ को नापीमा उक्त जग्गा चारजनाका नाममा दर्ता गरिएको छ । जग्गाधनीहरू गाउँ बस्दैनन् । त्यसैले उक्त जग्गामा मोही हक लाग्नुपर्ने स्थानीयको माग छ । ‘पुस्तौंदेखि कमाउँदै आएका छौं, अब त साहुले धेरथोर मूल्यमा दिए पनि हुन्थ्यो,’ स्थानीय लोकबहादुर चलाउनेले भने ।

पुस्तौंदेखि कमाउँदै आए पनि राजनीतिक रवाफ र देवीदेउताका आडमा लिकु गाउँकाले आफ्ना नाममा जग्गा दर्ता गरेको स्थानीयको भनाइ छ । मोही हक माग्न बारम्बार सम्बन्धित निकायमा गए पनि सुनुवाइ नभएको उनीहरू बताउँछन् । ‘गाउँमा बस्ती बसेदेखि नै हाम्रो पुस्ताले जग्गा कमाए, हकभोग भने साहुका नाममा छ,’ स्थानीय लालबहादुर चलाउनेले भने, ‘हामीले अब त हाम्रै नाममा जग्गा हुनुपर्‍यो भनेर माग गरे पनि कसैले सुन्दैन ।’ पुर्खाले बस्ती बसेदेखि हालसम्म थुप्रै व्यवस्था परिवर्तन भए पनि आफूहरूको पीडा नफेरिएको उनले बताए ।

२३ घरले खनजोत नगर्नेबित्तिकै उक्त जग्गा बेवारिसे हुन्छ । लिकुमा बसोबास गर्ने उनीहरू फुल्चिङ गएर बस्न सम्भव छैन । पूर्वमन्त्री मोतीप्रसादको त सदरमुकाम दुनैका साथै सहरतिर घरजग्गा छ । १० वर्षे सशस्त्र द्वन्द्वका बेला त माओवादीले मोहियानी हकअनुसार जग्गा उपलब्ध गराउने भन्दै प्रलोभन दियो । फुल्चिङ माओवादीको किल्ला बन्यो । थुप्रै युवा माओवादी विद्रोहमा होमिए । अहिले त्यही पार्टी सत्तामा हुँदा समेत माग सुनुवाइ नभएपछि निराशा छाएको स्थानीय राजबहादुर चलाउने बताउँछन् ।

भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ अनुसार लगातार २० वर्ष जग्गाधनीको जग्गा भोगचलन गरे स्वतः ५० प्रतिशत मोही हक कायम रहने व्यवस्था छ । यसका लागि भोगचलन गर्ने व्यक्तिले दफा २६ (घ) को २ अनुसार मोही हक कायम गराइपाऊँ भनी निवेदन दिनुपर्छ ।

जग्गा भोग गरेको पाइए तोकिएको सरकारी अधिकारीले फाँटवारी, उपलब्ध प्रमाण र गाउँ मुचुल्काका आधारमा जग्गाधनी र जग्गा कमाउनेबीच ५०–५० प्रतिशत हक कायम गरी बाँडफाँट गर्न सक्ने व्यवस्था छ । स्थानीयले यसका लागि पहल नगरेका होइनन् तर विशेष गरी पूर्वमन्त्री पहाडीको राजनीतिक शक्तिका आडमा यो प्रयास कहिल्यै सफल भएन ।

धार्मिक विश्वास
कान्तिपुरसँगको कुराकानीमा एक जग्गाधनीले उक्त जग्गा अधियाँ खानेलाई बेच्न तयार भए पनि देउताको कारण बेच्न नसकिएको बताए । जग्गाधनीले पुज्ने कुलुम्या बिजुलडाँडा मष्टा र बर्जमान देउताले दिन नमानेको उनले तर्क गरे ।

उनका अनुसार बस्ती बस्दाको समयमा लिकु गाउँबाट फुल्चिङ गाउँमा चलाउने थरका एकजना गएर बसेका थिए तर त्यहाँको जमिन भोगचलन गर्ने क्रममा उनको परिवारमा अशुभ भयो । बिजुलडाँडा र बर्जमान देउतासँग सोधनी गर्दा देउताको भनाइ आयो– उब्जनी भएको अन्नबाली सिक (प्रसाद) का नाममा चढाएर जग्गा पनि पुजारीका नाममा राख्नु । ‘त्यही कारण हामी यो जग्गा न बेच्न पाउँछौं, न त अरूलाई दिन मिल्छ,’ ती जग्गाधनीले भने ।