जापानमा बसोबास गर्दै आएका विदेशी बासिन्दाहरु परे अलपत्र

टोकियो । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने जापान सरकारको उपायहरुका कारण जापानमा बसोबासको अनुमति पाएका विदेशी नागरिकहरु विदेशमै अलपत्र परेका छन् । सरकारले विभिन्न देशहरुबाट आउने यात्रीहरुको आवागमनमा कडाई गर्नु अघि सीमापार गएका विदेशीहरु जापान आउन सकेका छैनन् ।महामारीका कारण विश्वभर देशहरुले सीमा पार गरेर

आउने यात्रीहरुको प्रवेशमा रोक वा प्रतिबन्ध लगाएका छन् । यसले गर्दा महामारी शुरुआती चरणमा भएको बेलामा विदेशिएका कयौं विदेशी नागरिकहरु विदेशमै अलपत्र परेका छन् भने जापानमा उनीहरुको करियर र जीवनयापन समेत संकटमा परेको छ ।घरपरिवारका सदस्यको मृत्यु भएर वा बिरामी परेर स्वदेश फर्किनै पर्ने

बाध्यकारी स्थितिमा परेकाहरुको अवस्था प्रतिबन्धले झनै खराब बनाएको छ । गए भने कहिले फर्किन नसक्ने वा निकै समय लाग्छ भन्ने द्विविधाबीच विदेशीहरु छन् । विदेश गएकाहरु पनि कहिले फकिर्न पाइएला भनेर दिन गनेर बस्दा बस्दै थाकिसकेका छन् ।भारत लगायत केही देशहरुले संक्रमण फैलिन नदिन आफ्नै नागरिकहरुलाई समेत स्वदेश फर्किन प्रतिबन्ध लगाएका छन् । धेरैजसो विकसित देशले भने स्थानीय बासिन्दाहरुलाई अत्यावश्यक बाहेक अन्य कामका लागि विदेश नजान आग्रह गरिरहेको भएपनि कानूनी मान्यता पाएर बसिरहेका विदेशी नागरिकहरुलाई भने क्वारेन्टाइनमा बस्ने शर्तमा यात्रा प्रतिबन्धमा छूट दिएका छन् ।

यसको विपरित जापानले भने अप्रिल ३ मा लागू गरिएको प्रतिबन्ध अन्तर्गत स्थायी बसोबास हैसियत भएका विदेशी नागरिक र तिनीहरुको जहान समेत गरेर सबै विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाएको छ । जापानले प्रवेशमा प्रतिबन्ध लगाएको देशहरुको सूचि बढाएर सयमा पुर्याएको छ । शनिवार देखि लागू हुने गरी गरिएको पछिल्लो अपडेटमा यूरोप, अफ्रिका र दक्षिण र ल्याटिन अमेरिकी क्षेत्रका १३ देश थपिएका छन् ।

नयाँ नियमअनुसार अप्रिल ३ पछि प्रतिबन्धको सूचिमा परेको देशतर्फ गएका सबैलाई निकट भविष्यसम्म प्रवेशमा रोक लगाइएको आप्रवासन सेवा एजेन्सी (आईएसए)को आगमन प्रक्रिया हेर्ने विभागका एक अधिकारीले बताएका छन् । अप्रिल अघि नै जापान छाडेका दीर्घकालीन हैसियत भएका, स्थायी बसोबासको अनुमति पाएका र तिनका जहानका साथै जापानी नागरिकको जहानलाई भने फर्किने अनुमति दिइनु पर्ने ती अधिकारीको भनाइ छ ।

यसको अर्थ वर्किङ भिसा वा अन्य भिसा हैसियतका विदेशी नागरिकहरुको अवस्था राम्रो छैन । देशभित्रको अवस्था कस्तो हुने हो सो अनुसार उनीहरुलाई केही समय पर्खन भनिरहेको अध्यागमन विभागका अधिकारीले बताएका छन् ।आईएसएका अनुसार सबै यात्रीहरुको छुट्टाछुट्टै स्क्रिनिङ गरेर निश्चित अवस्थामा पुनः प्रवेशको अनुमति दिन सकिनेछ । तर जापानले अहिलेसम्म यात्रीहरुले पूरा गर्नु पर्ने शर्त खुलाएको छैन ।

जापानले प्रवेशमा रोक लगाउनुको एक कारण भने महामारीका बेलामा विदेश गएर आएका अनि कोभिड–१९ को संक्रमण पाइएका जापानी नागरिकको संख्याले गर्दा हो । आफ्नो रणनीतिले कोरोना भाइरस नियन्त्रण गर्ने सरकारी रणनीतिलाई टेवा दिएको भन्दै आईएसएले आफ्नो नीतिको बचाव गरेको छ । यो नियमनले निकै धेरै अप्ठ्यारो सृजना भएको भएपनि यो सबै संक्रमण नियन्त्रण गर्न गरिएकोमा आईएसएका अधिकारीले जोड दिएका छन् ।प्रवेश निषेध कहिले समाप्त हुन्छ भन्नेबारे छाएको अनिश्चयले व्यवसाय मालिकहरुमा प्रत्यक्ष प्रभाव पार्ने चिन्ता छ । पछिल्लो नीतिका कारण जापानमा व्यवसाय गरिरहेका विदेशीहरु सञ्चालन बन्द गर्ने भन्ने द्विविधामा छन् ।

अहिलेको सबैभन्दा ठूलो समस्या प्रवेशमा रोक कहिले सकिन्छ भन्ने हो । यसले गर्दा सहकार्य गर्न र योजना बनाउन नै आप्रवासीहरुलाई गाह्रो भइरहेको छ । पछिल्लो स्थितिले अप्रिल ३ अघि नै जापान छाडेका गैर–जापानी बासिन्दाहरुमा समेत चिन्ता बढाएको छ । फर्किन नसकेमा जापानमा करियरको अवसर र वित्तीय अवस्था दुबै प्रभावित हुनेछन् । कस–कसले फर्कने अनुमति पाउने हो भन्ने विषयले पनि द्विविधा बढाएको छ ।प्रतिबन्धको सूचिमा नरहेको भारत लगायत देशका नागरिकहरुले जापानी अध्यागमन विभागबाट उल्टो खालको प्रतिक्रिया पाइरहेका छन् ।

अधिकारीहरुले सबै विदेशीहरुलाई केही समयको लागि जापान प्रवेशमा रोक लगाएको बताइरहेका छन् । विदेशमै अलपत्र परेपछि विदेशी नागरिकहरुले जापानी भिषा नवीकरण गर्न नपाएर भिसा हैसियत गुमाउने अवस्था छ ।गत हप्ता आईएसएले जुलाईमा समाप्त हुने भिसा अवधिमा तीन महिना थपेको छ । तर यसले जापानमा रहेकाहरुलाई मात्र समेटेको छ । जापान बाहिर भएकाहरुलाई छैन । सरकारको यो नीति विभेदकारी भएको र यसले कानूनी रुपमै जापानमा बसेर काम गर्ने गैर–जापानी कामदारको अधिकारको उल्लंघन गरेको विज्ञहरु बताउँछन् ।

सरकारको पछिल्लो नीतिले जापानी र कानूनी रुपमा जापानमा बस्ने अनुमति पाएको विदेशीहरु बीच स्पष्ट देखिने गरी भेदभाव गरेको छ । सरकारले नियमन संसोधन गरेर कानूनी रुपमा बस्ने अनुमति पाएका विदेशीहरुलाई प्रवेश गर्न दिनु पर्ने हैन भने पुनः प्रवेशको मापदण्ड स्पष्ट पार्नु पर्ने माग उठेका छन् ।नेपालका लागि भने जापान प्रवेशमा प्रतिबन्ध लगाइएको छैन । विभिन्न चार्टर उडानमार्फत नेपालीहरु जापान आइरहेका छन् । यसरी आउँदा सार्वजनिक सवारी प्रयोग गर्न पाइंदैन भने १४ दिनसम्म सेल्फ क्वारेन्टायनमा बस्नुपर्ने हुन्छ ।