यशुको नाउँमा कोरोना सन्चो पार्छु भन्ने पास्टर जेल चलान

२२ मे, २०२० । हरिजिज्ञासु,काठमाडौं,कास्की जिल्ला अदालतबाट गत बैशाख ३१ गते धरौटीमा रिहाइ हुने बित्तिकै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोल्पा लगिएका पास्टर केशब आचार्य डोल्पा जिल्ला अदालतबाट हिजो पूर्वपक्षको लागि कारागार चलान भएको डोल्पा जिल्ला प्रहरी कार्यालय दुनैका इन्सपेक्टर हरिराम डाँगीले जानकारी दिनुभएको छ ।

कास्की जिल्ला अदालतमा पेस गरेको बयान र उहाँको मोबाइल फोन भित्र रहेको फोटो र भिडियो अनुसार डोल्पा जिल्ला प्रहरी कार्यालयले प्रहरी प्रतिवेदन तयार गरी उहाँलाई कास्की जिल्ला अदालतबाट धरौटीमा रिहाइ हुने बित्तिकै अनुसन्धानको लागि कास्कीबाट डोल्पा लगेको थियो ।
डोल्पामा गएर सुसमाचार

सुनाएको फोटो र भिडियोको प्रमाण र पास्टर केशब आचार्यले कास्की जिल्ला अदालतमा दिएको बयानलाई आधार मानी धर्म परिवर्तनको आरोपमा डोल्पा प्रहरीले केशब आचार्य पुगेको गाउँमा पुगि धर्म परिवर्तन सम्बन्धी प्रहरी प्रतिवेदन तयार पारेको थियो ।

प्रहरी प्रतिवेदन अनुसार उजुरी जाहेरी गरेपछि उहाँलाई अनुसन्धान पश्चात धर्म परिवर्तन सम्बन्धी जिल्ला अदालत डोल्पामा मुद्दा दर्ता गरेकोले उहाँलाई हिजो पूर्वपक्षको लागि कारागार चलान गरेको इन्सपेक्टर हरिराम डाँगीले जानकारी दिनुभयो ।पास्टर केशब आचार्यलाइ प्रतिबादी र नेपाल सरकारलाई बादी बनाएर जिल्ला अदालत डोल्पा दुनैमा मुद्दा दर्ता गरिएको छ ।

स्मरण रहोस पोखरास्थित प्रशस्त कटनी मण्डलीका पास्टर केशब आचार्यलाई पोखरा महानगरपालिका २९ पावरहाउसबाट धर्मको नाममा कोरोनाको भ्रमात्मक सन्देश फैलाएको भन्दै कास्की प्रहरीले गत चैत्र ११ गते नियन्त्रणमा लिई आचार्य बिरुद्ध धर्मको नाममा अफवाह फैलाएको आरोपमा मुद्दा दर्ता गरेको थियो ।