राजश्व विभागद्वारा अर्बौँको बिगोसहित २८ कम्पनीविरुद्ध मुद्दा

काठमाडौं : राजश्व अनुसन्धान विभागले राजश्व छली गर्ने विभिन्न व्यक्ति तथा कम्पनीहरुलाई अर्बौँ रकमको बिगो सहित मुद्दा दायर गरेको छ । आइतबार विभागले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुमाथि मुद्दा दायर गरेको जानकारी दिएको हो ।

विभागका अनुसार झुट्टा तथा नक्कली सामान बिक्री गरी राजश्व छली गर्ने जयकिशोर साह र परमेश्वर साहसहित २४ वटा फर्मका संचालक समेतलाई १ अर्ब विगो दाबीसहित काठमाडौं अदालतमा मुद्दा दर्ता गरिएको हो ।

मुल्य अभिवृद्धि करको झुट्टा तथा नक्कली कर विजकको प्रयोग गरी राजश्व चुहावट गरेको भन्दै परमेश्वरलाई माघ ३ गते र जयकिशोरलाई माघ ४ गते पक्राउ गरी अनुसन्धान थालिएको थियो ।

उनीहरुले ज्याला मजदुरी गर्ने गर्ने व्यक्तिलाई प्रभावमा पारेर उनीहरुको नाममा कम्पनी खोली वास्तविक रुपमा मालबस्तुको खरिद विक्री कारोबार नै नगरी झुटो विजक जारी गरी राजश्व चुहावट गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभागका अनुसार उनीहरुले १ अर्ब ९ करोड १९ लाख ८१ हजार ९९३ राजश्व चुहावट गरेकाले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २ ९ छ १० बमोजिम १ अर्व ७५ करोड ४४ लाख १० हजार दुईसय तीस विगो कायम गरी सोही दफाको २३ (१) बमोजिम विगोको दोब्बरसम्म जरिवाना र तीनवर्षसम्म कैद सजाय मागदावी सहित अदालतमा मुद्दा दायर गरिएको छ ।

यसैगरी विदेशी विनिमय अपचलन तथा हुण्डीकारोबारी गोविन्द सुब्बा र इन्द्रनारायण लिम्बुलाई ३ करोड ६६ लाख विगो कायम गरी काठमाडौं जिल्ला अदालतमा आइतबारै मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागले रिलायन्स सब रेमिट प्रालिका संचालक गोविन्द सुब्बाले इन्दुनारायण लिम्बुसमेतको साझेदारीमा रिलायन्सफर्ममार्फत मलेसियाबाट नेपाल पठाउने र ल्याउने रकम नेपाल नल्याई नेपालमै एकठाउँबाट अर्को ठाउँमा पठाएको कारोबार देखाई विदेशी विनिमग अपचलन गरेको भन्दै दायर गरेको जनाएको छ।

राजस्व चुहावट गरेको कसुरमा दिपेश कुमार यादव समेत ८ जनामाथि १ करोड ४२ लाख ४५ हजार ७ सय ९१ बिगो माग दावी गर्दै काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

प्रतिबादी हनुमन्त शंकर चौभानले संचालन गरेको सिद्धि अर्नामेन्टबाट विल विजक र पैठारी गरेको प्रज्ञापनपत्र समेत नभएको सुन २३६।७६ ग्राम र चादी १८६२ ग्राम बरामद गरिएको विभागले बताएको छ ।