राजनारायणले घुस लिएको भिडियो नेकपाले अख्तियारलाई बुझायो

काठमाडौँ : अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिने क्रममा खिचिएको भिडियो सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अनुसन्धान टोलीलाई बुझाएको छ ।

आवश्यक प्रमाण बटुल्ने क्रममा बिहीबार सिंहदरबारस्थित संसदीय दलमा पुगेको अख्तियारको तीन सदस्यीय अनुसन्धान टोलीलाई नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले उक्त भिडियोसहितको पेन ड्राइभ र अन्य कागजपत्र बुझाएका हुन् ।
‘पाठकले चाँगुनारायण नगरपालिकास्थित इन्जिनियरिङ कलेजमा सञ्चालकसँग घुस लिँदा खिचेको भिडियो हामीलाई पनि प्राप्त भएको थियो’, नेम्बाङले अन्नपूर्णसँग भने, ‘अख्तियारको टोली आएपछि हामीले उक्त भिडियो र आवश्यक कागजपत्र अनुसन्धानका लागि बुझाइदिएका छौँ ।’

पाठकले इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटको विवाद मिलाइदिने भन्दै पटक पटक गरेर ७८ लाख रुपैयाँ घुस लिएका थिए । तर उनले घुस लिएर काम नगरिदिएपछि घुस दिने व्यक्तिहरुले नै भिडियो अख्तियार र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुसम्म पुर्‍याइ दिएका थिए ।
करिब चार महिना अघि नै उक्त भिडियो बुझाइए पनि दुई साता अघि मात्रै उक्त घुसकाण्डको रहस्य खुलेको थियो । घुसकाण्डमा मुछिएपछि पाठकमाथि महाअभियोग तयारी भएसँगै उनले आयुक्तबाट राजीनामा दिएका थिए ।

अख्तियारले मंगलबार मात्रै एकजना सहसचिवको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली गठन गरेको थियो । महान्यायाधीवक्ताको कार्यालयले राजीनामा दिएका आयुक्त पाठकमाथि अख्तियारले नै छानबिन गर्न सक्ने राय दिएको थियो । त्यसपछि अख्तियारको अनुसन्धान टोलीले छानबिनलाई तीब्र बनाएको हो ।