टीकापुर हत्याकाण्ड : रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

रेशम चौधरीलाई जन्मकैद भएपछि राजपाको आकष्मिक बैठक
काठमाडौँ : टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले निलम्बित सांसद रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाएपछि राष्ट्रिय जनता पार्टी नेपालको आकष्मिक बैठक अहिले बसिरहेको छ ।

२०७२ भदौ ७ गते एसएसपी लक्षमण न्यौपानेसहित ८ जनाको ज्यान गएको टीकापुर हत्यकाण्डमा रेशमविरुद्ध मुख्य अभियुक्तकारुपमा दर्ता गरिएको मुद्दा अदालतले दोषी ठहर गर्दै बुधबार जन्मकैद सुनाएको थियो ।

बैठकमा राजपा अध्यक्षमण्डलका संयोजक महेन्द्र यादवसँगै राजपा नेताहरु राजेन्द्र महतो र महन्थ ठाकुरसहित उपस्थित छन् । राजपाले टीकापुरमा घटनामा आफ्ना सांसद रेशमलाई राजनीतिक प्रतिशोध साँध्न फसाइएको भन्दै राजनीतिक मुद्दालाई अपराधिकरण गर्न नहुने अडान राख्दै आएको छ ।

नेकपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने घुर्की राजपाले लगाएपछि केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा सभामुख कृष्णबहादुर महराले रेशमलाई सांसद पदको सपथ खुवाएका थिए ।
कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी रेशमले अदालतमा आत्मसमर्पण गरेका थिए । त्यसपछि कारागार पठाइएका उनले त्यहीँ अनशन गरेपछ काठमाडौँ ल्याइएको थियो ।

सांसद पदको सपथ खुवाएपछि रेशमलाई हाल काठमाडौँस्थित डिल्ली बजार कारागारमा राखिएको छ । बुधबार कैलाली जिल्ला अदालतले रेशमसहित ११ जनालाई जन्मकैदको सजाय सुनाइसकेको छ।

धनगढी : कैलालीको टीकपुरमा ७ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको छ ।

जिल्ला अदालत कैलालीले हाल सांसदको पनि सपथ खाइसकेका चौधरीसहित ११ जनालाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । यो घटनामा ३ जना अभियुक्तले सफाइ पाएका छन्। टीकापुर हत्याकाण्डपछि पक्राउ परेर हाल थुनामा रहेका १२ जनालाई २ देखि ३ वर्षसम्म कैद सजाय भएको छ

उनीहरु हाल कैलाली कारागरामै कैद भुक्तान गरिरहेका छन् । उनीहरुले अदालतबाट तोकिए बमोजिमको सजाय भुक्तान गरिसकेकाले रिहा हुने भएका छन् ।
टीकापुर हत्याकाण्ड : रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

टीकापुर हत्याकाण्डमा प्रहरीले ५८ जनाविरुद्ध कर्तव्य ज्यान, डाका चोरी र ज्यान मार्ने उद्योगको मुद्दा चलाएको थियो । ५८ जनामा २७ जना पक्राउ परिसकेका छन् । रेशमले भने अदालतमा पुगेर आत्मसर्मपण गरेका थिए । यो हत्याकाण्डमा संलग्न भनिएका ३१ जना अझै फरार रहेका छन् ।

के हो टीकापुर हत्याकाण्ड ?

स‌ंविधान निर्माण चलिरहेका बेला सुदूपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको नाममा आन्दोलन चर्किरहेको थियो । अर्कातिर त्यहाँका थारु समुदायले सुदूरपश्चिम तराईका कैलाली र कञ्चनपुर मिलाएर थरुहट प्रदेश बनाउन भन्दै आन्दोलन चर्काएका थिए

आन्दोलन चलिरहेका बेला थारु समुदायले कैलालीको टीकापुरस्थित सरकारी कार्यालयमा थारुवान प्रदेशको बोर्ड टाँस्न खोजेका थिए । त्यही क्रममा बोर्ड टाँस्न खोज्ने थारु समुदाय र अखण्ड सुदूरपश्चिम पक्षधरबीच तनाव चुलिइरहेका बेला २०७२ साल भदौ ७ गते टीकापुरमा ८ जनाको सामूहिक हत्या भएको थियो ।

सरकारी कार्यालयमा थारुवानको बोर्ड टाँस्न थारु समुदायका आन्दोलनकारीहरु टीकापुर पस्न खोजेको जानकारीका आधारमा सेती अञ्चल प्रहरी कार्यालयका तत्कालीन एसएसपी लक्ष्मण न्यौपानेसहितको टोली सुरक्षाका लागि तैनाथ भएको थियो ।

तर सशस्त्र प्रहरीसँगको समन्वय अभावमा आन्दोलनकारीको भिडलाई प्रहरीले रोक्न सकेन । प्रहरीले रोक्न नसकेपछि थारु समुदायको उत्तेजित भिडले प्रहरीमाथि आक्रमण गरेको थियो । आक्रोशित आन्दोलनकारीले प्रहरीको टोलीमाथि तरबार, भाला र अन्य घरेलु हतियारले आक्रमण गरेका थिए ।

त्यही क्रममा एसएसपी न्यौपानेसहित आठजना र एकजना दुधे बालकको आन्दोलनकारीले हत्या गरे । यो प्रकरणका मुख्य योजनाकार रेशम चौधरी रहेको खुलेसँगै उनी फरार भए । उनी लामो समय भारतमा लुकेर बसेका थिए । लामो समय भारतमा लुकेर बसेका उनी कैलाली १ बाट प्रतिनिधि सभामा विजयी भएसँगै आत्मसमर्पण गरेर हाल डिल्ली बजार कारागारमा छन् । उनले सांसद पदको सपथ पनि खाइसकेका छन् ।

घटनापछि मुख्य आरोपी भएको चर्चासँगै फरार भएका उनी भारतमै रहेर प्रतिनिधि सभाको चुनाव लडे । टीकापुरसहितको भूगोलबाट पाएको भारी मतले उनी प्रतिनिधिसभामा २० हजार ९ सय ३५ को फराकिलो अन्तरले निर्वाचित भए ।

आत्समर्पण गरेसँगै उनले कैलाली कारागारमै सांसद पदमा सपथ खुवाउनुपर्ने माग गर्दै अनशन बसे । अनशनकै क्रममा बिरामी परेपछि रेशमलाई काठमाडौँ ल्याइयो । काठमाडौँ ल्याएपछि उनलाई सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सदस्यको शपथ खुवाए । सपथ खुवाएपछि उनले प्रतिनिधि सभामा बस्न नदिइ जेल नै पठाइयो ।