काठमाडौं ।
चौतर्फी विरोध भएपछि सरकारले विदेशबाट नेपाली ल्याउन तोकेको भाडादर थोरै घटाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आंशिक संशोधनपछि अब विभिन्न प्रमुख श्रम गन्तव्य मुलुकको भाडा ५ हजारदेखि साढे ९ हजारसम्म घटेको छ ।
यसअघि नियमित उडानभन्दा चार गुणा बढी लिने गरी तय भएको भाडादर अब करिब तीन गुणाको तहमा ओर्लिएको छ । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्का हाल तय भएको भाडादर आफूहरुले प्रस्ताव गरेकै हाराहारीमा रहेको बताउँछिन् ।
‘हामीले प्रस्ताव गरेकै रकमको सेरोफेरोमा भाडादर स्वीकृत भएको छ,’ उनले भनिन् । सरकारले प्रमुख श्रम गन्तव्यहरुको उडानमा ४५ देखि ८० डलरसम्म मूल्य घटाएको छ ।
तर, अझै पनि समस्यामा परेका नागरिकलाई रहात दिनेखालको भाडादर तोकिएको छैन । सरकारले यसअघि भाडादर तोक्दा गैरजिम्मेवार भएर अन्यायपूर्ण तरिकाले चर्को भाडा तोकिएको यो निर्णयबाट स्पष्ट हुन पुगेको छ । यसअघि नेपाल एयरलाइन्सले प्रस्ताव गरेको भन्दा महँगो भाडा किन तय गरिएको थियो भन्ने मन्त्रालयले खुलाएको छैन ।
तर, अझै पनि न्यायपूर्ण भाडादर कामय भएको छैन । ओमानको नेपाली दूतावासले सलाम एयरमार्फत ३४ हजार रुपैयाँमा उद्धार गर्ने तयारी गरिररँदा ६२ हजार रहेको ओमानको भाडा घटाएर सरकारले करिब साढे ५५ हजार तोकेको छ ।
साउदीबाट फर्किनुपर्ने नेपालीले ६५ हजार देखि साढे ८३ हजारसम्म भाडा तिर्नुपर्ने भएको छ । दमाम, रियाद र जेद्दाको लागि फरक-फरक भाडादर तय गरिएको छ ।
दुबईको भाडा करिब साढे ४५ हजार तय भएको छ भने मलेसियाको साढे ५६ हजार । बहराइन र कतारबाट फर्किने अलपत्र कामदारले साढे ५९ हजार रुपैयाँ र ओमानबाट फर्किनेले साढे ५५ हजार रुपैयाँ भुक्तानी गरेपछि मात्रै टिकट पाउनेछन् ।
खाडी देश जोर्डलबाट फर्किन साढे ९३ हजार र कुवेतबाट फर्किन ६२ हजार खर्चिनुपर्ने छ । साइप्रसबाट फर्किने टिको मूल्य १ लाख तय भएको छ । कोरियाबाट आउन १ लाख ६ हजार रुपैयाँ तिरेर टिकट किन्नुुपर्ने छ ।
सरकारले जापान, बैंकक, हङकङ, बंगलादेश र भारतको भाडादर यथावत राखेको छ । अष्ट्रेलियबाट फर्किन १ लाख ९५ हजार भाडादर तोकिएको छ ।
भाडादर घटेपछि पनि विशेष गरी विदेशमा अलपत्र कामदारहरुले यसको विरोध गरिरहेकै छन् ।
बहराइनबाट शवि केही भन्छन्, ‘यो त अति नै लाजमर्दो कुरा भयो, हामी समस्यामा परेर ३/४ महिनादेखि खाने पैसा नभएर दूतावासमा नाम दर्ता गराएर राहत लिइरहेका छौं, अनि सरकार कसरी यत्रो महंगो टिकट खरिद गर्ने ?’
हेर्नुहोस् सरकारले तोकेको नयाँ र पुरानो भाडादर