दक्षिण कोरिया अमेरिकाको नोकर हो – उत्तर कोरिया

सोल – उत्तर कोरियाले दक्षिण कोरियालाई अमेरिकाको नोकर भएको आरोप लगाएको छ ।

शुक्रवार एक प्रोपोगाण्डा पम्प्लेट सार्वजनिक गर्दै उत्तर कोरियाले दक्षिण कोरिया माथि यस्तो आरोप लगाएको हो ।

कोरियाली प्रायद्वीपमा दशकौबाट भइरहेका द्वन्द निरुपण गर्न निर्णायक भुमिका नखेलेको तथा उत्तर दक्षिण सम्बन्धका बारे निर्णय लिन अमेरिकाको ईशारा पर्खिएको बताउदै उत्तर कोरियाले दक्षिणलाई अमेरिकाको नोकर भनेको हो ।

उत्तर कोरियाली रेडियो स्टेशन टङ्गील भ्वाईसले उत्तर कोरियासँगका हरेक रणनीति निर्माणमा । दक्षिण कोरियाले अमेरिकाको सहयोग लिने गरेको आरोप समेत लगाएको छ ।

उत्तर कोरियाली सञ्चार माध्यमले यदि दक्षिण कोरियाले दुई कोरिया विचको सम्बन्ध निर्माणमा अमेरिकाको बुई चढ्दै गइरहेमा उसलाई गाली गर्नुको विकल्प नरहेको समेत स्पष्ट पारेको छ ।

उत्तरले भनेको छ , यदि यो कदम दक्षिणले नसच्याए उसलाई सम्पुर्ण कोरियाली जनताको श्राप लाग्ने छ । पछिल्ला दिनहरुमा दुई कोरियाको सिमा क्षेत्रमा उत्तर कोरिया विरुद्ध पर्चावाजी गरिए सँगै उत्तर कोरिया रुष्ट बनेको छ ।

उसले सोही घटनाका कारण दक्षिण सँगको सूचना केन्द्रलाई बन्द मात्र गराएन , ध्वस्त नै बनायो भने पछिल्ला दिनहरुमा सैन्य गतिविधि पनि बढाएको छ ।