दक्षिण कोरियामा कोरोनाको श्रोत युरोप र अमेरिका

सोल

कोरोना संक्रमितहरुको संख्यालाई शुन्यमा झारेर आर्थिक गतिविधिलाई सकृय बनाएको दक्षिण कोरियामा पछिल्लो पटक संक्रमणले तिव्रता लिएको छ ।

दक्षिण कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले सोमवार बताए अनुसार हाल फैलिईरहेको कोरोना भाईरसको मुख्य श्रोत युरोप र अमेरिका हुन् । केन्द्रले ति क्षेत्रबाट आएका संक्रमितहरुमा चीनका संक्रमितहरु भन्दा छ गुणा बढी कडा भाइरस भएको समेत बताएको छ ।

केन्द्रका अनुसार युरोप तथा अमेरिकामा फैलिएको कोरोना भाईरस जीएच समुह अन्तरगत रहेको र दक्षिण कोरियामा समेत ति क्षेत्रबाट आएका मानिसमा सोही समुहको भाइरस फेला परेको छ । उक्त समुहको भाइरस दक्षिण कोरियाले गत अप्रिल महिनामा अध्यागमन नितिमा कडाइ नगर्दै कोरिया प्रवेश गरेको हुन सक्ने केन्द्रले बताएको छ ।

केन्द्रका अनुसार उक्त समुहको कोरोना भाइरस पहिलो पटक उत्तरी ग्योङसाङ प्रान्तमा पाइएको थियो र पछि गएर उक्त भाइरस समुह स्तरमा समेत फैलिएको थियो । पछिल्लो पटक उक्त समुहको भाइरस राजधानी सोलमा समेत पाईएको थियो ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई S, V, L, G, GH र GR समुहमा विभाजन गरेको छ । विश्व स्वास्थ्य संगठनको स्विकृति प्राप्त संस्थाले गरेको एक अध्ययनमा कुल ५२६ नमुना मध्ये ३३३ वटा नमुना जिएच समुह अन्तरगत रहेको पाइएको छ । यो कुल संख्याको ६३.३ % हो ।

हाल सम्म दक्षिण कोरियामा कोरोना संक्रमितहरुको संख्या १३१३७ पुगेको छ भने संक्रमणकै कारण २८४ जनाले ज्यान समेत गुमाइसकेका छन् । रोग तथा प्रकोप नियन्त्रण केन्द्रका अनुसार संक्रमित मध्ये ९०.२ प्रतिशत अर्थात ११८४८ जना स्वास्थ्य लाभ गरि घर फर्किसकेका छन् भने करिव १००५ जना आइसोलेशनमा उपचाररत रहेका छन् ।

दक्षिण कोरियाले हाल सम्म १२,९७,३६७ जनाको कोरोना परिक्षण गरेको छ भने २१३९२ जनाको परिक्षण रिपोर्ट आउन बाँकी छ ।HOTPATI