कोरियामा दोस्रो न्वारन

विमल सिटौला

सुन्दा पनि खित्तित् हाँसेको थिएँ म। नहाँसू पनि कसरी ? रमेशलाई रामेशू भनेको सुन्दा। रुपेशलाई रुपेशू भनेको सुन्दा। उमेशलाई उमेशू र सन्देशलाई सन्देशू भनेको सुन्दा।

त्यही बखत मैले एक लख काटेको थिएँ, ‘उँम्, यिनीहरूले सबै नामपछाडि तलकुरे झुन्ड्याउँदा रहेछन्।’ पछि मात्र थाहा पाएँ, मेरो त्यो लख पनि गौण पो रहेछ। मेरो हाँसोको फोहोरा झन् भयंकर भएर आयो जब मैले आत्मीय अर्जुनलाई ‘आजन’ भनेको सुनेँ।

तब मात्र म सतप्रतिशत फेल खाएँ मेरो ठहरमा। त्यो पनि सातौंचोटि घोकाउँदैबोकाउँदै रे। एकमनले त सोचेँ, ‘यी मनुवाहरूले छद्मवेश त गरेका हैनन् ? कस्ता प्रमादी मनुवाहरू !’

अर्जुन बिस्तारै भन्छ, ‘अर्जुन।’ मनुवा भन्छ, ‘अन्जुन ?’ ऊ अब हात हल्लाउँदै बोलीको सघनलाई स्पष्ट पार्छ, ‘अर–जुन।’ मनुवा सायसपूर्वक ओठ चलाउँछ, ‘अयरजुन ?’ धन्न ऊ अझैसम्म झिँझिएको देखिँदैन। काले, जंघे, बिरे र धनेको फेला पर्नुपर्छ। निमेशमै राइतालो मच्चिनेथ्यो। अर्जुन त पिउरीजस्तै हल्का भएरै मात्र हो।

फेरि मनुवालाई मानमिजास पनि राख्नै पर्यो। नत्र त जतिखेरै ताना दिन माहिर छन मनुवाहरू। अलमस्ती बनेर सुइँकुच्चा ठोक्न पनि भएन। पछिपछि त ऊ पनि मनुवाले निचोरनाचोर वा कनीकुथी उच्चारण गर्दा हाइसन्चो मानिरहन्छ। आफ्नो शिर हजुरहजुर भन्दै आकाश र जमिनतिर हल्लाइरहन्छ। उसलाई पनि त औहाडा हुन्छ नि आफ्नो नाम शुद्धसँग उच्चारण नगर्दा। अतः निचोड निस्कन्छ उसको नामउपर, ‘आजन।’

नामकै विषयमा यत्रो रैला गर्नुभन्दा त अर्जुनले बरु त्यही नामलाई श्रेयस्कर मान्दै गाँठो कस्छ। मनुवा आफूलाई आत्मश्लाघा गर्दै कामतिर दौडिन्छ। अर्जुन दंगदास हुँदै पराई भूमिमा सर्वमान्य आफ्नो नविन नाम ‘आजन’ कण्ठ गर्दै पछयाउँछ मनुवालाई। अर्जुनले त्यो प्रातकालमा यति भन्दा म भने चैँ हाँसोसँगै विस्फोटित आवाजलाई हातको ढाल बनाएर जबरजस्त थुन्ने चेष्टा गर्छु।

साजन। अर्को एक मित्रको नाम। बढो मृदु मुस्कान दिँदै कार्यस्थलमा त्यो बिहान पहिलोचोटि प्रवेश गर्छ। साजन आमोदित भई आधा जिउ निहुराउँदै काम शुरू गर्न तम्सिन्छ। शुरूमा अलि दहकस मान्दै एक अधबैँसे कोरियनले कुनाको एक सन्दुक खोल्दै कपडाका पन्जा र नाकमुख ढाक्ने सेतो माक्स दिँदै सोध्छ, ‘इरुमी म्वया ?’ (नाम के हो ?)

साजनले एकै हरमा भन्छ, ‘अधिकारी साजन।’ मलाई लाजसँगसँगैको मिश्रित हाँसोले एकैचोटि छोप्न शुरू गर्छ। बरु लाज पचाइएला तर हाँसो दबाउन मुस्किलथ्यो त्यहाँ। मुन्टो हल्लाउँदै र चेहरा बिगार्दै कोरियन उल्टै प्रश्न गर्छ रे, ‘स्याछन् ?’

बाफ्रे ! मेरो हाँसोको फोहोरा कहाँ रोकिन्थ्यो र ? नेपाली नामलाई एकैछिनमा रेगिस्थिनी नाम बनाइदिँदा। नामको के हर्जो छ र यहाँ ? मभित्र झन् परिहास उत्पात हुँदै अन्तस्करणबाटै अचाक्ली चुलिएर आयो। अनि फुत्त मुखबाट उफ्रियो दिल्लगीरूपी फोहरा। मैले जब्बरजस्त मुख छोपेँ र सुँक्क गरी आफूलाई एकैछिन ढाकछोप गराएँ। ‘प्रभु छिटै मोचन मिलोस्।’ मैले मनमनै याचना गरेँ।

प्रश्नोत्तरझैँ दोहोरी चल्छ रे त्यहाँ। अधबैँसे कोरियन त च्याठिँदै थर्काउँछ रे। सुइजन मिल्यो ? माजन मिल्यो ? मिलेन हजुर। स्याजन ? त्यो त झन् कहाँ मिल्नु र बाबै ! नाम त कसै गर्दा मिल्दै मिल्दैन् रे। अहँअहँ गर्दै साजन टाउको हल्लाउँदै हाँस्छ रे मुसुमुसु। घरीघरी साजन उतिर हेर्छ रे, झन्झन् बेस्सरी बेस्सरी हाँसो उठ्छ रे। साजनले पहिलो दिन यति भनेपछि म मुख थुनेर फन्नक अर्कोपट्टि फर्कन्छु र शौच गर्न भन्दै दगुर्छु। एक घण्टापछि संयोगबस शौचलयमा जम्काभेट हुँदा सोधिहाल्छु खुसुक्क, ‘नाम के जुर्यो साजन ? ऊ परिहासले बेरिदै भन्छ, ‘आजन रे आजन।’

म ट्वाँ पर्दै सम्झन्छु। सजम त कोरियन शब्द पनि हो नि। किन कन्जुस गर्छन् उच्चारण गर्न। हेतुवाद यस्तो भन्थ्यो, ‘सजम सक्नेले साजन किन नसक्ने ?’ अरे ! अर्जुनको पनि नाम आजन अनि साजनको पनि नाम आजन। हैन के पारा यो ? कोरियनहरूका नाम हामी त स्पष्टसँग उच्चारण गर्छौं त। ‘किम जङ उन’, ‘किम ह्यन हो’, ‘ऊ छल यन’ , ‘फाक सङ गील। के यिनीहरू सबैलाई एउटै नाम राख्दा मिल्छ ? राखिदिऊ खिमच्वा ? हरे शिव ! कसरी सपारुँम बिग्रिएको नाम !

कहिलेकाहीँ नामहरूको कन्तबिजोक देख्दा यस्तो लाग्छ कि बरु छदम गर्दै सजिलो नाम भनिदिऊँ जस्तै, काका, दादा, मामा, आमा। फेरि अर्को मनले त्यो नै राखिहाल्न कहाँ सक्छ र ? हैट हुन्न। यस्ता पवित्र नामहरू अपभ्रंश भए भने कस्तो गति होला ! झन् कस्तो सुनिएला ? काकालाई खाखा, दादालाई राधा, मामालाई जामा, आमालाई रामा। अंग्रेजहरूले सही उच्चारण गर्न सक्ने गोर्खाली नामहरू कोरियनको कण्ठमा चै किन नसुहाउने ? हैन नेपाली नामहरू मात्र हिन्दोल गर्छन् कि अरू पनि छन् यस्ता। मलाई त शंकै लाग्छ।

ओलीलाई ‘खोली’ रे। राईलाई ‘लाई’ रे। पंगेनीलाई ‘पाखे’ रे। लामालाई ‘रामा’ रे। आचार्यलाई ‘अचार’ रे। राजवंशीलाई ‘फागंसि’ रे। गुरुङलाई ‘फुरुमा’ वा ‘खुरुमा’ रे। मानिसको सदियौें पवित्र थरमाथि यस्तो बठ्याइँ गर्न कोरियनहरू मात्र माहिर हुन्छन्। लिंगको यत्रो महत्व छ संसारमा। मतलबै छैन यिनीहरूलाई। विमललाई ‘विमला’ रे। नविनलाई ‘नविना’ रे। शुसनलाई ‘शुसना’ रे। सविनलाई ‘सविना’ रे।

यहाँ त लीलै छ साथी। पूर्वेली नाम पनि पश्चिमेली र अनेकमेली बन्छन्। शिवलाई ‘शिल्वा’ भन्दा। सन्दिपलाई ‘सन’ भन्दा। देवेन्द्रलाई ‘भेन’ भन्दा। चन्द्रलाई ‘चेन’ भन्दा। तपाईँ अझै आसर्जे मान्नुहोला। यस्ता थुप्रै नामहरू छन् मसँग। हरिलाई ‘हरिया’। प्रकाशलाई ‘फाक्का’ अनि ‘फुराकासुउई’ हुँदै ‘फाकाशु’ सम्म। कमललाई ‘खमरा’ हुँदै ‘खमरी’ वा ‘खामेल’ सम्म।

सागरलाई ‘स्याग’। बहादुरलाई ‘दुरा’। जवादलाई ‘जावे’। अर्को रसयुक्त कुरा त के छ भने एउटै नाम पनि फरकफरकको मुखमा पर्दा फरकफरक उच्चारण हुँदोरहेछ। कसैले ‘खुमा’ रे। कसैले ‘कुमारा’ रे। कसैले ‘कुमारु’ रे। बिचरो कुमारलाई।

यही सिलसिलामा एउटा कुरालाई पनि जोडेर नामको कुरा टुङ्ग्याइहालौं। कम्पनीमा पहिलोचोटि प्रवेश गर्दा रभसपूर्ण बनि रोजनामचा(कामको विवरण) लिन म पुग्छु। मलाई साथीहरूकै कुरा सुन्दा रनसंग्राम बन्छ जस्तै लाग्थ्यो। मेरो त्यो हाँसो क्रोधमा परिणत हुन्छ जस्तै लाग्थ्यो। मैले चतुर भएर बसेरा छाड्नुपूर्व गोजीमा कोरियन ठूला अक्षरमा मेरो शुद्ध नाम लेखेर घुसाइदिएको थिएँ।

मलाई मेरो नाममा गथासो गरेको मन नपर्ने भएरै हो मैले त्यसो गरेको। मलाई पूर्वानुमान भइसकेको थियो, मेरो नाम उनीहरूको मुखबाट कसरी पिङ खेल्छ भनेर। तेरो नाम चै के हो ?’ पुग्नेबित्तिकै त्यही अधबैँसे मसँग ठोक्किन आइपुग्यो। उसको अनुहार देखेपछि मलाई कुतकुत्याइहाल्यो हाँसोले। के को रिस्सिनु। हाँस्न पो थालेछु म त, माध्विले लठ्ठिएको मान्छेजस्तै। तथापि फ्याट्ट भनेँ, ‘बुद्धि पण्डित।’ संगैकी एउटी शेर्पिनी साथीले भनिन् उनको नाम, ‘फुटी शेर्पा।’ अति स्पृही बनी कोरियनले फेरि सोध्यो फुटीलाई।

विनम्र भई बताइन् उनले। म भयकंर हाँस्न थालेँ तब। फुटी हात मुखमा लग्दै कहिले मतिर त कहिले त्यही खरीसाउँलोतिर हेर्दै हिकहिक गर्दै गिल्लिन थालिन्। मलाई त परिहासको स्पन्दन छुटिसकेको थियो। उता दाहिनने हात पाइन्टको बगलीमा छिरिसकेको थियो। फ्याट्ट निकालेर आँखैसम्मुख राखिदिऊ झैँ झ्वाँक चलेको थियो कागजको चिर्कटो। पर्खिएँ मैले एकैछिन। कतै कैफत नगरी सुन्दर नामलाई कैलाशबास नपुर्याउने पो हो कि भनेर।सुनिसक्नु भएन मेरो नाम। झन् सुनिसक्नु भएन फुटीको नाम।

‘भोभो हजुर’ मैले बोल्दाबोल्दै हातले रोकेर एक हातले हत्तपत्त जेबबाट चिर्कटो फुत्त निकालेँ र दिएँ कैफियतलाई। धेरै सहज मान्दै उच्चारण गर्यो उसले। बुद्धिलाई फुटीमै पुर्यायो। फुटीको कहाँ पुरयायो पुरयायो। भन्दा पनि शरम लाग्छ। फुटी नाराज बनी त्यही नाममा रफत भई। म फुटीको नाममा रफत भएँ।