पेट खराब त दिमाग खराब

स्वास्थ्य

दिमागी स्वास्थ्यको पेटसँग खास सम्बन्ध हुन्छ । यो कुरा डिप्रेशनको उपचार गर्नेलाई भन्दा अरु कसलाई थाहा होला ?

ब्रिटेनका मनोचिकित्सक डाक्टर जर्ज पोर्टर फिलिप्सले पछिल्लो शताब्दीको सुरुवाततिर यस्तै अनुभव गरेका थिए ।

एक दिन डा. फिलिप्स लण्डनको बदनाम अस्पताल बेथलहम रोयल अस्पतालको अनुगमनमा गएका थिए । यो अस्पताल यसकारण बदनम थियो की यस अस्पतालमा मनोरोगी राख्ने गरिन्थ्यो । यसले गर्दा यो अस्पताल पागलखानाको नामले कुख्यात भएको थियो ।

अनुगमनका क्रममा डा. फिलिप्सले यो महसुस गरे कि दिमागी समस्याको शिकार उनका विरामीहरुमा प्रायः कब्जियत, पेट पोल्ने, अपच जस्ता समस्या रहेको थियो । त्यस्तै, उनीहरुको नङ लामो हुनुका साथै कपाल फुस्रो तथा अनुहार रुखो थियो ।

सामान्यतया, यस्ता विरामीलाई हेरेर यो अनुमान लगाइन्छ कि यस्ता मानिसको मन शान्त नभएका कारण यिनीहरुको मानसिक अवस्था पनि ठिक हुँदैन र हुलिया पनि ठिक हुँदैन । तर डा. फिलिप्सको दिमागमा भने अर्कै प्रश्न खेल्न थाल्यो । उनलाई लाग्यो, यिनीहरुलाई डिपे्रसन हुनुमा कतै पेटको खराबी त मुख्य कारण हैन ? ‘पेटको उपचार गरेर के यिनीहरुको डिप्रेसनको समस्या कम गर्न सकिन्छ ?’, उनले सोच्न थाले ।

दिमागसँग पेटको सम्बन्ध

दिमागसँग पेटको सम्बन्धबारे पत्ता लगाउने उद्देश्यले डा. फिलिप्सले १८ जना विरामीमा एउटा प्रयोग गरे ।

उनले विरामीको खानामा माछालाई छोडेर सबै किसिमको मासु हटाइदिए । त्यसको सट्टा उनले ‘के’ नामक फर्मेन्टेड दूध दिए ।

यो दूधमा ल्याक्टो भेसिलस नामक किटाणु हुन्छ, जुन पेटको लागि फाइदाजनक मानिन्छ । भनिन्छ, ल्याक्टो भेसिलस व्याक्टेरियाले खाना पचाउन सहायता प्रदान गर्छ ।

डा. फिलिप्सको यो प्रयोग सफल भयो । जुन विरामीहरुमा उनले यो अनुसन्धान गरेका थिए, त्यसमध्ये एघार जना पूर्णतया निको भए । थप दुई विरामीको दिमागी हालतमा निकै सुधार देखियो ।

यो नै पेटको सम्बन्ध मस्तिष्कसँग हुन्छ भनेर पुष्टि गर्ने पहिलो अनुसन्धान थियो ।

हाम्रो आन्द्रामा भएका अर्वौ व्याक्टेरिया हाम्रो स्वास्थ्यसित गहिरो रुपमा जोडिएका हुन्छन् । यसको सम्बन्ध हाम्रो मानसिक स्वास्थ्यसित पनि हुन्छ । यो कुरा मान्नलाई मात्र विश्वले एक शताब्दी लगायो । डा. फिलिप्सको अनुसन्धानलाई पछिल्लो पुस्ताले स्वीकार गरेनन् ।

तर अहिले आन्द्राको व्याक्टेरियाबारे अनुसन्धान गरिरहेका सम्पूर्ण अनुसन्धानकर्ताले डा. फिलिप्सको अनुसन्धानलाई नै मान्यता दिन थालेका छन् । उनीहरुको विश्वास छ, पेटको व्याक्टेरियासित हाम्रो मानसिक स्वास्थ्यको प्रत्यक्ष सम्बन्ध छ ।

के भन्छ, अनुसन्धान ?

क्यानाडाको म्याकमास्टर विश्वविद्यालयकी प्रोफेसर जेन एलिसन फोस्टर भन्छिन्, पेटको व्याक्टेरियाले दिमागमा गहिरो प्रभाव पार्छ भन्ने कुरामा कुनै विवाद छैन । अर्थात, पेटको व्याक्टेरियाको उपचार गरेर हामी दिमागको उपचार गर्न सक्छौं । यससित सम्बन्धित नयाँ औषधीको विकासबारे अपार सम्भावना देखिएको छ’ ।

जेन एलिसन भन्छिन्, विभिन्न कारणले दिमागमा तनाव उत्पन्न हुन्छ । पेटमा समस्या हुनु त्यसमध्यको एक कारण हुनसक्छ ।

जो व्यक्तिलाई पेट सम्बन्धि कुनै न कुनै समस्या हुन्छ, त्यस्ता व्यक्तिको पेटको उपचार भएमा दिमागले पनि राहत महसुस गर्छ ।

यसै विषयसित सम्बन्धि चर्चित अनुसन्धान सन् २००४ मा जापानको क्यूशू विश्वविद्यालयमा भएको थियो ।

यसको लागि उक्त विश्वविद्यालयमा यस्तो मुसा पालिएको थियो, जसमा एउटा पनि व्याक्टेरिया थिएन । यी मुसाहरुमा कार्टिकोस्टेरोन तथा एसिटीएच नामको हर्मोनमा निकै उतारचढाव देखियो ।

यस्तो समस्या तब हुन्छ, जब तनाव हुन्छ । यसबाट के निष्कर्ष निकालिएको थियो भने अन्य मुसाको पेटमा रहेको व्याक्टेरियाले उनीहरुको मानसिक स्वास्थ्य तथा दिमागलाई सन्तुलित अवस्थामा राखेका थिए ।

यी मुसाको पेटबाट व्याक्टेरियालाई निकालेर उक्त व्याक्टेरियालाई किटाणु रहित मुसामा हाले । नतिजा यो आयो कि पहिले सबैभन्दा तनावमा देखिने किटाणु रहित मुसाहरुमा तनाव कम हुँदै गयो ।

यो अनुसन्धानबाट के पनि पत्ता लाग्यो भने मुसाबाट मानिसमा वा मानिसबाट मुसामा व्याक्टेरिया प्रत्यारोपण गरिएमा पनि त्यसको असर मानसिक स्वास्थ्य तथा दिमागमा देखिने गर्छ ।

आन्द्रा र दिमागबीचको संवाद

किटाणुको केही प्रजातीले आन्द्राको पर्खाललाई सुरक्षा प्रदान गर्छन् । जसलmे गर्दा आन्द्रामा रहेका तत्व रगतमा मिसिन सक्दैनन् । अन्यथा, पेट खराब हुनु , पेटमा जलन हुनु तथा पेटको संक्रमण हुनसक्छ ।

यो पनि भनिन्छ, कि आन्द्राको पर्खाललाई सुरक्षा प्रदान गर्ने व्याक्टेरिया मुड खराब तथा शरीरमा आलस्यको कारक बन्न सक्छन् । लामो समयसम्म यो समस्या रहिरहेमा विरामी डिप्रेसनमा पुग्न सक्छ ।

आन्द्रामा पाइने व्याक्टेरियाले डोपामाइन तथा सेरोटोनिन जस्ता हर्मोन पचाउन पनि मद्दत गर्छन् ।

त्यसबाहेक, भेगस नामको तन्त्रिकामार्फत दिमागले आन्द्राको काजकाजलाई नियन्त्रित गर्छ । भेगस तन्त्रिका मार्फत नै आन्द्रा र दिमागको संवाद हुन्छ ।

वैज्ञानिकहरुका अनुसान भेगसको माध्यमद्धारा यदी दिमागले आन्द्रासम्म कुनै सन्देश पु¥याउन सक्छ भने आन्द्राको असर भेगसकै माध्यमद्धारा दिमाग सम्म पनि पुग्छ ।

जेन एलिसनका अनुसार दिमाग र आन्द्राको व्याक्टेरियाको सम्बन्धका बारेमा वैज्ञानिकहरुले लगातार अनुसन्धान गरिरहेका छन् । उनीहरुको विश्वास छ, डिप्रेशनको समस्या कम गर्न आन्द्राको व्याक्टेरियाले अवश्य कुनै मार्गदर्शन गर्छ ।

मानव आन्द्रासित सम्बन्धि उपचार

हाल डिप्रेशन कम गर्न दिइने औषधी सबै मानिसहरुको लागि उपर्युक्त छैन । यो सबैका लागि प्रभावकारी नहुन पनि सक्छ । दश मध्ये दुई विरामीलाई मात्र यस्ता औषधी फाइदा गरेको पाइएको छ ।

त्यसैले, वैज्ञानिकहरुलाई लाग्छ कि दिमाग सित आन्द्राको व्याक्टेरियाको सम्बन्धबारे सुक्ष्म अध्ययन गरेर डिप्रशन जस्तो रोगको उपचार खोज्न सकिन्छ ।

तर डा. फिलिप्सले सन् १९१० मा गरेको अनुसन्धान होस् वा अहिलेका अनुसन्धान, यी सबै अनुसन्धान प्रारम्भिक चरणमा मात्र भएका छन् । त्यसैले, अहिले खानपानमा बदलाव गरेर डिप्रेसनको समस्या कम गर्नेबारे ठूलो अनुसन्धान हुन जरुरी छ ।

जेन एलिसनकै भनाईलाई सापटी लिने हो भने पनि प्रत्येक मानिसको आन्द्रामा भिन्नाभिन्नै किसिमको व्याक्टेरिया हुन्छ । त्यसैले, व्याक्टेरियाको प्रकृति अनुसार रोगको उपचार पनि फरक हुन्छ ।

त्यसैले , ती व्याक्टेरियाहरुलाई केही विभिन्न वर्गमा विभाजित गर्नु नै अहिलेको प्रमुख आवश्यकता हो । ताकी यस्ता विरामीका लागि एक किसिको उपचार पद्धतिको विकास गर्न सकियोस् ।

दिमागसँग आन्द्राको सम्बन्ध

अमेरिकी वैज्ञानिक जुलियो लिसिनियो पनि भन्छन् कि दिमागसित आन्द्राको सम्बन्धमा आधारित रहेर भविष्यमा विभिन्न अनुसन्धान गरिनेछ र डिप्रशनको उपचार खोज्ने कोशिश गरिनेछ ।

तर तत्कालका लागि भने चिकित्सकहरुको एउटै भनाई छ, खानपानको माध्यमबाट दिमागलाई स्वस्थ राख्न सकिन्छ । यसको लागि भूमध्य सागरको आसपासको देशहरुमा खाइने खानपानलाई अपनाउन सल्लाह दिइने गरिन्छ । यस किसिमको खानपानमा फलफूल, सागसब्जी, बदाम, समुद्री खाना तथा वनस्पतिको तेलको मात्रा धेरै हुन्छ भने रातो मासु र चिनीको उपयोग कम गरिन्छ ।

अष्ट्रलियाको डिकिन विश्वविद्यालयका फेलिस जैका भन्छिन्, ‘ दिमाग र खानपान बीचको गहिरो सम्बन्धलाई पुष्टि गर्न थुप्रै आकंडाहरु पाउन सकिन्छ । तथापी, हामीलाई चाहिने भनेको मनको शान्ती हो । र, मनलाई शान्त राख्न खानपानमा सुधार गर्नैपर्छ’ ।

बिबिसीबाट भावनुवाद