दक्षिण कोरियाको उल्सानमा अवस्थित ३३ तले भवनमा भिषण आगलागी,८८ जना घा’ईते !

सोल

दक्षिण कोरियाली शहर उल्सान स्थित एक ३३ तले अपार्टमेन्ट भवनमा बिहिबार राति भिषण आगलागी भएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार उक्त आगलागीमा परि दर्जनौको संख्यामा मानिसहरु घाइते भएका छन् ।

शुक्रवार बिहान सम्ममा आगलागीबाट भागेका तथा उद्दार गरिएका ८८ जना घाइतेहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । अस्पताल भर्ना गरिएकाहरु मध्ये अधिकांश सामान्य घाइते रहेका छन् ।

आगलागिमा परि कोही हताहत भए नभएको बारे स्पष्ट समाचार बाहिर आइसकेको छैन । समाचार अनुसार भवनको ८ देखी १२ तल्लाको बीचबाट आगलागी सुरु भएको हो ।

तिव्र गतिमा चलेको हावाका कारण आगो माथि माथि सम्म फैलिएको समाचारमा जनाइएको छ । हाल आगलागी पुर्ण रुपमा नियन्त्रणमा आए पनि भवनबाट कङ्क्रिटका टुक्राहरु सडक सम्म खसिरहेका कारण उक्त भवन बस्न योग्य भने नरहेको बताइएको छ ।

उद्दार टोलीले उक्त भवनमा रहेका ३८० परिवारको उद्दार गरेको थियो । आगलागी पश्चात भवन बस्न योग्य रहे नरहेको अथवा भवन भत्कने सम्भावना बारे अध्ययन भइरहेको समाचारमा बताइएको छ ।