स्वच्छ र सुरक्षित खाद्यपदार्थका लागि यी कुरामा ध्यान दिऔँ

स्वास्थ्य

नेपालमा कोरोना भाइरस संक्रमण फैलिरहँदा दसैँ, तिहार र छठजस्ता चाडपर्व सुरु भएको छ। परिस्थिति प्रतिकूल भए पनि चाड मनाउन घरैपिच्छे आवश्यक सामाग्री किनमेल गर्न थालिएको छ।

नयाँ लुगाफाटा र खाद्य सामग्रीको जोहो गर्न थालिएको छ। खासगरी खाद्य वस्तुको स्वच्छता तथा गुणस्तर नियमनमा ध्यान दिनुपर्ने केही पक्षबारे यहाँ चर्चा गरिएको छ।

उत्पादक तथा प्रशोधनकर्ताको भूमिका:खाद्यवस्तुका प्रारम्भिक उत्पादक किसान हुन् भने यी उत्पादनलाई प्रशोधन तथा मिश्रण गरी उपभोगका लागि तयार गर्ने पात्र प्रशोधनकर्ता हुन्। यी दुवैलाई कहिलेकाहीँ ‘उत्पादक’ भन्ने गरिन्छ। किसानले सागसब्जी, अन्नबाली, दूध, कुखुरा, आदि उत्पादन गरेका हुन्छन्।

यी प्रारम्भिक उत्पादनलाई प्रशोधन गरी क्रमशः अचार, पाउरोटी, बिस्कुट, पनिर, दही, ससेज, फ्रोजन मिट, आदि बनाउने गरिन्छ। किसानको तहमा उत्पादित भएका केही खाद्य स्वच्छताजन्य समस्याहरु जस्तैः तरकारी उत्पादनमा प्रयोग भएको किटनाशक विषादी, कुखुरा बिरामी हुँदा प्रयोग गरिएका औषधिका अवशेष प्रशोधनकर्ताले पूर्णरुपमा हटाउन सक्दैन।

यस्ता समस्याहरु खाद्य श्रृंखलाको प्रत्येक चरणमा अवशेषको रुपमा रही उपभोक्तासम्म पुग्ने गर्दछन्। यसरी, उत्पादन तथा प्रशोधनका प्रत्येक चरणमा हुने क्रियाकलापले खाद्यवस्तुको स्वच्छता तथा गुणस्तरमा असर पार्दछ। कृषिजन्य उत्पादनमा असल कृषि अभ्यास, पशुजन्य उत्पादनमा असल पशुपालन अभ्यास र खाद्य प्रशोधनमा असल उत्पादन अभ्यासजस्ता वैज्ञानिक पद्धतिहरुको अवलम्वन गरिएमा मात्र खाद्य श्रृंखलाको अन्तिम उत्पादन स्वच्छ र गुणस्तरीय बनाउन सकिन्छ।

सरकारले तोकेको गुणस्तर परिधिभित्र हुनेगरी खाद्यवस्तु उत्पादन गर्नु उत्पादकको जिम्मेवारी हो। उत्पादन भएको खाद्यवस्तुको लेबलमा सो वस्तुको भण्डारण तथा उपभोग गर्ने तरिका उल्लेख भएको हुनु पर्दछ। खाद्य ऐन २०२३ तथा नियमावली २०२७ ले प्याक गरिएको खाद्य पदार्थको लेबलमा उल्लेख गर्नु पर्ने भनी तोकिएमा विवरणहरु जस्तैः खाद्य पदार्थको नाम, उत्पादकको पुरा नाम, ठेगाना, सम्मिश्रण गरिएका कच्चा पदार्थहरुको विवरण, खुद तौल र नापको परिमाण, ब्याच नम्बर, उत्पादन मिति, उपभोग गरिसक्नुपर्ने मिति र प्रयोग गरिएको मिति आदि खुलाउनु पर्ने दायित्व उत्पादकको हो।

वितरक तथा बिक्रेताको भूमिका:उत्पादकले तयार गरेको खाद्यवस्तु विभिन्न तहका वितरक हुँदै उपभोक्तासम्म पुग्छन्। खाद्यवस्तुको भण्डारण, ढुवानी र विक्रिवितरण सही तरिकाले भएन भने त्यसको स्वच्छता तथा गुणस्तरमा ठूलो असर पर्छ। त्यसैले, कुन खाद्यवस्तुलाई कसरी ढुवानी, भण्डारण र बिक्रिवितरण गर्नुपर्छ भन्ने कुरा वितरक तथा बिक्रेतालाई जानकारी हुन जरुरी हुन्छ।

उदाहरणका लागि बिक्रिकक्षमा खाद्य पदार्थ राख्दा अखाद्य पदार्थको संसर्गबाट जोगाउनु पर्दछ। खाने तेलका प्याकेट वा फलफूको पेय घामको प्रकाश सीधा पर्नेगरी राखेमा चाँडै बिग्रने भएकोले शीतल वा घामको प्रत्यक्ष सम्पर्क नहुने स्थानमा राखेर बिक्रिवितरण गर्नु पर्दछ। दूध तथा दुग्धजन्य पदार्थ र माछामासु कोठाको तापक्रममा राख्दा चाँडै बिग्रन्छन्। यस्ता चाँडै बिग्रने खाद्यवस्तुहरु उत्पादन पश्चात् चिसोमा राखेर वा कोल्ड चेन कायम गरी बिक्रिवितरण गर्नु पर्ने प्रमुख जिम्मेवारी बिक्रेताको हो। त्यस्तै, उपभोग्य मिति समाप्त भएका खाद्यवस्तु छुट्याएर राख्ने, उत्पादक तथा नियमनकारी निकायलाई जानकारी दिएर सार्वजनिक रुपमा नष्ट गर्ने कर्तव्य पनि बिक्रेताको हो।

नेपालभित्र आयात, उत्पादन तथा बिक्रिवितरण हुने सबै किसिमका प्याक गरिएका खाद्य पदार्थहरुका भाँडाको बैरन वा आवरणमा खाद्य पदार्थको नाम, उत्पादकको पुरा नाम, ठेगाना, सम्मिश्रण गरिएका कच्चा पदार्थहरुको विवरण, खाद्य पदार्थको खुद तौल र नापको परिमाण, ब्याच नम्बर, उत्पादन मिति र उपभोग गरिसक्नुपर्ने मिति, प्रयोग गरिएको रंग र परिरक्षीको किसिम अनिवार्यरुपले खुलाउनु पर्ने कानुनी व्यवस्था गरिएको छ। यसका साथै, लेबलमा उल्लेख हुने विवरण नेपाली वा अंग्रेजी भाषामा हुनुपर्ने र यी दुई भाषाका अतिरिक्त अन्य कुनै भाषामा पनि विवरण खुलाउन चाहेमा खुलाउन सकिने भनी खाद्य नियमावली २०२७ मा उल्लेख गरिएको छ। यी विवरणहरु उल्लेख भएका खाद्यवस्तु मात्र बिक्रेताले बिक्रिपितरण गर्नुपर्छ। यदि यी विवरणहरु लेबलमा लेखिएका छैनन् भने आफ्नो पसलमा नराख्नु बिक्रेताको पनि कर्तव्य हो।

उपभोक्ताको भूमिका:उपभोक्ताले मूल्य तिरेर खाद्यवस्तु खरिद गर्ने भएकाले तिरेको मूल्यअनुसारको स्वच्छता र गुणस्तरको खाद्यवस्तु पाउने उसको अधिकार हो। उपभोक्ताले आफूले खरिद गर्ने खाद्यवस्तुको लेबल अध्ययन गरी लेबलमा सबै विवरण भए नभएको यकिन गरेर मात्र खरिद गर्नु पर्दछ।

चाडबाडको समयमा होटल तथा मिठाइ पसलमा कृत्रिम रङ प्रयोग गरी आकर्षक बनाइएका मिठाइ पनि धेरै खपत हुन्छ। यस्ता रंगिन मिठाइमा प्रयोग गरिएको रङ अखाद्य पनि हुनसक्छ। खाद्य रङ नै प्रयोग गरिएको रहेछ भने पनि त्यसको लागि तोकिएको अधिकतम सीमाभन्दा बढी भएको हुनसक्छ। त्यसैले, मिठाइ लगायतका अन्य रंगीचंगी खाद्यवस्तुको भरसक उपभोग नगरौँ, प्रयोग गर्नै पर्ने भए तोकिएको सीमा भित्र (बढीमा २०० मि.ग्रा. प्रति के.जी. तयारी खाद्य पदार्थ) हुनेगरी खाद्य रङ प्रयोग भएको यकिन गरेर मात्र प्रयोग गरौँ। धुवाँ, धुलो र फोहोर वातावरण तथा सडक पेटीमा बिक्रिवितरण गरिने खाद्य पदार्थ बढी जोखिमयुक्त हुने हुँदा यस्ता खाद्य पदार्थको खरिद तथा उपभोग नगरौँ।

बेमौसमी र आकर्षक फलफूल तथा तरकारीमा जीवनाशक विषादीको प्रयोग बढी हुनसक्ने सम्भावना भएकाले मौसम अनुसारका उत्पादन मात्र खरिद तथा उपभोग गरौँ। फलफूल र तरकारी उपभोगका लागि तयारी गर्नु वा काट्नुअगाडि सफा पानीले राम्ररी धोइपखाली गर्ने गरौँ। यसो गर्नाले जीवनाशक विषादीको अवशेषको कम हुन्छ।

माछा, मासु र अण्डा खरिद गर्दा ताजा र सफा ठाउँमा उत्पादन तथा भण्डारण गरिएको यकिन गरेर मात्र खरिद गरौँ। खाद्य वा अखाद्य रङ दलिएको तथा छाला सहितको मासु स्वास्थ्यको दृष्टिकोणले राम्रो हुँदैन। घुमन्ते व्यापारीसंग खरिद गरिएको खाद्य पदार्थमा गुणस्तर सम्बन्धी कुनै समस्या आएमा पीडित पक्षले कानुनी उपचार पाउन कठिन हुन्छ। त्यसैले, घुमन्ते व्यापारीसंग मह, दही, दूध, घिउ लगायतका खाद्य पदार्थ खरिद नगरौँ।

उपभोक्ताहरु संगठित भई कुनै गुणस्तरहीन ब्रान्डको खाद्य पदार्थलाई बहिस्कार गर्ने हो भने त्यो नै यस्ता खाद्यवस्तुका उत्पादकमाथिको सबैभन्दा प्रभावकारी कारबाही हो। उपभोक्ताको पक्षमा बहस र पैरवी गर्न विभिन्न संघसंस्थाहरु पनि खुलेका छन्। तिनीहरुले पनि उपभोक्ताहरुलाई संगठित गर्दै उनीहरुका अधिकारसम्बन्धी चेतना फैलाउने कार्य गर्न जरुरी छ। वास्तवमा उपभोक्ताहरु सचेत तथा संगठित भएमा खाद्यपदार्थमा हुने मिसावट तथा अन्य गलत क्रियाकलाप धेरै हदसम्म निरुत्साहित भएर जानेछन्।

सरकारी निकायको भूमिका:स्वच्छ र गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउने कार्यमा सरकारी नियमनकारी निकायको भूमिकालाई सबैभन्दा महत्वपूर्ण मानिन्छ। यी निकायहरुले उत्पादन, प्रशोधन तथा बिक्रिवितरणका सबै चरणहरुमा निगरानी गर्ने गर्दछन्। यी निकायहरुले उत्पादन तथा प्रशोधन स्थलको निरीक्षण, बजार अनुगमन, नमुना परीक्षण र कैफियत कार्य गर्ने उपर कानूनी कारबाही गर्ने गर्दछन्। यी कार्यहरु निरन्तर र नियमित रुपमा हुनु पर्दछ। सरकारी निकायबाट गरिने कानुनी कारबाहीको प्रक्रिया केही लामो हुने हुँदा ती निकायबाट भएका कार्यहरु उपभोक्ताले महसुस गर्नसक्ने गरी नभएका हुन सक्दछन्। ढिलै भए पनि गुणस्तरहीन खाद्यपस्तुका उत्पादक तथा बिक्रिपितरण गर्ने व्यवसायी कानुनी कारबाहीको दायरामा पर्ने गरेका छन्।

निष्कर्ष:खाद्य स्वच्छता र गुणस्तर कायम गर्ने कार्यमा उपरोक्त चार पक्षहरुबीच एक अर्कामा गहिरो अन्तर सम्बन्ध रहन्छ। एउटा उत्पादकले कुनै एक प्रकारको खाद्यवस्तु उत्पादन गरे पनि दैनिक आवश्यता पुरा गर्न उसले अर्को उत्पादकको उत्पादन माथि भर पर्नु पर्दछ। अथवा ऊ एउटा वस्तुको उत्पादक हो भने अर्को वस्तुको उपभोक्ता हो। त्यसैगरी, कुनै एक प्रकारको खाद्यवस्तुको बिक्रेता वा वितरक अर्को प्रकारको खाद्यवस्तुको उपभोक्ता होला। सरकारी नियमनकारी निकायमा काम गर्ने कार्यालय सहयोगीदेखि प्रमुखसम्म यही बजारमा बिक्रिवितरण हुने खाद्यवस्तुका उपभोक्ता हुन्।

वास्तवमा हामी जेजस्तो सामाजिक तथा आर्थिक हैसियतमा रहे पनि, जुनसुकै पेसामा आबद्ध भए पनि हामी सबैको खाद्य बजार एउटै हो। यदि यो बजार दुषित र मिसावटयुक्त भएमा यसको नकारात्मक प्रभावबाट हामी कोही बच्नसक्ने छैनौं। त्यसैले, खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने कार्यमा आ–आफ्नो स्थानबाट हुनसक्ने सकारात्मक भूमिका निर्वाह गरौं।

(विमलकुमार दाहाल वरिष्ठ खाद्य अनुसन्धान अधिकृत हुन्। उनी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवामा कार्यरत छन्।)