२३ असार २०८३, मंगलवार
Follow us :

बैंकबिना सिधै ऋण दिने–लिने प्रणाली अध्ययन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ‘पियर टु पियर (P2P) लेनदेन’ प्रणाली सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने भएको छ। आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति मार्फत व्यक्तिगत क्रेडिट स्कोरिङमा आधारित यो प्रणालीबारे अध्ययन गर्ने घोषणा गरिएको हो।

आर्थिक ब्युरो

नेपाल राष्ट्र बैंकले नेपालमा ‘पियर टु पियर (P2P) लेनदेन’ प्रणाली सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने भएको छ। आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत पहिलोपटक यो डिजिटल वित्तीय प्रणालीलाई औपचारिक रूपमा अध्ययन गर्ने घोषणा गरिएको हो। यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत व्यक्तिगत क्रेडिट स्कोरिङका आधारमा P2P प्रणाली नियमनसहित सञ्चालन गर्ने घोषणा गरेका थिए। अब त्यसलाई कार्यान्वयनतर्फ लैजान राष्ट्र बैंकले अध्ययन प्रक्रिया अघि बढाउने भएको हो।

P2P अर्थात् ‘पियर टु पियर’ प्रणालीमा बैंक वा वित्तीय संस्थाको प्रत्यक्ष संलग्नताबिना नै व्यक्ति–व्यक्तिबीच अनलाइन प्लेटफर्ममार्फत सिधै ऋण दिने र लिने व्यवस्था हुन्छ। यसमा डिजिटल प्लेटफर्मले ऋण चाहने र लगानी गर्न इच्छुक व्यक्तिलाई जोड्ने काम गर्छ।

यो प्रणालीको मुख्य आधार व्यक्तिगत क्रेडिट स्कोरिङ हुनेछ। क्रेडिट स्कोरिङमार्फत ऋण लिन चाहने व्यक्तिको आम्दानी, ऋण तिर्ने इतिहास, वित्तीय अनुशासन र जोखिमको मूल्यांकन गरिन्छ। त्यसकै आधारमा ऋणदाताले ऋण दिने वा नदिने निर्णय गर्न सक्छन्।

राष्ट्र बैंकका अनुसार यो व्यवस्था लागू भए बैंकसम्म सहज पहुँच नभएका व्यक्ति, साना व्यवसायी तथा बिना धितो छिटो ऋण खोज्नेहरूलाई ठूलो राहत मिल्न सक्छ। साथै, अनौपचारिक रूपमा हुने व्यक्ति–व्यक्तिबीचको ऋण कारोबारलाई कानुनी, पारदर्शी र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।

यस प्रणालीबाट ऋणदाताले बैंकको बचतभन्दा केही बढी प्रतिफल पाउने सम्भावना रहन्छ भने ऋणीले पनि सरल र छिटो प्रक्रियाबाट कर्जा प्राप्त गर्न सक्नेछन्। राष्ट्र बैंकले भने अध्ययनपछि आवश्यक कानुनी र नियामकीय व्यवस्था तयार गरी मात्रै यो प्रणाली कार्यान्वयनमा ल्याइने जनाएको छ।

२३ असार २०८३, मंगलवार २१:४१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०