२ माघ २०८२, बिहीबार
Follow us :

स्थानीय उत्पादनको बृद्धि: श्रीलङ्का टापुको गोलभेँडाले भारतीय आयात विस्थापित गर्यो

डेढ दशकअघि परबलको उत्पादन बढी हुने सुनसरीको श्रीलङ्का टापु क्षेत्र अहिले गोलभेँडा खेतीको मुख्य केन्द्र बन्दै गएको छ। यहाँका किसानहरू उन्नत जातका गोलभेँडा व्यावसायिक रूपमा उत्पादन गर्न थालेपछि स्थानीय बजारमा यसको माग उच्च हुन थालेको छ। हाल यो क्षेत्रबाट दैनिक १० टन गोलभेँडा धरान कृषि उपज बजार स्थलमा आपूर्ति भइरहेको छ।

कान्तिपुर प्रेस

डेढ दशकअघि परबलको उत्पादन बढी हुने सुनसरीको श्रीलङ्का टापु क्षेत्र अहिले गोलभेँडा खेतीको मुख्य केन्द्र बन्दै गएको छ। यहाँका किसानहरू उन्नत जातका गोलभेँडा व्यावसायिक रूपमा उत्पादन गर्न थालेपछि स्थानीय बजारमा यसको माग उच्च हुन थालेको छ। हाल यो क्षेत्रबाट दैनिक १० टन गोलभेँडा धरान कृषि उपज बजार स्थलमा आपूर्ति भइरहेको छ।

धरान कृषि उपज बजार स्थलका प्रबन्धक लक्ष्मण भट्टराईका अनुसार, श्रीलङ्का टापुमा बढ्दो गोलभेँडा उत्पादनले पूर्वी नेपालमा आयात हुँदै आएको भारतीय गोलभेँडालाई प्रतिस्थापन गरेको छ। “गत वर्षसम्म दैनिक पाँचदेखि १० टन भारतीय टमाटर आयात भइरहेको थियो, तर अहिले श्रीलङ्का टापुका किसानहरूले नै बजार आपूर्ति सम्भव बनाएका छन्,” भट्टराईले बताए। पहिला भारत र झापाबाट गोलभेँडा आयात गरिन्थ्यो, तर अहिले स्थानीय उत्पादनले नै माग पूरा गरिरहेको छ।

किसानहरूले विषादीको न्यून प्रयोग गर्दै अर्गानिक प्रविधिमा गोलभेँडा उत्पादन गर्न थालेकाले उपभोक्तामाझ यसको लोकप्रियता बढेको छ। धरान कृषि उपज स्थलमा दैनिक करिब १०० टन तरकारी कारोबार हुने गर्छ, जसमा गोलभेँडासँगै फूलकोपी, बन्दाकोपी, अकबरे खुर्सानी, बेसार, काँक्रा, इस्कुस, बोडी लगायतका उत्पादन समेटिन्छन्।

श्रीलङ्का टापुका कृषकहरू पहिले गहुँ, मकै, कोदो, बदाम, तरकारी, उखु, बेसार खेती गर्दै जीविका चलाउँथे। तर, गोलभेँडा खेतीबाट राम्रो आम्दानी हुने भएपछि व्यावसायिक रूपमा यसको खेती गर्न थालेका छन्। टापुका कृषक अनिल चन्द्रवंशीले एक बिघा क्षेत्रफलमा गोलभेँडा खेती गरी १० लाख रुपैयाँ आम्दानी गरेको बताए।

व्यापारीहरूले खेतमै पुगेर गोलभेँडा खरिद गर्ने भएकाले किसानहरूलाई बिक्रीमा सहजता मिलेको छ। स्थानीय उत्पादनको गुणस्तर उच्च भएकाले उपभोक्ताहरूको रोजाइमा पनि टापुका गोलभेँडा परेको छ। हाल श्रीलङ्का टापु क्षेत्रमा २० बिघाभन्दा बढी जमिनमा किसानहरूले गोलभेँडा खेती गर्दै आएका छन्।

गोलभेँडा खेतीका लागि कृषकहरूले मल्चिङ प्रविधि, बाँस, धागो, मल, विषादी, भिटामिन, र जोताइमा प्रतिबिघा करिब चार लाख रुपैयाँ लगानी गर्दै आएका छन्। कृषक रोशिक चन्द्रवंशीका अनुसार, यस्तो लगानीबाट १५ देखि २० लाख रुपैयाँ बराबरको गोलभेँडा बिक्री गर्न सकिन्छ।

कृषक अर्जुन चन्द्रवंशी, सत्यनारायण चन्द्रवंशी, रोशिक चन्द्रवंशी, प्रताप चन्द्रवंशी, लक्ष्मी चन्द्रवंशी जस्ता किसानहरूले व्यावसायिक गोलभेँडा खेती गर्दै आएका छन्। प्रारम्भमा प्रतिकेजी ८० रुपैयाँमा बिक्री भएको गोलभेँडाको मूल्य हाल प्रतिकेजी २० रुपैयाँसम्म झरेको छ।

वराहक्षेत्र नगरपालिका ६, ९ र बेलका नगरपालिका २, ३ मा पर्ने श्रीलङ्का टापु उर्वर भूमि भएकाले यहाँ कृषि तथा पशुपालन व्यवसाय फस्टाएको छ। टापुको अनुकूल हावापानीका कारण कृषकहरूले गोलभेँडा खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्दै लगेका छन्।

६ फाल्गुन २०८१, मंगलवार ००:३८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०