काठमाडौं । नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय गायिका प्रतिमा आर्याल र गायक रामकुमार नेपालीको स्वरमा सजिएको नयाँ लोकगीत ‘राप्ती’ सार्वजनिक भएको छ। मौलिक नेपाली परिवेश, प्रेम, भावना र गाउँघरको सांस्कृतिक सुगन्धलाई समेटेर तयार गरिएको यस गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गर्न थालेको छ।
गीतमा अशोक कुमार सापकोटाको शब्द रहेको छ भने सफिक्स मदनको संगीत तथा एरेञ्जले गीतलाई थप आकर्षक बनाएको छ। गोविन्द सोनीले मिक्सिङ तथा मास्टरिङ गरेको गीत एरिका डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो। गीतका शब्द र संगीतले नेपाली लोकसंस्कृतिको मिठासलाई आधुनिक प्रस्तुतिसँग जोड्ने प्रयास गरेका छन्।
गीतको भिडियो पक्ष पनि उत्तिकै सशक्त बनेको छ। लोकप्रिय कलाकार लोमश शर्मा र सन्चिता बोलाखेको अभिनय रहेको भिडियोमा प्रेम, भावना र ग्रामीण जीवनशैलीलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ। भिडियोको निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने राजाराम सिम्खडाको कोरियोग्राफीले दृश्यलाई थप आकर्षक बनाएको छ। दिनेश खनालको छायांकन तथा रोशन धितालको सम्पादन र रङ संयोजनले भिडियोको गुणस्तरलाई अझ प्रभावकारी बनाएको छ।
प्रतिमा आर्यालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘राप्ती’ गीतले नेपाली लोकसंगीतप्रेमीहरूलाई नयाँ स्वाद दिने विश्वास निर्माण पक्षले लिएको छ। उत्कृष्ट शब्द, संगीत, स्वर र दृश्य संयोजनका कारण यो गीत आगामी दिनमा दर्शक तथा श्रोताको रोजाइमा पर्ने अपेक्षा गरिएको छ।











