आगामी निर्वाचनको मिति नजिकिएसँगै ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको पक्षमा जनलहर उर्लिएको छ। यसैक्रममा महांकाल गाउँपालिका वडा नं. २ मानीखेलमा नेकपा एमाले र राप्रपा परित्याग गरी स्थानीय नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका सहमहामन्त्री एवं ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार उदयशमशेर राणाले नवप्रवेशीहरूलाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्।
कांग्रेस प्रवेश गर्नेहरूमा नेकपा एमाले निकट युवा सङ्घ मानीखेलका अध्यक्ष गजेन्द्र सिंगार, राप्रपा नेपालका काजी सिंगार, स्थानीय युवाहरू श्याम वाइबा, धर्म गोले, विवेक सिंगार र सुरेश वाइवा रहेका छन्। निर्वाचनको घोषणा भएलगत्तै यस क्षेत्रमा अन्य दल परित्याग गरी कांग्रेस रोज्नेहरूको संख्या ह्वात्तै बढेको छ, जसले उदयशमशेर राणाको चुनावी अभियानलाई थप ऊर्जा प्रदान गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री राणाले आगामी निर्वाचनलाई सामान्य प्रक्रिया मात्र नभई ‘देश बचाउने शक्ति’ र ‘अन्य शक्ति’ बीचको जनमत संग्रहको रूपमा व्याख्या गरे। फागुन २१ गतेको निर्वाचन देशको भविष्य तय गर्ने निर्णायक मोड भएको उल्लेख गर्दै उनले नेपाली कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेका कारण देशभर कांग्रेसप्रति आकर्षण बढेको दाबी गरे। राणाले युवाहरूको यो साथले क्षेत्र नम्बर १ को विकास र लोकतन्त्रको रक्षामा ठूलो बल पुग्ने विश्वास व्यक्त गरे।











