१३ आश्विन २०८३, मंगलवार
Follow us :

चाडपर्वलक्षित सहुलियत पसलमा छैन खाद्यान्न अभाव

चिनी र तेलको माग बढ्यो

कान्तिपुर प्रेस

काठमाडौँ, असोज १२ गते । दसैँ, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य खाद्यवस्तुको माग बढे पनि सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले आवश्यक खाद्यवस्तुको मौज्दात पर्याप्त रहेको जनाएका छन्।

चाडपर्वमा उपभोक्ताको माग बढ्ने अवस्थालाई ध्यानमा राखी दुवै संस्थाले बिक्री केन्द्रमा रहेको मौज्दात परिचालन गर्दै आपूर्ति व्यवस्थापन गरिरहेका छन्। केही क्षेत्रमा बाढीपहिरो र सडक अवरोधका कारण ढुवानी प्रभावित भए पनि तत्काल खाद्यवस्तुको आपूर्तिमा समस्या नरहेको उनीहरूको भनाइ छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार सहुलियत पसलमा अहिले चामल, चिनी र खाने तेलको माग बढी छ। अघिल्लो वर्षको तुलनामा चिनीको माग केही बढेको भए पनि अन्य खाद्यवस्तुको माग सामान्य अवस्थामा रहेको उनले बताए।

चाडपर्वका कारण माग थप बढे पनि कम्पनीसँग रहेको मौज्दात पर्याप्त रहेकाले तत्काल आपूर्ति समस्या नहुने मिश्रको भनाइ छ। कुनै बिक्री केन्द्रमा माग बढेमा उपलब्ध मौज्दातलाई आवश्यकताअनुसार परिचालन गरी आपूर्ति व्यवस्थापन गर्ने तयारी गरिएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत बिक्रीलाई दसैँ, तिहार र छठमा मात्र सीमित नगरी वर्षभरि सञ्चालन गर्ने व्यवस्था अघि बढाएको छ। कम्पनीले चालु आर्थिक वर्षदेखि ४४ जिल्लाका १९३ स्थानबाट दैनिक उपभोग्य खाद्यवस्तु बिक्री गरिरहेको छ। चामल, दाल, खानेतेल, चिनी, नुन तथा रैथाने खाद्यवस्तु बिक्री भइरहेका छन्।

कम्पनीका अनुसार चामल, दाल, तेल तथा रैथाने बालीलगायतका वस्तुमा प्रतिकिलो पाँच रुपैयाँसम्म छुट दिइएको छ। जिल्लागत मागका आधारमा बिक्री केन्द्रमा खाद्यवस्तु उपलब्ध गराउने व्यवस्था गरिएको मिश्रले बताए।

खाद्य कम्पनीले सबै बिक्री केन्द्रमा समान परिमाणमा खाद्यवस्तु पठाउनेभन्दा स्थानीय आवश्यकता र मागलाई आधार बनाएको जनाएको छ। बढी माग हुने स्थानमा मौज्दात परिचालन गर्ने र कम माग हुने स्थानमा अनावश्यक रूपमा खाद्यवस्तु थुप्रिन नदिने गरी वितरण व्यवस्थापन गरिएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनका बजार प्रबन्धक प्रज्ज्वल प्रधानका अनुसार चाडपर्वलक्षित सहुलियत पसलमा चिनी र खाने तेलको माग बढी छ। साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकामा १३ र उपत्यकाबाहिर २५ गरी ३८ वटा स्थायी बिक्री केन्द्र तथा तीनवटा घुम्ती भ्यानमार्फत सहुलियत मूल्यमा वस्तु बिक्री गरिरहेको छ।

साल्ट ट्रेडिङका बिक्री केन्द्रमा चिनी प्रतिकिलो पाँच रुपैयाँ छुटसहित १०० रुपैयाँमा बिक्री भइरहेको छ। नुनमा प्रतिकिलो दुई रुपैयाँ छुट दिई २४ रुपैयाँमा बिक्री भइरहेको छ। खानेतेल, दाल, चिउरा, आँटा तथा मैदामा प्रतिकिलो वा प्रतिलिटर सात रुपैयाँसम्म छुट दिइएको छ। चामलमा प्रतिबोरा २० रुपैयाँ तथा चियापत्ती र मसलाजन्य वस्तुमा पाँचदेखि १० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको प्रधानले बताए।

चाडपर्वका बेला चिनीको माग र मूल्य बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सरकारले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २५ हजार मेट्रिक टन चिनी एक प्रतिशत भन्सार छुटमा आयात गर्न स्वीकृति दिएको थियो।

साल्ट ट्रेडिङले उपत्यकाबाहिरका विभिन्न जिल्लामा पनि सहुलियत मूल्यमा खाद्यवस्तु बिक्री गरिरहेको छ। बिर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, नारायणगढ, पोखरा, बागलुङ, भैरहवा, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी, टीकापुर, अत्तरिया, दिपायल, डडेलधुरा, बैतडी, महेन्द्रनगर र कृष्णनगरलगायत स्थानमा बिक्री केन्द्र सञ्चालनमा छन्।

बाढीपहिरो तथा सडक अवरोधका कारण केही क्षेत्रमा नियमित ढुवानी प्रभावित भए पनि मौज्दातबाट आपूर्ति व्यवस्थापन भइरहेको दुवै संस्थाले जनाएका छन्। खाद्य कम्पनीका सूचना अधिकारी मिश्रले सडकमार्गबाटै खाद्यवस्तु ढुवानी भइरहेको बताए। साल्ट ट्रेडिङका प्रधानका अनुसार सडक अवरोधका बाबजुद बिक्री केन्द्रमा रहेको मौज्दातबाट वितरण भइरहेको छ।

यसैबीच, चाडपर्वमा माग बढ्ने र मूल्यमा दबाब पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सरकारले बजार अनुगमनलाई पनि तीव्र बनाएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार काठमाडौँ उपत्यकामा दैनिक १० देखि ११ वटा अनुगमन टोली परिचालन गरी करिब ४० वटा पसल तथा व्यावसायिक फर्ममा अनुगमन भइरहेको छ।

चालु आर्थिक वर्षमा हालसम्म करिब ७५० पसल तथा फर्मको अनुगमन गर्दा नौ व्यवसायीलाई कारबाही गरी ३५ लाख २१ हजार रुपैयाँ जरिवाना गरिएको किरातीले बताए। सहुलियत पसलबाट छुट मूल्यमा खाद्यवस्तु उपलब्ध गराउने र खुला बजारमा मूल्य तथा आपूर्तिको अवस्था अनुगमन गर्ने कामलाई सरकारले सँगसँगै अघि बढाएको उनको भनाइ छ।

 

 

१३ आश्विन २०८३, मंगलवार ०६:०० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०