३० कार्तिक २०८३, सोमबार
Follow us :

९० वर्षको नेपाल बैंकलाई अर्थमन्त्रीको तीन सुझाव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन जोड

कृषि, जलविद्युत्, पर्यटन र निर्यातमूलक उद्योगमा कर्जा विस्तार गर्न आग्रह, सुशासन र डिजिटल सुरक्षालाई पनि प्राथमिकता दिनुपर्ने भनाइ

कान्तिपुर प्रेस

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बैंकिङ क्षेत्रको लगानी उत्पादनशील क्षेत्रमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् ।

अर्थमन्त्री वाग्लेको उपस्थितिमा आयोजित समारोहमा बैंकको ऐतिहासिक योगदानसँगै आगामी दिनमा बैंकिङ क्षेत्रले अवलम्बन गर्नुपर्ने सुधारका विषयमा चर्चा गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपाल बैंकको स्थापना आर्थिक उन्नति, जनतालाई वित्तीय सुविधा र मुलुकको विकाससँग जोडिएको उल्लेख गरे । उनले बैंकले आगामी दिनमा तीनवटा प्रमुख सुधारका एजेन्डालाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनका अनुसार उत्पादनशील क्षेत्रमा वित्तीय स्रोतको परिचालन, संस्थागत सुशासन तथा वित्तीय अनुशासन र प्रविधिमैत्री बैंकिङ सेवा मुख्य सुधारका क्षेत्र हुन् ।

उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले बैंकिङ क्षेत्रको सफलता निजी क्षेत्रमा प्रवाह भएको कर्जाको आकारले मात्र मापन गर्न नहुने बताए । राष्ट्रिय उत्पादन, रोजगारी सिर्जना र आर्थिक वृद्धिमा पुर्‍याएको योगदानका आधारमा बैंकिङ क्षेत्रको प्रभावकारिता मूल्यांकन हुनुपर्ने उनको भनाइ थियो ।

‘कर्जाको प्रवाह अनुत्पादक क्षेत्रबाट उत्पादनशील क्षेत्रतर्फ निर्देशित हुनु अनिवार्य छ । कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग तथा साना र मझौला उद्योगमा लगानी विस्तार गरी उत्पादन र उद्यमशीलता प्रवर्द्धन गर्न बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ,’ उनले भने ।

त्यस्तै, बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जाको चुनौती सम्बोधन गर्न कर्जा असुली, सम्पत्तिको गुणस्तर र आन्तरिक नियन्त्रण प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने उनले बताए ।

संस्थागत सुशासन र वित्तीय अनुशासनलाई बैंकप्रतिको जनविश्वास कायम राख्ने आधारका रूपमा व्याख्या गर्दै वाग्लेले पारदर्शिता, जवाफदेहिता, व्यावसायिकता र प्रभावकारी जोखिम व्यवस्थापनमा जोड दिए ।

‘जनविश्वास कायम राख्न पारदर्शिता, जवाफदेहिता, व्यावसायिकता र प्रभावकारी जोखिम व्यवस्थापन आवश्यक छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जाको चुनौतीलाई सम्बोधन गर्दै कर्जा असुली, सम्पत्तिको गुणस्तर र आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउनुपर्दछ । सरकारी स्वामित्वको बैंक भएकाले नेपाल बैंकले सुशासन र व्यावसायिक कार्यसम्पादनमा उच्च मापदण्ड कायम गर्नुपर्दछ,’ उनले भने ।

वाग्लेले बदलिँदो प्रविधि र ग्राहकको अपेक्षाअनुसार बैंकिङ सेवालाई सरल, सुरक्षित, छिटो र प्रविधिमैत्री बनाउनुपर्नेमा पनि जोड दिए । डिजिटल बैंकिङको विस्तारसँगै साइबर सुरक्षा र ग्राहकका तथ्यांक संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

उनले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न बैंकले थप पहल गर्नुपर्ने बताए ।

बैंकिङ क्षेत्रको सुधार, संस्थागत सबलीकरण र वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले नेपाल बैंक आगामी दिनमा अझ सबल बन्दै मुलुकको आर्थिक समृद्धिको यात्रामा सशक्त साझेदार बन्ने विश्वास व्यक्त गरे ।

 

३० कार्तिक २०८३, सोमबार १८:०९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०