काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणका २८ खेल सम्पन्न भएसँगै प्लेअफमा पुग्ने चार टोलीको टुंगो लागेको छ । सात खेलमा पाँच जित निकाल्दै ११ अंक जोडेको साविक विजेता लुम्बिनी लायन्स लिग चरणको शीर्ष स्थानमा रह्यो भने समान पाँच जितसहित १० अंक जोडेको सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा रहन सफल भयो ।
अब पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्नेछन् । विराटनगर किङ्गस, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भने लिग चरणबाटै बाहिरिएका छन् ।
सात खेल खेलेको लुम्बिनीले पाँच जित, एक हार र एक खेलमा नतिजाविहीन हुँदै ११ अंक जोडेको हो । सुदूरपश्चिमले पाँच जित र दुई हारसहित १० अंक प्राप्त गर्यो ।
काठमाडौं गोर्खाजले चार जित र तीन हारसहित आठ अंक जोडेर तेस्रो स्थान हासिल गर्दा चितवन राइनोज तीन जित, तीन हार र एक खेलमा नतिजाविहीन हुँदै सात अंकसहित चौथो भयो । पाँचौँ स्थानको विराटनगर र छैटौँ स्थानको कर्णालीले समान ६ अंक जोडे । पोखरा चार अंकसहित सातौँ र जनकपुर समान चार अंक भए पनि नेट रनरेटका आधारमा आठौँ स्थानमा रहे ।
लुम्बिनी र सुदूरपश्चिमको स्थिर प्रदर्शन
लुम्बिनीले प्रतियोगिताको सुरुवातमै सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएर आफ्नो विजय यात्रा सुरु गरेको थियो । त्यसपछि पनि राम्रो प्रदर्शन गर्दै आएको लुम्बिनीले काठमाडौं गोर्खाजसँग ३६ रनको हार बेहोर्नुअघि अपराजित यात्रा कायम राखेको थियो । अन्तिम लिग खेलमा विराटनगर किङ्गसलाई चार विकेटले हराउँदै लुम्बिनी शीर्ष स्थानमा रहन सफल भयो ।
सुदूरपश्चिम रोयल्सले पनि सुरुवाती हारपछि लय समात्दै दोस्रो स्थान सुरक्षित गर्यो । कप्तान दीपेन्द्रसिंह ऐरीको प्रदर्शन टोलीका लागि महत्त्वपूर्ण रह्यो ।
काठमाडौं गोर्खाजले मध्य चरणमा लगातार तीन खेल जित्दै प्लेअफको दाबेदारी बलियो बनाएको थियो । यद्यपि, अन्तिम खेलहरूमा पराजित भए पनि टोलीले तेस्रो स्थान जोगाउन सफल भयो ।
चितवन राइनोजले भने उतारचढावपूर्ण प्रदर्शनका बाबजुद अन्तिम चारमा स्थान बनाउन सफल भयो । टोलीले लिग चरणमा तीन जित निकालेको थियो ।
नयाँ खेलाडीको उदय
तेस्रो संस्करणको लिग चरणलाई टोलीको जित र हारभन्दा बाहिर रहेर व्यक्तिगत प्रदर्शनका आधारमा विश्लेषण गर्दा नयाँ खेलाडीको उदय यसपटकको सकारात्मक पक्षका रूपमा देखिएको छ ।
यस संस्करणमा सबैभन्दा बढी चर्चा पाउनेमध्येका एक हुन् जनकपुर बोल्ट्सका युवा बलर राहुल यादव । १६ वर्षीय राहुलले आफ्नो पहिलो एनपीएल सहभागितामै प्रभावशाली प्रदर्शन गरे । उनले सात खेलमा १२ विकेट लिँदै प्रतियोगिताका सर्वाधिक विकेट लिने खेलाडीमध्ये अग्रस्थानमा रहेर आफ्नो क्षमता प्रमाणित गरेका छन् ।
काठमाडौं गोर्खाजविरुद्ध ३१ रन दिएर चार विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन रह्यो । जनकपुरको समग्र प्रदर्शन कमजोर रहे पनि राहुलको बलिङले नेपाली क्रिकेटमा नयाँ सम्भावना देखाएको छ ।
यस्तै, चितवन राइनोजका रिजन ढकाल, कमल सिंह ऐरी र काठमाडौं गोर्खाजका जहानदाद खानले पनि १२–१२ विकेट लिए । यी खेलाडीको प्रदर्शनले स्थापित नामसँगै नयाँ खेलाडीले पनि प्रतियोगितामा आफ्नो क्षमता देखाउन सक्ने प्रमाणित गरेको छ ।
सन्दीपको ह्याट्रिकदेखि युवराजको शतकसम्म
तेस्रो संस्करणको सबैभन्दा स्मरणीय व्यक्तिगत प्रदर्शनमध्ये एक रह्यो विराटनगर किङ्गसका कप्तान सन्दीप लामिछानेको ह्याट्रिक । पोखरा एभेन्जर्सविरुद्ध उनले चार ओभरमा २७ रन खर्चेर ६ विकेट लिएका थिए । सोही खेलमा लगातार तीन बलमा विकेट लिँदै उनले ह्याट्रिक पूरा गरेका थिए ।
उनको उत्कृष्ट बलिङकै कारण पोखरा १३२ रनमा समेटिएको थियो । उक्त खेल विराटनगरले चार विकेटले जितेको थियो ।
व्यक्तिगत ब्याटिङतर्फ पोखरा एभेन्जर्सका युवा विदेशी ब्याटर युवराज सामराले पनि उल्लेखनीय प्रदर्शन गरे । उनले कर्णाली याक्सविरुद्ध ४८ बलमा १०२ रन बनाउँदै शतक पूरा गरेका थिए ।
उनले कुशल भुर्तेलसँग मिलेर दोस्रो विकेटका लागि १८६ रनको साझेदारी गरेका थिए । प्रतियोगिताको अन्तिम लिग खेलमा पनि कुशल र युवराजको ब्याटिङले ठूलो चर्चा पायो ।
काठमाडौं गोर्खाजविरुद्ध पोखराले २० ओभरमा तीन विकेट गुमाएर २२४ रन बनायो । यो एनपीएलको अहिलेसम्मकै उच्च टोलीगत योगफल बन्यो । उक्त खेलमा कुशल भुर्तेलले ५१ बलमा ९९ रन बनाए भने युवराज सामराले ५५ बलमा ८९ रन जोडे ।
पोखराले उक्त खेल ५५ रनले जिते पनि अघिल्ला खेलमा कमजोर प्रदर्शन गरेका कारण प्लेअफमा स्थान बनाउन सकेन । यसले व्यक्तिगत उत्कृष्ट प्रदर्शन मात्र टोलीको समग्र सफलता सुनिश्चित गर्न पर्याप्त नहुने देखाएको छ ।
विदेशी खेलाडीको प्रदर्शन पनि प्रतियोगितामा चर्चामा रह्यो । काठमाडौं गोर्खाजका डेभिड वार्नरले लुम्बिनीविरुद्ध ६६ रन बनाएका थिए । कर्णाली याक्सका डेभिड मिलरले सुदूरपश्चिमविरुद्ध ५५ बलमा अविजित ९३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । विराटनगर किङ्गसका आन्द्रे रसेलले ब्याटिङ र बलिङ दुवैमा प्रभाव देखाएका थिए ।
अघिल्लो संस्करणको तुलनामा के कमजोर देखियो ?
अघिल्ला संस्करणको तुलनामा यसपटक नेपाली युवा खेलाडीको व्यक्तिगत प्रदर्शन र नयाँ प्रतिभाको उदय सकारात्मक पक्ष रह्यो । तर, टोलीहरूको प्रदर्शनमा निरन्तरता भने चुनौतीका रूपमा देखियो ।
केही टोलीले एक खेलमा उत्कृष्ट ब्याटिङ गरे पनि अर्को खेलमा सामान्य योगफलमै समेटिए । यसले ब्याटिङमा स्थिरताको अभाव देखाएको छ । बलिङ र ब्याटिङबीच सन्तुलन कायम गर्न नसक्दा केही टोलीले राम्रो सुरुवातलाई जितमा परिणत गर्न सकेनन् ।
त्यस्तै, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको पिचको अवस्थालाई लिएर पनि प्रश्न उठे । कतिपय खेलमा ब्याटिङ गर्न कठिन देखिएको पिचमा कम योगफल बने भने केही खेलमा ठूलो योगफलसमेत तयार भयो । यसले प्रतियोगिताभरि पिचको एकरूपता र ब्याटिङका लागि अनुकूल वातावरणबारे बहस सिर्जना गरेको छ ।
लिग चरणमा केही खेल निकै प्रतिस्पर्धात्मक बने । कर्णाली याक्सले विराटनगर किङ्गसविरुद्ध १८७ रनको लक्ष्य एक बल बाँकी रहँदा पूरा गरेको थियो । सोमपाल कामीले ३२ बलमा अविजित ६२ रन बनाउँदै टोलीलाई जित दिलाएका थिए ।
त्यस्तै, विराटनगरले जनकपुर बोल्ट्सलाई दुई रनले हराएको खेल पनि रोमाञ्चक बनेको थियो । वर्षाका कारण केही खेल प्रभावित भए भने लुम्बिनी र चितवनबीचको एक खेल रद्द भएको थियो ।
अब प्लेअफको प्रतिस्पर्धा
लिग चरणका खेल सकिएसँगै अब प्रतियोगिता निर्णायक चरणमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा शीर्ष स्थानको लुम्बिनी लायन्स र दोस्रो स्थानको सुदूरपश्चिम रोयल्स भिड्नेछन् । यस खेलको विजेता सिधै फाइनलमा पुग्नेछ ।
तेस्रो स्थानको काठमाडौं गोर्खाज र चौथो स्थानको चितवन राइनोजबीच एलिमिनेटर खेल हुनेछ । एलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता टोलीले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
तालिकाअनुसार पहिलो क्वालिफायर मंगलबार (मंसिर २ गते), एलिमिनेटर बुधबार (मंसिर ३ गते), दोस्रो क्वालिफायर बिहीबार (मंसिर ४ गते) र फाइनल शनिबार (मंसिर ६ गते) हुनेछ ।
यससँगै एनपीएलको तेस्रो संस्करण उपाधि दौडको निर्णायक मोडमा पुगेको छ । लिग चरणमा दमदार प्रदर्शन गरेका लुम्बिनी र सुदूरपश्चिमले आफ्नो लय कायम राख्छन् वा काठमाडौं र चितवनले अप्रत्याशित नतिजा निकाल्छन् भन्ने चासो बढेको छ ।











