ललितपुर । ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ५, इकुडोलमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रभावशाली नेता तथा कार्यकर्ताहरू सामूहिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। राप्रपा इकुडोलका अध्यक्ष राजु भोग्नन, २०७९ को स्थानीय निर्वाचनमा राप्रपाबाट वडा सदस्यका उम्मेदवार रहेका हिमान स्याङ्तान र राप्रपा नेता खिन ब. सिंतान सहितको टोली कांग्रेसमा समाहित भएको हो। त्यसैगरी, नेकपा एमाले परित्याग गरी सूर्यमान स्याङ्तान, राजु स्याङ्तान, राहुल विक र बाबुलाल स्याङ्तान पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूलाई पार्टीमा स्वागत गर्दै बागमती प्रदेशका सांसद मीन कृष्ण महर्जनले नेपाली कांग्रेस जनताको वास्तविक दुःखसुखको साथी भएको बताउँदै नवप्रवेशीहरूलाई कुनै भेदभाव रहित व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरे। सम्बोधनका क्रममा सांसद महर्जनले आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेस देशकै ठूलो शक्तिको रूपमा उदाउने दाबी गरे। उनले अब गगन थापाको नेतृत्वमा सरकार बनाएर कांग्रेसले राष्ट्रलाई राजनीतिक र आर्थिक निकास दिने धारणा समेत व्यक्त गरे।
चुनाव नजिकिँदै गर्दा ललितपुरमा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरूको लहर चलेको छ । विपक्षी दलका पुराना र सक्रिय कार्यकर्ताहरू नै कांग्रेसमा ओइरिएपछि इकुडोल सहित ललितपुरको दक्षिणी भेगमा कांग्रेसको संगठन अभूतपूर्व रूपमा बलियो बनेको स्थानीय नेतृत्वको दाबी छ।











