काठमाडौं — नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सहभागी अवलोकनकर्तालाई लक्षित गर्दै साझेदार बैंकहरूले अटो लोनमा विशेष ब्याजदर तथा सुविधा उपलब्ध गराएका छन्। आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)सँगको साझेदारीमा ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र एनएमबी बैंकले मेलास्थलमै कर्जा प्रक्रियाका लागि सहजीकरण गरिरहेका छन्।
बैंकहरूले आधारदरमा ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्मको प्रिमियममा अटो लोन उपलब्ध गराइरहेका छन्। सेवा शुल्क पनि ०.५ प्रतिशत मात्रै लिने व्यवस्था गरिएको बैंकहरूले बताएका छन्। आफूलाई मन परेको सवारीसाधन छनोट गरेपछि अवलोकनकर्ताले बैंकका स्टलमा पुगेर कर्जाका लागि नाम दर्ता तथा आवेदन दिन सक्ने व्यवस्था छ।
ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ म्यानेजर मन्जिल बिष्टका अनुसार एक्स्पोमा दिनप्रतिदिन अवलोकनकर्ताको संख्या बढेसँगै कर्जाबारे जानकारी लिनेको संख्या पनि बढिरहेको छ। बैंकले स्टलबाट नाम दर्ता गर्नुका साथै क्यूआरमार्फत आवेदन दिने सुविधा दिएको छ।
सिद्धार्थ बैंकले स्टलमा संकलित विवरण केन्द्रीय कार्यालयमार्फत सम्बन्धित शाखासँग जोड्ने व्यवस्था गरेको जनाएको छ। एनएमबी बैंकले पनि नाइमा एक्स्पोलाई लक्षित गरी ब्याजदर परिमार्जन गरेर ग्राहकलाई आकर्षक कर्जा सुविधा दिएको जनाएको छ।
दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित दोस्रो संस्करणको एक्स्पो साउन ३१ सम्म सञ्चालन हुनेछ। एक्स्पोमा विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षण बनेका छन्।











