बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। दुई वर्षदेखि सत्ता साझेदार रहेको नेपाली कांग्रेसले साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले नयाँ सत्ता समीकरणअनुसार विश्वासको मत लिन लागेका हुन्।
संवैधानिक व्यवस्थाअनुसार सरकारको समर्थन गर्ने दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सोहीअनुसार आचार्यले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्।
एमाले–नेकपा गठबन्धनमा आचार्यलाई निरन्तरता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सातवटै प्रदेशमा सत्ता गठबन्धन गर्ने सहमति भएपछि लुम्बिनीमा पनि नयाँ सत्ता समीकरण बनेको हो।
सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भएको छ। सहमतिमा जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा) समेत सहभागी रहेको जनाइएको छ।
मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार तथा मन्त्रालय बाँडफाँट टुंग्याउने तयारी छ। नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजित थारूले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट मन्त्री पठाउने तयारी रहेको बताएका छन्।
बहुमतका लागि थप दलको समर्थन आवश्यक
लुम्बिनी प्रदेश सभामा कुल ८७ सदस्य भए पनि चार जनाले राजीनामा दिएर गत फागुन २१ गतेको निर्वाचनमा सहभागी भएपछि हाल ८३ सदस्य कायम छन्। हाल कायम सदस्य संख्याका आधारमा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ।
प्रदेश सभामा एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन्। सभामुखले मतदान गर्न नपाउने भएकाले एमाले–नेकपा गठबन्धनलाई सरकारको पक्षमा बहुमत पुर्याउन थप दलको समर्थन आवश्यक पर्ने देखिएको छ।
यसैबीच, लुम्बिनी सरकारमा बहुमत जुटाउन एमाले अध्यक्ष ओली र नेकपा अध्यक्ष प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (मसाल)सँग समेत सहमति गरेको जनाइएको छ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय छन्। हाल मुख्यमन्त्रीसहित एमालेका पाँच, जसपाका एक र लोसपाका एक जना मन्त्री सरकारमा रहेका छन्।











