काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुर्गम क्षेत्रका नागरिकले सामान्य औषधि र राहतसमेत नपाउने अवस्थामा सरकार मन्त्रीहरूको सेवा–सुविधा र उपचारमा केन्द्रित भएको आरोप लगाएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस प्रमुख सचेतक वासना थापाले कर्णालीका नागरिकले सिटामोल र उपचार नपाइरहेका बेला बिरामी मन्त्रीलाई राज्यको ठूलो रकम खर्च गरेर हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन्।
थापाले जनताले राहत नपाउने, सुत्केरीले समयमा अस्पताल नपाउने तर मन्त्री बिरामी हुँदा लाखौँ रुपैयाँ खर्च गरेर हेलिकप्टर चार्टर गर्ने अवस्था रहेको बताइन्। उनका अनुसार प्रधानमन्त्रीले मन्त्रीलाई काठमाडौं ल्याउन ३० देखि ३५ लाख रुपैयाँ खर्च गर्न सक्ने तर विपन्न नागरिकलाई तीन लाख रुपैयाँ राहत दिन नसक्ने अवस्था विरोधाभासपूर्ण छ।
बिहान–बेलुकाको छाक टार्न कठिन नागरिकलाई राज्यले एक सिलिन्डर ग्याससमेत उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको सुशासनसम्बन्धी दाबीमाथि पनि प्रश्न उठाइन्।
मन्त्री र सामान्य नागरिकको जीवनको मूल्य बराबर हुनुपर्ने बताउँदै थापाले प्रधानमन्त्रीका लागि हेलिकप्टर पुग्ने तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने अवस्था अन्त्य गर्न सरकारसँग माग गरिन्। ठूला द्रुतमार्ग निर्माणको कुरा गर्ने सरकारले कर्णालीमा औषधि र राहतसमेत पुर्याउन नसक्नु विरोधाभासपूर्ण भएको उनको भनाइ थियो।












