३ भाद्र २०८३, बुधबार
Follow us :

‘हमर’को प्रतिस्पर्धी एम हिरो–१ नेपाल आइपुग्यो

चिनियाँ सवारी निर्माता डोङफेङले उत्पादन गरेको यो विद्युतीय एसयूभीलाई नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले काठमाडौंमा आयोजना हुने नाडा अटो शो २०२६ मा प्रदर्शन गर्ने तयारी गरेको छ ।

कान्तिपुर प्रेस

काठमाडौं –  आकर्षक डिजाइन भएको शक्तिशाली विद्युतीय एसयूभी एम हिरो–१ नेपाल आइपुगेको छ। चिनियाँ सवारी निर्माता डोङफेङले उत्पादन गरेको यो विद्युतीय एसयूभीलाई नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले काठमाडौंमा आयोजना हुने नाडा अटो शो २०२६ मा प्रदर्शन गर्ने तयारी गरेको छ ।

भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोको १८औँ संस्करणमा एम हिरो–१ लाई सार्वजनिक प्रदर्शनमा राखिनेछ । आकर्षक डिजाइन, उच्च शक्ति र अफरोड क्षमताका कारण यो एसयूभीले विद्युतीय हमर तथा मर्सिडिज–बेन्ज जी–क्लाससँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ । एम हिरो–१ मा चारवटा विद्युतीय मोटर जडान गरिएको छ। चारै मोटरले संयुक्त रूपमा ८०० किलोवाट अर्थात् १,०८८ अश्वशक्ति उत्पादन गर्छन्। यसको अधिकतम टर्क १,४०० न्यूटन मिटर रहेको छ ।

करिब ३.५ टन तौल भएको यो एसयूभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ४.२ सेकेन्डमा हासिल गर्न सक्ने कम्पनीको दाबी रहेको छ । एसयूभीमा १४२.७ किलोवाट–आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ। डब्लूएलटीपी परीक्षणअनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा ४५० किलोमिटरसम्म यात्रा गर्न सक्छ । अफरोड क्षमतालाई विशेष प्राथमिकता दिइएको एम हिरो–१ मा एयर सस्पेन्सन दिइएको छ। यसको ग्राउन्ड क्लियरेन्स सामान्य अवस्थामा २४० मिलिमिटर रहेकोमा आवश्यकता अनुसार ३३० मिलिमिटरसम्म बढाउन सकिन्छ । त्यस्तै, यसले ९०० मिलिमिटरसम्म गहिरो पानी पार गर्न सक्ने क्षमता राख्छ ।

अफरोड ड्राइभिङलाई थप सहज बनाउन यसमा बालुवा, चट्टान, हिलो र पानीका लागि छुट्टाछुट्टै ड्राइभिङ मोड उपलब्ध गराइएको छ । इन्टेरियरमा भने एम हिरो–१ मा ठूलो इन्फोटेनमेन्ट स्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र ठूलो थ्री–स्पोक स्टेयरिङ ह्वील दिइएको छ। यसको ढोकामा पेस्तोलको आकारबाट प्रेरित डिजाइनको ह्यान्डलसमेत प्रयोग गरिएको छ ।
नाडा अटो शोमा प्रदर्शन गरिने भए पनि एम हिरो–१ को व्यावसायिक बिक्री भने तत्काल सुरु हुने छैन। सन् २०२७ जनवरीदेखि बिक्री वितरण सुरु गर्ने तयारी रहेको जनाइएको छ। त्यसैले यो विद्युतीय अफरोड एसयूभी खरिद गर्न चाहने ग्राहकले अझै केही समय प्रतीक्षा भने गर्नुपर्नेछ ।

२ भाद्र २०८३, मंगलवार १३:५७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०