धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ। मुख्यमन्त्री नियुक्त भएको एक सातामै उहाँले विश्वासको मत लिन लाग्नुभएको हो।
तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले साउन २८ गते राजीनामा दिएपछि साउन २९ गते भट्ट संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले नियुक्त भएको एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।
विश्वासको मतका लागि बुधबार दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभएको छ। मुख्यमन्त्री भट्टले विश्वासको मत लिन बैठक बोलाउन प्रदेश सभामा पत्राचार गर्नुभएको हो।
सुदूरपश्चिममा नेकपा नेतृत्वमा एमालेको समर्थनसहित नयाँ सरकार गठन भएको छ। प्रदेश सभामा नेकपाका २१ र एमालेका ११ गरी ३२ जना सदस्य छन्। सभामुख र उपसभामुखसहितको यो संख्या प्रदेश सरकारका लागि आवश्यक बहुमतभन्दा बढी हो। सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ।
यद्यपि सरकार गठन भए पनि मन्त्रिपरिषद् विस्तारमा भने सत्तारूढ दलभित्रै चुनौती देखिएको छ। मन्त्री पदका लागि आकाङ्क्षी धेरै भएपछि भागबन्डा मिलाउन नेतृत्वलाई कठिनाइ भएको हो।
नेकपाभित्र साविक माओवादी, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) बाट आएका प्रदेश सभा सदस्यहरू छन्। सबै समूहलाई समेट्नुपर्ने दबाबसँगै मन्त्रीका आकाङ्क्षी धेरै रहेकाले मन्त्रिपरिषद् विस्तारमा समस्या देखिएको नेकपाका प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले बताउनुभएको छ।
यसै कारण मुख्यमन्त्री भट्टले पहिले विश्वासको मत लिएर त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने रणनीति अपनाउनुभएको देखिन्छ।











