५ भाद्र २०८३, शुक्रबार
Follow us :

नामी भिगोकाे मूल्य ८ लाखले घट्यो

नामी भिगो ई२ को मूल्य ३५ लाख ९९ हजारमा झरेसँगै ७ वर्षे कर्जामा मासिक किस्ता ३१ हजार हाराहारी पर्ने भएको छ।

कान्तिपुर प्रेस

काठमाडौं । नेपाली बजारमा लोकप्रिय बन्दै गएको नामी भिगो इलेक्ट्रिक एसयूभी अब दैनिक करिब १ हजार रुपैयाँको खर्चमा चढ्न सकिने भएको छ। नेपालका लागि नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले भिगो ई२ को मूल्य एकैपटक ८ लाख रुपैयाँ घटाएपछि यसको मासिक किस्ता पनि उल्लेख्य रूपमा घटेको हो।

कम्पनीले नाडा अटो शो अवधिका लागि भिगो ई२ को मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ। यसअघि यसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ थियो। नाडा अटो शोपछि भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ।

नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार विद्युतीय कार खरिदमा ६० प्रतिशतसम्म कर्जा लिन सकिन्छ। त्यसअनुसार ३५ लाख ९९ हजार रुपैयाँको भिगो किन्न ग्राहकले ४० प्रतिशत अर्थात् १४ लाख ३९ हजार ६०० रुपैयाँ डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ। बाँकी २१ लाख ५९ हजार ४०० रुपैयाँ बैंकबाट कर्जा लिन सकिन्छ।

५.५ प्रतिशत ब्याजदर र सात वर्षको कर्जा अवधिलाई आधार मान्दा मासिक किस्ता करिब ३१ हजार ३० रुपैयाँ पर्छ। अर्थात् दैनिक हिसाब गर्दा करिब १ हजार ३४ रुपैयाँमा भिगो चढ्न सकिने देखिन्छ।

यसअघि ४३ लाख ९९ हजार रुपैयाँ मूल्य हुँदा मासिक किस्ता करिब ३८ हजार रुपैयाँ पर्ने गरेको थियो। मूल्य घटेसँगै ग्राहकको मासिक वित्तीय भार करिब ७ हजार रुपैयाँले घटेको छ।

४३० किलोमिटर रेन्ज, १८ मिनेटमै ८० प्रतिशतसम्म चार्ज

२०८२ भदौमा नेपाली बजारमा आएको नामी भिगो छोटो समयमै उपभोक्तामाझ लोकप्रिय बनेको छ। कम्पनीका अनुसार एक वर्षको अवधिमा यसको ७०० भन्दा बढी युनिट बिक्री भइसकेका छन्।

नयाँ भिगो ई२ मा मुनरुफ हटाएर १७ इन्चको अलोय ह्वील प्रयोग गरिएको छ। यसबाहेक अन्य प्रमुख फिचरहरू यथावत् राखिएको छ।एसयूभीमा ५१.८७ किलोवाट आवरको ब्याट्री छ, जसले एकपटक पूर्ण चार्जमा ४३० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। ३सी फास्ट चार्जिङ सपोर्ट गर्ने यसलाई १६७ किलोवाटको डीसी फास्ट चार्जरबाट ३० देखि ८० प्रतिशतसम्म करिब १८ मिनेटमा चार्ज गर्न सकिन्छ।

भिगोमा ९९ किलोवाटको इलेक्ट्रिक मोटर छ, जसले १६० न्युटन मिटर टर्क उत्पादन गर्छ। १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्सका कारण नेपाली सडकका लागि पनि उपयोगी हुने कम्पनीको दाबी छ।

क्याबिनमा १२.८ इन्च इन्फोटेनमेन्ट सिस्टम, ८.८ इन्च इन्फर्मेसन डिस्प्ले, ३६० डिग्री क्यामेरा, ५० वाट वायरलेस चार्जर र भ्वाइस कन्ट्रोललगायत सुविधा छन्।सुरक्षातर्फ ६ एयरब्याग, एडीएएस लेभल–२, हिल होल्ड, डिसेन्ट कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल र अटो होल्डजस्ता फिचर उपलब्ध छन्। मूल्य घटेसँगै प्रिमियम ह्याचब्याक तथा सब–फोर मिटर एसयूभीसँगको मूल्य प्रतिस्पर्धामा आएको भिगोले नेपाली ईभी बजारमा थप दबाब सिर्जना गर्ने देखिन्छ।

५ भाद्र २०८३, शुक्रबार ११:०८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०