काठमाडौं । नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रमुख प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीका लागि स्टल निर्माणसँगै प्राविधिक तयारीलाई तीव्रता दिइएको छ।
प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्डका स्टलसँगै अटो पार्ट्स, टायर, ल्युब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टल निर्माण भइरहेका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यस वर्षको अटो शो नाडाको ५०औँ स्थापना वर्षको स्वर्ण जयन्ती संस्करण का रूपमा आयोजना हुँदैछ। करिब तीन लाख वर्गफिट क्षेत्रफलमा हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा सवारी ब्रान्ड सहभागी हुनेछन्।
अटो शोमा विद्युतीय सवारीसाधन, नयाँ अटोमोबाइल प्रविधि तथा मोबिलिटी क्षेत्रका उत्पादन र सेवाहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। करिब ७० वटा स्टलमा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरण प्रदर्शन गरिनेछ।
प्रदर्शनी नजिकिँदै जाँदा भृकुटीमण्डपमा स्टल निर्माणको चहलपहल समेत बढेको छ। स्टल निर्माणसँगै विद्युत् जडान, प्रकाश व्यवस्था, डिजिटल डिस्प्ले, ब्रान्डिङ तथा अन्य प्राविधिक पूर्वाधारको काम पनि अघि बढिरहेको छ।
यस वर्षको विशेष आकर्षणका रूपमा ‘मेड इन नेपाल, मेड फर नेपाल’ पभेलियन रहनेछ। यहाँ नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारीसाधन, विद्युतीय सवारी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्ट प्रदर्शन गरिनेछ।
आयोजकका अनुसार अटो शोले उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अन्य सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको अवसर प्रदान गर्नेछ।
नयाँ प्रविधि, उत्पादन र सेवासँगै नेपाली अटोमोबाइल तथा मोबिलिटी बजारको सम्भावना बुझ्न पनि यसपटकको नाडा अटो शो महत्वपूर्ण मञ्च बन्ने अपेक्षा गरिएको छ।











