काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।
विद्यालय शिक्षा विधेयकसम्बन्धी सरोकारवालासँगको परामर्श कार्यक्रममा उनले शिक्षा ऐन निर्माण प्रक्रिया पारदर्शी र सहभागितामूलक बनाइने बताए।
मन्त्री पोखरेलले सरोकारवालाबाट आएका सुझावलाई ऐन तथा नियममा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षामा कुल बजेटको कम्तीमा २० प्रतिशत लगानी आवश्यक रहेकोमा जोड दिए।
उनले संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट अधिकार बाँडफाँट र प्रभावकारी समन्वयबाट शिक्षा सुधार अघि बढाउनुपर्ने बताए। मन्त्रालयले सातै प्रदेशमा सञ्चालन गरेको ‘शिक्षा संवाद’बाट प्राप्त सुझावका आधारमा नयाँ विद्यालय शिक्षा ऐन तयार गर्ने जनाएको छ।











