धादिङ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले बुधबार सूचना जारी गर्दै आजदेखि अर्को सूचना जारी नभएसम्म धादिङ जिल्लाअन्तर्गत पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सबै सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन बन्द गरिएको जनाएको हो।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार बाढीका कारण रसुवा र नुवाकोटसँगै धादिङको पृथ्वी राजमार्गका विभिन्न स्थानमा समेत क्षति पुगेको छ। बाढीपछि सडक तथा आसपासका क्षेत्रमा थप क्षति हुन सक्ने सम्भावना रहेकाले तत्कालका लागि यातायात सञ्चालन रोकिएको उहाँले जानकारी दिनुभयो।
उहाँले बाढी तथा त्यसबाट उत्पन्न हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर आम नागरिकको जीउज्यानको सुरक्षाका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको बताउनुभयो।
भोटेकोशी नदीमा आएको बाढीले विभिन्न जिल्लामा मानवीय तथा भौतिक क्षति पुर्याएपछि प्रशासनले जोखिमयुक्त क्षेत्रमा आवतजावत नियन्त्रण गर्न थालेको हो। बाढीका कारण सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति पुगेको हुन सक्ने र थप बाढी तथा पहिरोको जोखिमसमेत रहेकाले प्रशासनले सावधानी अपनाएको जनाएको छ।
पृथ्वी राजमार्ग देशका विभिन्न भागलाई काठमाडौंसँग जोड्ने प्रमुख सडक मार्ग भएकाले सवारी आवागमन बन्द हुँदा यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित हुने भएका छन्। प्रशासनले जोखिमको अवस्था मूल्यांकन गरी सडक सुरक्षित रहेको यकिन भएपछि मात्र यातायात सञ्चालनसम्बन्धी निर्णय गर्ने जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्म राजमार्गमा सवारी नचलाउन तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। प्रशासनले सम्भावित जोखिमबाट नागरिकलाई जोगाउन आवश्यक सुरक्षा तथा सतर्कताका उपाय अपनाइरहेको जनाएको छ।











