१६ भाद्र २०८३, मंगलवार
Follow us :

भोटेकोशी बाढीपछि सुरुङमा फसेकाको खोजी तीव्र

सेनाको नेतृत्वमा तीन दिनदेखि उद्धार जारी

कान्तिपुर प्रेस

काठमाडौँ, भदौ १५ — भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्र पारिएको छ। नेपाली सेनाको कमाण्डमा विशेषज्ञसहितको टोलीले तीन दिनदेखि प्रभावित आयोजनाका सुरुङ केन्द्रित खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली–३ ‘बी’ आयोजनाको सुरुङमा विज्ञसहितको टोली परिचालन गरी खोजी भइरहेको छ। चिलिमे हाइड्रोको सुरुङमा विदेशीसमेत सहभागी संयुक्त टोली करिब १०० मिटर भित्र प्रवेश गरी बेपत्ताको खोजी गरिरहेको छ। सुरुङको केही भाग हिलो र माटोले पुरिएको अवस्थामा भेटिएको र त्यहाँबाट दुई शव निकालिएको सेनाले जनाएको छ।

त्यस्तै, माथिल्लो त्रिशूली–१ को सुरुङमा करिब ३०० मिटरसम्म प्रवेश गरी खोजी गर्दा एउटा शव फेला परेको छ। लाङटाङ आयोजनाको सुरुङमा पनि खोज तथा उद्धार जारी रहेको सेनाले जनाएको छ।

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खोल्न आज बिहान करिब २ बजे विस्फोटक पदार्थ प्रयोग गरिएको थियो। दुई एक्स्काभेटर प्रयोग गरी करिब १० मिटर मुनि प्वाल बनाउने तथा सुरुङभित्र जमेको पानी, हिलो र लेदो हटाउने काम भइरहेको छ।

बाढी प्रभावित जंगल, डाँडा, खोला र बस्ती क्षेत्रमा उद्धार आवश्यकताको मूल्याङ्कन गर्न पैदल गस्तीसमेत भइरहेको छ। स्याफ्रुबेँसीमा राहत तथा रासन वितरण र लाङटाङ हाइड्रो क्षेत्रको निरीक्षण गरिएको सेनाले जनाएको छ।

धुन्चे र त्रिशूलीमा सेनाले स्थापना गरेका आपत्कालीन उपचार केन्द्रबाट हालसम्म दुई हजार ६३२ जनाले स्वास्थ्य सेवा लिएका छन्। टिमुरेदेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीका प्रभावित क्षेत्रमा आठ हजार ९०० भन्दा बढी सुरक्षाकर्मी परिचालित छन्।

सेनाका अनुसार भदौ १० देखि हालसम्म ३३८ विदेशी नागरिकसहित तीन हजार ५९६ जनाको उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत करिब २३ हजार १९४ किलो राहत सामग्रीसमेत पुर्‍याइएको छ।

 

१५ भाद्र २०८३, सोमबार १३:५४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०