१६ भाद्र २०८३, मंगलवार
Follow us :

धुन्चेमा मोबाइल चार्ज गर्न रेडक्रसले ल्यायो जेनेरेटर

विद्युत् अवरुद्ध भएपछि निःशुल्क चार्जको सुविधा

कान्तिपुर प्रेस

काठमाडौँ, भदौ १५ — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पाँच दिनदेखि विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएपछि रसुवाको सदरमुकाम धुन्चेमा मोबाइल फोन चार्ज गर्न जेनेरेटर ल्याइएको छ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)को सहयोगमा नेपाल रेडक्रस सोसाइटीले जेनेरेटर धुन्चे ल्याएर स्थानीयवासी, बाढी प्रभावित तथा सदरमुकाममा रहेका तीर्थालुलाई निःशुल्क मोबाइल चार्ज गर्ने व्यवस्था मिलाएको हो।

विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासीसँगै बाढी प्रभावित र बाहिरी जिल्लाबाट आएका व्यक्तिहरू आफन्त तथा बाहिरी संसारसँग सम्पर्कविहीन हुनुपरेको थियो। मोबाइलमा ब्याट्री सकिँदा परिवार तथा आफन्तको अवस्थाबारे जानकारी लिन र आफू सुरक्षित रहेको खबर पठाउनसमेत समस्या भएको थियो।

नेपाल रेडक्रस सोसाइटी रसुवा शाखा र तिलगङ्गा आँखा केन्द्रको संयुक्त पहलपछि सदरमुकाममा जेनेरेटर ल्याइएको हो। अहिले एकैपटक एक सयभन्दा बढीले मोबाइल चार्ज गरिरहेको नेपाल रेडक्रसले जनाएको छ।

मोबाइल चार्ज गर्ने सुविधा पाएपछि जिल्लावासीले टाढा रहेका आफन्तसँग पुनः सम्पर्क स्थापित गर्न सकेका छन्। एक बाढी प्रभावितले भने, “फोन कलले टुटेको आशालाई जोडेको छ, चिन्ताले भरिएका मनलाई सान्त्वना दिएको छ।”

बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न प्राविधिक टोली परिचालन गरिएको छ। विद्युत् सेवा चाँडै सुचारु गराउन पहल भइरहेको जनाइएको छ।

 

१५ भाद्र २०८३, सोमबार १३:५८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०