१६ भाद्र २०८३, मंगलवार
Follow us :

भोटेकोशी बाढीलाई ‘हिमाली सुनामी’ नाम दिन विज्ञको सुझाव

लामटाङ लिरुङ क्षेत्रमा पहाड चोइटिएर आएको बाढीले हिमाली क्षेत्रको बढ्दो जोखिम उजागर गरेको विज्ञहरूको निष्कर्ष

कान्तिपुर प्रेस

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीलाई ‘हिमाली सुनामी’ नाम दिएर नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनको असरबारे सशक्त रूपमा आवाज उठाउनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।

हिमाल तथा हिमनदीको अध्ययनमा संलग्न विज्ञहरूका अनुसार लामटाङ लिरुङ क्षेत्रको पहाड चोइटिएर आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। उनीहरूले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दो जोखिमलाई यस घटनाले थप उजागर गरेको बताएका छन्।

लामो समयदेखि हिमालको अध्ययनमा संलग्न प्राध्यापक डा. दिवस श्रेष्ठले हिमाली क्षेत्रमा गएको पहिरोले यति ठूलो तहमा र बहुक्षेत्रमा क्षति पुर्‍याउनु निकै पीडादायी भएको बताए। उनका अनुसार यो घटना मानव सभ्यता विकासकै लागि गम्भीर चुनौतीका रूपमा लिनुपर्ने अवस्था आएको छ।

“यो घटना मानव सभ्यता विकासको दर्दनाक र उच्चतम चुनौती दिने खालको हो। यसलाई विश्व समुदायले गम्भीर रूपमा लिनुपर्छ,” डा. श्रेष्ठले भने।

हिउँविज्ञ प्राध्यापक डा. सुदीप ठकुरीले बाढीपछि देखिएको विनाश र क्षतिको आँकलन गर्दा यसलाई ‘हिमाली सुनामी’ नाम दिनुपर्ने बताए। उनका अनुसार विश्वका ठूला सुनामीले निम्त्याउने क्षतिको स्तरसँग तुलना गर्न सकिने गरी हिमाली क्षेत्रमा विपद्को जोखिम बढिरहेको छ।

“जलवायु परिवर्तनको असर हिमालमा कुन हदसम्म परेको छ भन्ने कुरा विश्व समुदायलाई बुझाउन जरुरी छ,” उनले भने।

अर्का हिम वैज्ञानिक डा. नितेश खड्काले पनि घटनालाई नेपालको जोखिमपूर्ण अवस्थाबारे विश्व मञ्चमा आवाज उठाउने आधार बनाउनुपर्ने बताए। बढ्दो तापक्रमका कारण हिमालमा परेको असरबारे वैज्ञानिक अध्ययनहरूले यसअघि नै संकेत गरे पनि त्यसलाई विश्व समुदायले पर्याप्त रूपमा नबुझेको उनको भनाइ छ।

उनले भोटेकोशी बाढीलाई हिमाली क्षेत्रको संवेदनशीलता देखाउने महत्वपूर्ण प्रमाणका रूपमा लिनुपर्ने बताए। “यो हिमाली सुनामी नै हो,” उनले भने।

विज्ञहरूले नेपालले उक्त घटनालाई अन्तर्राष्ट्रिय फोरममा उठाउँदै जलवायु वित्त, आधुनिक प्रविधि र विपद् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहयोग माग्नुपर्ने बताएका छन्। कार्बन उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि जलवायु परिवर्तनका कारण सिर्जित प्राकृतिक विपद्को जोखिम भने नेपालले उच्च रूपमा भोगिरहेको उनीहरूको भनाइ छ।

डा. श्रेष्ठले लामटाङमा भएको एउटा घटनाले नै ठूलो क्षति पुर्‍याएको अवस्थामा यस्ता घटना दोहोरिँदा नेपालको भविष्य थप भयावह बन्न सक्ने चिन्ता व्यक्त गरे।

डा. ठकुरीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको हिमाली क्षेत्रलाई यसअघि नेपालको सम्पत्तिका रूपमा मात्रै बुझिँदै आए पनि अब त्यसमा जोडिएको जोखिमलाई समेत गम्भीर रूपमा बुझ्नुपर्ने बताए। उनका अनुसार हिमाल प्राकृतिक स्रोतसँगै सम्भावित ‘विनाशको बम’ पनि बन्न सक्ने जोखिमतर्फ ध्यान दिन आवश्यक छ।

डा. खड्काले विकसित मुलुकहरूसँग जलवायु वित्त र नयाँ प्रविधि हस्तान्तरणका लागि नेपालले तत्काल अन्तर्राष्ट्रिय तहमा पहल गर्नुपर्ने बताए। उनका अनुसार भोटेकोशी बाढीलाई नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमको उदाहरणका रूपमा प्रस्तुत गर्न सक्नुपर्छ।


१५ भाद्र २०८३, सोमबार १७:४४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०