काठमाडौं, भदौ १५ । ज्ञानोदय बालबालिकाको आयोजनामा ३२औँ स.बल ज्ञान कार्निभल सोमबारदेखि सुरु भएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेकाले प्रतियोगिताको उद्घाटन सामान्य ढंगले गरिएको थियो।
प्रतियोगिताको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गरे। छोटो मन्तव्य दिँदै प्रमुख महर्जनले प्रतियोगिताको सफलताको शुभकामना दिए।
ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्। उनले लामो इतिहास बोकेको ज्ञान कार्निभललाई यो उचाइसम्म पुर्याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्।
प्रतियोगिताको पहिलो दिन ब्वाइज बास्केटबलमा दुई तथा गल्र्स बास्केटबलमा एक खेल भए। गल्र्स फुटबलमा पनि एक खेल सम्पन्न भयो।
ब्वाइज बास्केटबलमा रातो बंगला र एलआरआईले विजयी सुरुआत गरेका छन्। रातो बंगला जेम्समाथि २८–२३ को जित निकाल्दा श्रेयान्स श्रेष्ठले ७ अंक योगदान गरे। सुजल मदईको २१ अंकको प्रदर्शनमा एलआरआईले एलिक्सरलाई ३३–२१ ले पराजित गर्यो।
बुङमतीस्थित आयोजकको हलमा भएको गल्र्स बास्केटबलमा पनि एलआरआईले विजयी सुरुआत गरेको छ। एलआरआईले रातो बंगला १६–११ ले हरायो।
स.बलको मुख्य प्रायोजन तथा सफल दुध र फन पार्टनर चोकोफन क्रसको सह–प्रायोजनमा भइरहेको प्रतियोगिताको गल्र्स फुटबलमा एभीएम र रातो बंगला १–१ गोलको बराबरीमा रोकिए। एभीएमकी आरोसी शर्मा र रातो बंगला की सान्भी शर्माले गोल गरे।
ब्वाइज र गल्र्स बास्केटबलमा समान ८–८ टोली सहभागी छन्। फुटबलको ब्वाइजतर्फ ९ तथा गल्र्सतर्फ ७ टोली सहभागी छन्। प्रतियोगितामा गल्र्स फुटबल पहिलोपटक समावेश गरिएको हो।
सन् १९७५ मा स्थापना भएको ज्ञानोदयले सन् १९९४ देखि ज्ञान कार्निभल आयोजना गर्दै आएको हो। विद्यालयस्तरमा लामो इतिहास बोकेको प्रतियोगितामध्ये ज्ञान कार्निभललाई पुरानो प्रतियोगिताका रूपमा लिइन्छ।
इम्पेरियल वल्र्डको उत्कृष्ट सुरुआत
आयोजक इम्पेरियल वल्र्ड स्कुलले आईडब्लुएस बास्केटबल प्रतियोगितामा पनि सोमबार उत्कृष्ट सुरुआत गरेको छ। घरेलु कोर्टमा इम्पेरियलले सिनियर गल्र्स, सिनियर ब्वाइज र जुनियर ब्वाइजमा जित हात पारेको हो।
बूढानीलकण्ठस्थित घरेलु कोर्टमा भएको सिनियर गल्र्स खेलमा इम्पेरियलले युरो बानियाँटारलाई २०–३ ले पराजित गर्यो। विजेताका लागि छेरयाल तामाङले ९ अंक जोडिन्। सिनियर ब्वाइजमा इम्पेरियलले युरो बानियाँटारलाई १८–१३ ले हराउँदा टमीले ८ अंक गरे।
जुनियर ब्वाइजमा इम्पेरियलले न्यु मिलिनियमलाई १७–२ ले पराजित गर्यो। इम्पेरियलका प्रज्ञान तामाङले ८ अंक जोडे।
सिनियर ब्वाइजकै अन्य खेलमा टीआईए र संस्कृति इन्टरनेसनल स्कुल विजयी भए। टीआईएले न्यु मिलिनियमलाई ३२–२२ ले हराउँदा दिवस जोशीले १२ अंक जोडे। संस्कृतिले युरो हात्तीगौडालाई ४६–३३ ले पराजित गर्दा अभिग्न श्रेष्ठले २५ अंक बनाए।
जुनियर ब्वाइजको अर्को खेलमा डाफोडिलले टीआईएमाथि १६–८ को जित निकाल्यो। टीआईएका लिजेश लामाले ६ अंक बनाए।
प्रतियोगिताको उद्घाटन पूर्व बास्केटबल खेलाडी कर्मा गुरुङले गरे। प्रतियोगितामा सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान ८–८ टोली सहभागी रहेको स्टुडेन्ट्स इन्रिचमेन्ट को–ओर्डिनेटर रविन सुवेदीले जानकारी दिए।












