मुस्ताङ, असोज १२ गते । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकखण्डका ४६ स्थानमा भारी वर्षाका कारण आएको बाढीपहिरो तथा नदी कटानले क्षति पुर्याएको छ। सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन कम्तीमा एक साता लाग्ने आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अजिता शर्माको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा आयोजना प्रमुख शर्माले असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षा तथा हिमपातका कारण सडकमा पुगेको क्षतिको विवरण प्रस्तुत गर्नुभएको थियो।
उहाँका अनुसार पर्वतको मालढुङ्गादेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेसम्म र म्याग्दी–मुस्ताङ हुँदै चीनको कोरलानाकासम्म गरी ४६ स्थानमा सडक तथा सडक संरचनामा क्षति पुगेको छ।
पर्वत–मालढुङ्गा सडकखण्डका लाटीखोला, फर्से, जुकेखोला, केराबारी र लामाखेतमा क्षति पुगेको छ। त्यस्तै बेनीदेखि रुप्सेसम्मको सडकखण्डअन्तर्गत गलेश्वर, रघुगङ्गा पुल, बैसरी, बेगखोला, महभिर, भिरकाटे, पोखरेबगर, तातोपानी, नारच्याङ, जलथले, सुकेबगर, खामभित्ता, दाना, लाटोखोला र रुप्से खोलालगायत स्थानमा लेदोसहितको बाढीपहिरो तथा नदी कटानले सडकमा क्षति पुर्याएको आयोजनाले जनाएको छ।
म्याग्दी–मुस्ताङ सीमाको काभ्रेभिरदेखि कोरलानाकासम्म पनि विभिन्न स्थानमा आंशिक तथा मध्यम क्षति पुगेको छ। खहरे खोला, घाँसा, कैकुखोला, लेतेखोला, मार्फा, पान्डाखोला, एक्लेभट्टी, कागबेनी, तिरीबारी, ग्रीन ताङ्वे, ताङ्वे खोला र छुसाङ खोलालगायत स्थान प्रभावित भएका छन्।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ अन्तर्गत घ्याकर खोला, चैले, समर खोला, झो खोला, स्याङवचे, घमी, चराङ, छोसेर तथा लोमान्थाङ–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालय आसपासका सडकमा समेत क्षति पुगेको छ।
आयोजना प्रमुख शर्माका अनुसार म्याग्दी खण्डका केही स्थानमा सडक संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। तातोपानी–पोखरेबगर जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुलको पहुँचमार्गसमेत बाढीले क्षति पुर्याएको छ। पर्याप्त जनशक्ति र उपकरण व्यवस्थापन गर्न सके एक साताभित्र सडक पूर्ण रूपमा सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो।
प्रमुख जिल्ला अधिकारी शर्माले अवरुद्ध कोरला सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग समन्वय र सहजीकरण भइरहेको बताउनुभयो। सडक अवरुद्ध हुँदा धार्मिक पर्यटकको आवागमनमा समेत असर परेको भन्दै सडक सञ्चालनलाई उच्च प्राथमिकता दिन सम्बन्धित निकायलाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो।











